गाउँमै अल्ट्रासाउन्ड सेवा सुरु भएपछि नरैनापुरका मातृ–शिशु स्वास्थ्यमा सुधार

बाँके, १४ साउन ।

बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालनमा आएको ग्रामीण अल्ट्रासाउन्ड सेवाले गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षणलाई सहज र सुलभ बनाएको छ । पहिलेसम्म महँगो शुल्क तिर्दै बाहिरी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता हटेपछि महिलाहरूले गर्भ अवस्थाको जानकारी गाउँमै पाउन थालेका छन् । यसले मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण सहयोग पुगेको स्थानीय स्वास्थ्यकर्मी र सेवाग्राहीले बताएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार, अल्ट्रासाउन्ड प्रविधिबाट गर्भको अवस्था समयमै पत्ता लाग्ने भएकाले जटिल अवस्थामा मातृ–शिशु दुवैको ज्यान बचाउन सकिन्छ । “समयमै खतरा पहिचान गरेर उपचार गर्न सकिन्छ, जसले गर्दा शिशु र आमाको जीवन जोगिने सम्भावना धेरै हुन्छ” शाहले बताए ।हाल नरैनापुर–४ मा सञ्चालन भइरहेको यो सेवा ग्रामीण क्षेत्रमा पहिलो पटक ल्याइएको हो । सिअनमी लक्ष्मी गुरुङले सेवा प्रभावकारी रहेको बताउँदै भनिन्, “अल्ट्रासाउन्डले गर्भमा बच्चाको तौल, उमेर, प्लासेन्टाको अवस्था, एम्नियोटिक तरलको मात्रा र मुटुको धड्कनसमेत देखाउँछ ।

यति धेरै जानकारी गाउँमै पाउँदा हामीलाई निकै राहत भएको छ ।”सेवाको सुरुआतपछि महिलाहरूको अस्पताल जानको संख्यामा पनि वृद्धि भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । गएको वर्षको असार मसान्तसम्म १,३८६ जना गर्भवती महिलाले सेवा लिइसकेको तथ्याङ्कले देखाउँछ कि ग्रामीण महिलाहरू यो सेवाबाट लाभान्वित भएका छन् । सेवा प्रभावकारी देखिएकाले गाउँपालिकाले अब सबै ६ वडामा विस्तार गर्ने तयारी गरेको छ ।नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । “हामीले गाउँमै भिडियो एक्सरे प्रविधिबाट गर्भ परीक्षण सुरु गर्दा महिलाहरूमा उत्साह देखिएको छ । यसले स्वास्थ्य चेतना बढाएको छ,” अध्यक्ष शाहले बताए ।

उनका अनुसार आगामी दिनमा थप मेसिनको व्यवस्थासहित अन्य मातृ–शिशु स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिनेछ ।नरैनापुर–३ की २४ वर्षीया गर्भवती सरस्वती यादवले सेवा लिनुपछि आफूसँग भएको अनुभव यसरी सुनाइन्, “पहिले त बाँके अस्पताल जानुपर्ने हुन्थ्यो । खर्च लाग्थ्यो, एक्लै जान सकिन्थेन । अब त गाउँमै जाँच हुन्छ, श्रीमानको सल्लाह लिएर महिनैपिच्छे आउँछु ।” त्यस्तै, नरैनापुर–५ की जमिला खातुनले भनिन्, “पहिला पेट दुख्न थाल्यो भने घरमै बस्नुपर्थ्यो । अब त अल्ट्रासाउन्ड गरेर बच्चाको अवस्था हेर्न सकिन्छ । स्वास्थ्यकर्मीहरूले सबै कुरा बुझाउँछन् । हामीजस्ता अशिक्षित महिलालाई पनि बुझ्न सजिलो भएको छ ।” ग्रामीण स्तरमै सेवा सुरु भएपछि गर्भवती महिलाहरूको अस्पतालमा पहुँच बढेको र नियमित स्वास्थ्य परीक्षणमा सहभागी हुने दर बढ्दो छ । यो सेवाले महिलाहरूमा स्वास्थ्यप्रति सचेतना मात्र बढाएको छैन, सुरक्षित मातृत्वतर्फको यात्रामा पनि सकारात्मक परिवर्तन ल्याएको छ ।

नरैनापुरको यो पहलले ग्रामीण क्षेत्रका अन्य पालिकाहरूका लागि पनि उदाहरणीय बनेको छ । स्वास्थ्य पहुँच र सुरक्षाको आधार बलियो बनाउन यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नु अहिलेको आवश्यकता हो ।

गाउँमै अल्ट्रासाउन्ड सेवा सुरु भएपछि नरैनापुरका मातृ–शिशु स्वास्थ्यमा सुधार

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व

गाउँमै अल्ट्रासाउन्ड सेवा सुरु भएपछि नरैनापुरका मातृ–शिशु स्वास्थ्यमा सुधार

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

Leave a comment

Your email address will not be published. Required fields are marked *