बाँकेमा पाटेबाघको आक्रमण : गाई चराउन गएका ६२ वर्षीय पुरुषको मृत्यु

बाँके ,१९ पुस।
बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाँके राष्ट्रिय निकुञ्ज नजिकैको जंगलमा शनिबार दिउँसो बाघको आक्रमणमा परी स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको ज्यान गएको हो।
प्रत्यक्षदर्शीका अनुसार भण्डारी शनिबार दिउँसो करिब साढे १ बजेतिर अन्य स्थानीयसँगै गाई चराउन बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको ‘बिचार दमार’ जंगलमा गएका थिए। सोही क्रममा एक्कासी पाटेबाघले आक्रमण गरेको प्रत्यक्षदर्शी पिमलाल डाँगीले जानकारी दिनुभयो।
“हामी सँगै गाई ग्वाला गएका थियौं। अचानक बाघले आक्रमण गर्यो। हामी चिच्याउँदै गर्दा पनि बाघले उहाँलाई लग्यो,” डाँगीले भन्नुभयो। उहाँका अनुसार बाघले आफूहरूतर्फ समेत झम्टिन खोजेपछि ज्यान जोगाउन भाग्नुपरेको थियो।
घटना सार्वजनिक भएपछि बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दा सहितको संयुक्त टोली घटनास्थल पुगेको छ। हाल मृतकको शव फेला पारेर घटनास्थलमै मुचुल्का उठाउने काम भइरहेको निकुञ्ज स्रोतले जनाएको छ।
घटनास्थलमा पुगेका एक व्यक्तिका अनुसार मृतकको घाँटी र टाउकोमा गम्भीर चोट देखिएको छ भने शरीरका अन्य भागमा खासै चोटपटक देखिएको छैन। बाघले मुख्यतया घाँटी र टाउकोमै आक्रमण गरेको अनुमान गरिएको छ।
घटना भएको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सौरी खोलादेखि उत्तरतर्फ पर्ने पहाडी जंगल क्षेत्रमा पर्दछ। यस घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने निकुञ्ज प्रशासनले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।






