बालविवाहको चपेटामा कर्णालीका किशोरी : बाल्यकालमै विहे, जीवनभर पीडा

गीता थापा
सुर्खेत, १५ साउन ।
सुर्खेतकी सुनिता (परिवर्तित नाम)लाई केही समयअघि पाठेघरको नशा सुन्निने समस्या देखा प¥यो । उपचारपछि केही राहत त मिल्यो तर ढाड दुख्ने, धेरै समय एकै ठाउँमा बस्न नसक्ने र गह्रौ भारी बोक्दा पेट चस्किने समस्या त अझैपनि छ । उनको स्वास्थ्य समस्याको मुल जड भनेकै कलिलै उमेरको विवाह हो ।
‘सानै उमेरमा विवाह भयो, अहिले त्यसैको सजाय भोग्दैछु,’ उनी भन्छिन् । उनी १४ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी थिइन् । उनका श्रीमान् विशाल (परिवर्तित नाम) त्यसबेला १७ वर्षका थिए । सुनिता अहिले २५ वर्षकी भइन् । उनले १७ वर्षमा छोरीलाई जन्म दिएकी थिइन् । छोरी अहिले ८ वर्षकी भइन् । अन्तरजातीय विवाहले एकातिर माइतीको आँगनमा १२ वर्षदेखि टेक्न नपाएको पीडा त छँदैछ अर्कोतिर स्वास्थ्य समस्या पनि ।
उनी भन्छिन्, ‘त्यतिबेला अल्लारे कच्चा दिमाग थियो, भागेर बिहे गरेँ । अहिले उमेर बढ्दै जाँदा थाहा हुँदैछ, कति ठूलो गल्ती भयो ।’ सानै उमेरमा गरेको विवाहले सजाय भोग्नुपरेको उनी बताउँछिन् । सुर्खेतकै रिमा (नाम परिवर्तित) को अधिकांश समय अस्पताल मै बित्छ । उनलाई तल्लो पेट दुखिरहने समस्या छ । उमेरले १७ वर्ष पुगेकी उनको विवाह भएको वर्षदिनमात्रै भयो ।
विवाह गरेकै वर्ष उनको गर्भ रहन पुगेपछि श्रीमान्् श्रीमतिको सल्लाहमा नै उनीहरुले निजी क्लिनिकमा गर्भपतन गराए । ‘१६ वर्षको उमेरमै विवाह भयो । सोही वर्ष एक महिनाको गर्भलाई गर्भपतन गराए । मेरो सबैभन्दा ठुलो गल्ती त्यही भयो । अहिले अस्पताल धाइरहनु परेको छ,’ उनी भन्छिन् । उमेर नपुग्दै विवाह गरेर गरेको गल्ती, गर्भपतन गराएर अर्को ठूलो गल्ती । त्यसैकै सजाय भोग्दैछिन् अहिले उनी । तल्लो पेट दुख्ने, हातघुडा दुख्ने, झमझमाउने, सेतो पानी बग्ने र हिड्दा पेट चस्किने । उनले भोगिरहेको समस्या हुन् यी ।
‘‘डाक्टरले तल्लो पेटमा पानी जमेको छ भन्छन् । औषधी सेवन गरिरहेको छु । यो सबै मैले बालविवाह गर्दाको परिणाम हुन्,’ उनले भनिन् । कक्षा १२ मा पढ्दै गरेकी उनको अस्पताल धाउँदा धाउँदै पढाईमा समेत असर परेको छ । आफूसंगै पढ्ने साथीको दाई नाता पर्नेसंग प्रेममा परेकी रिमाले आफुहरुलाई परिवारले छुट्याउने डरका कारण भागी विवाह गरेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यतिबेला बुवाआमाले गाली गर्नु भयो भन्दै विवाह गरे अहिले पछुतो लाग्छ । बुवाआमाले भनेको मानेको भए आज मैले यति धेरै समस्या झेल्नु पर्ने थिएन । ’
बराहताल गाउँपालिका– १० फिनिकाँडाकी २५ वर्षीय कल्पना सुनारको पनि व्यथा उस्तै छ । उनले पनि धेरै समय एउटै काम गर्न नसक्ने, ढाड दुख्ने, पेट चस्किने समस्या झेल्दै आइरहेकी छन् । उनी भन्छिन्, ‘सानै उमेरमा विवाह गर्नु नै गल्ती भयो । अहिले पछुतो लाग्छ, पछुतो लागेर के गर्नु ।’ उनी भन्छिन् । ‘सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा धेरैसमस्या देखिने रहेछ, उमेर बढ्दै जाँदा यो समस्या झन बढ्ने होकी भन्ने चिन्ताले पिरोल्छ ।’

१७ वर्षको उमेर । कक्षा–८ मा पढ्दैथिइन् उनी । त्यहि बेला आफ्नै फुपुको छोरासंग भागेर विवाह गरिन् । पहिला त उनका श्रीमान् घरमै माग्न आएका थिए । कल्पनाका बुवाले छोरीको विवाह गर्ने उमेर नपुगेको भन्दै फिर्ता पठाईदिए । घरमा मागेर नदिएपछि उनीहरुले भागी विवाह गरे । उनका चार वर्षको छोरी र दुई वर्षको छोरा छन् । विवाहपछि उनको पढ्ने इच्छा अधुरै छ ।
जुम्लाको सिंजा गाउँपालिका–६, झाडागाउँकी बसमा बुढा (रावत) ले तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतोपानी बग्ने र पाठेघर खस्ने समस्या झेलिरहेकी छन् । ‘पहिला त केही लागेको थिएन, अहिले मात्रै थाहा हुँदैछ–यो सबै बालविवाहकै असर हो,’ उनी भन्छिन्, ‘त्यो बेला बुझिनँ, अहिले बुझिरहेकी छु, मेरो जीवनमा थपिएको पीडाको जड बालविवाह हो ।’
उनले कक्षा–९ पढ्दै गर्दा १६ वर्षको उमेरमा भीमबहादुर रावतसँग प्रेम विवाह गरिन् । उनका जेठा छोरा १० वर्षका छन् भने कान्छा सात वर्षका । उनले भनिन्, ‘म अझै ठूली भएको पनि थिइनँ, दुई सन्तानकी आमा बनेँ ।’ विवाहकै कारण उनको पढाई रोकियो ।
बालविवाह गरेकै कारण उनले बालअधिकार, शिक्षा र भविष्यका सपना सबै गुमाइन् । उनले स्थानीय वडाबाट दिने बालभत्ता जस्तो सरकारी सुविधासम्म पाइनन् । माथि उल्लेखित प्रतिनीधिमुलक पात्रका कथा केवल उनीहरुको पीडा होइन । यो कर्णालीका किशोरीहरूको प्रतिनिधित्व हो ।
जसको जीवनमा बालविवाहले पीडामाथी पीडा थुपारिएको छ । बालविवाह गरेकाहरुले पीडादायी स्वास्थ्य समस्या झेल्नु त परेकै छ । कयौँले ज्यान समेत गुमाए । त्यसैमध्येकी एक हुन्, वीरेन्द्रनगर–६ की १८ वर्षीया शर्मिला सुनार । सुत्केरीपछि रक्तश्राव बढी भएका कारण उनले ज्यानै गुमाउनु परयो । सुत्केरी व्यथा लागेपछि शर्मिलालाई २०८१ असोज ६ गते प्रदेश अस्पताल पुरयाइएको थियो ।
बच्चाको गर्भमै मृत्यु भईसकेको थियो । शर्मिलाको शल्यक्रिया गरी बच्चा निकालिएको थियो । अस्पतालले उनका आफन्तलाई ज्वरो र अत्यधिक रक्तश्रावका कारण शर्मिलाको मृत्यु भएको जानकारी दियो । उनका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाए ।
कर्णालीमा बालविवाहको बढ्दो ग्राफ
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशमा ३७ दशमलव नौ प्रतिशत बालविवाह हुने गरेको छ । नेपालमा पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । कर्णालीमा भने १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७ दशमलव नौ प्रतिशत छ ।
जिल्लागत रुपमा सबैभन्दा धेरै बालविवाह सल्यानमा हुन्छ । सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले बालविवाह गर्छन् । रुकुमपश्चिममा ४२ दशमलव तीन प्रतिशतले बालविवाह गर्ने गरेको जनगणनाको तथ्यांकले देखाउँछ ।
जाजरकोटमा ४० दशमलव आठ, सुर्खेतमा ३८ दशमलव सात, मुगुमा ३५ दशमलव नौ, डोल्पामा ३२ दशमलव एक, हुम्लामा ३३ दशमलव सात, जुम्लामा ३४ दशमलव सात, दैलेखमा ३५ दशमलव दुई र कालीकोटमा २८ दशमलव एक प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् ।
यसरी पुग्छन् विवाहको निर्णयमा !
बाल विवाह विरुद्धको साझा अभियान संजालका अभियान संयोजक चेतन गिरीले कर्णालीमा पछिल्लो समय अभिभावकले भन्दा पनि बालबालिका आफैले विवाह गर्ने क्रम बढेको बताए । बालविवाह हुने धेरै जसो दलित समुदाय रहेको उनको भनाई छ ।
‘कर्णालीमा सबैभन्दा धेरै बादी समुदायमा बालविवाह हुने उनको दाबी छ, दोस्रोमा क्षेत्री, ब्राह्मण र तेस्रोमा जनजातीमा बालविवाह हुने गरेको देखिन्छ,’ उनले भने । कर्णालीमा ८० प्रतिशत बालविवाहको कारण अभिभावकको घरझगडा नै रहेको गिरीको भनाई छ । उनी भन्छन्, ‘बुवाआमा भारतमा रोजगारीका लागि जाने र गाउँमा बालिका एक्लै असुरक्षित हुने हुँदा बालिकाहरुले सानै उमेरमा विवाह गर्ने गरेका देखिन्छ ।’ बालबालिकामा शिक्षा र चेतनाको कमी, मनोसामाजिक परामर्श नपाउँदा बालविवाह गर्ने निर्णयमा पुग्ने गरेको उनको भनाई छ ।
कर्णालीमा गरिबी, अशिक्षा, जनचेतनाको कमी र देखासिखीकै कारण बालविवाह हुने गरेको बाल अधिकारकर्मी टेकराज आचार्य बताउँछन् । ‘अन्य प्रदेशको तुलनामा कर्णालीमा बालविवाह धेरै हुन्छ, कर्णालीमा बढ्दै गएको बालविवाहको ग्राफ घटाउन जनचेतनाको अभियान जरुरी छ, तीनै तहका सरकारले घरपरिवार, विद्यालय तथा समुदायस्तरमा अभियान चलाउनुपर्छ, उनले भने ।
पहिले–पहिले बुवाआमाले बालविवाह गरिदिन्थे, अहिले बाल बालबालिकाले आफै विवाह गर्ने प्रवृत्ती बढेको आचार्य बताउँछन् । बालविवाहले किशोरीको स्वास्थ्यमा जटिल समस्या देखिने गरेको बताए । ‘बालविवाह न्यूनीकरणमा परिवार, समाज र राज्यकै भूमिका प्रभावकारी हुनुपर्छ, बालविवाह रोक्न अभिभावक भन्दा पनि अहिले स्वंयमबालबालिकालाई नै सचेत बनाउनुपर्छ,’ उनले भने ।
१६ हजार आमा २० वर्ष मुनिका
सरकारी तथ्यांकले कर्णालीमा कलिलो उमेरमा आमा हुनेको संख्यामा कमी आउन नसकेको देखाउँछ । प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २०७९ यता कर्णालीका अस्पताल तथा घरमा सुत्केरी हुने किशोरी आमा अर्थात २० वर्षभूनिका १६ हजार ४२ जना छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ६ हजार चार सय ५७ जना, २०८०/८१ मा पाँच हजार पाँच सय ४४ जना र २०८१/८२ मा चार हजार ४१ जना २० वर्ष नपुग्दै आमा बनेका छन् ।
यो तथ्यांकले कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको देखाउँछ । कर्णालीमा पाठेघर (आङ खस्ने) समस्यासँग जुधिरहेका महिलाको संख्या सात हजार दुई सय ६२ छ ।
प्रदेश अस्पताल सुर्खेतको तथ्यांक भन्छ ‘२० वर्ष मुनिका किशोरी आमा बन्नेको संख्यामा कमी आउन सकेको छैन् ।’ आ.व. २०७९/८० मा अस्पतालमा सुत्केरी भएका २० वर्ष मुनिका किशोरी आमाको संख्या आठ सय ८७ छ । यस्तै २०८०÷८१ मा ८ सय ६५ र २०८१/८२ मा ६ सय १५ छ । प्रदेशमा सुत्केरी हुने क्रममा १८ जनाको मृत्यु भएको छ । यो तथ्यांक बितेको तीन वर्षको हो ।
तीमध्ये २० वर्ष मुनिको चार जना किशोरी हुन् । जुन कलिलै उमेरमा विवाह र त्यसपछि आमा बन्नुको परिणाम हो । शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. ललितजंग शाही बताउँछन् । उनका अनुसार १९ वर्षभन्दा मुनिका किशोरीमा शारीरिक विकास पूर्ण नहुँदै बच्चा जन्माउँदा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर दुवै बढ्छ ।
‘कम उमेरमै गर्भवती हुँदा शरीर बच्चा जन्माउन तयार हुँदैन,’ डा. शाही भन्छन्, ‘त्यसैले सुत्केरी अवस्थामा अत्यधिक रक्तश्राव, उच्च रक्तचाप, ज्वरोजस्ता जटिलताले आमा र बच्चाको ज्यान जोखिममा पर्छ ।’ कम उमेरमा गर्भवती भएका महिलामा एमेनिया (रक्तअल्पता) देखिने सम्भावना धेरै हुन्छ ।
खानपान र पोषणमा ध्यान नदिँदा रक्तअल्पता हुने गर्छ । कम उमेरकी आमाबाट जन्मिने बच्चामा कुपोषण, कमजोरी र नवजात शिशु मृत्युदर उच्च हुने गरेको छ । बालविवाहका कारण शारीरिक मात्र नभई मानसिक समस्या समेत देखिन्छ । डा. शाही भन्छन्, ‘कम उमेरमा आमा बनेका किशोरीहरूमा डर, चिन्ता र एक्लोपन बढ्छ । पढाइ बीचमै छोड्नुपर्ने भएकाले स्वास्थ्यबारे जानकारीको कमी रहन्छ र उनीहरू थप जोखिममा पर्छन् ।’
नेपालमा सुत्केरी मृत्युको प्रमुख कारण प्रसूतिपछि अत्यधिक रक्तश्राव रहेको डा. शाही बताउँछन् । गर्भकालमा ब्लड प्रेसर, सुगर वा थाइराइडजस्ता समस्या पत्ता नलाग्दा वा समयमै उपचार नपाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ । गाउँघरका महिलाले गर्भपुर्व मुटुको परीक्षण नगर्दा गर्भकालमा मुटुमा समस्या देखिने र ज्यानै जाने खतरा हुने उनले बताए ।
‘स्वस्थ महिलामा सुत्केरी अवस्थामा मृत्यु हुने सम्भावना न्यून हुन्छ,’ डा. शाही भन्छन्, ‘तर समयमै परीक्षण र तयारी नगर्दा अनाहकमा ज्यान जाने जोखिम रहन्छ ।’ उनका अनुसार अस्पतालमा २० वर्ष मुनिका गर्भवती किशोरीहरू धेरै आउने गरेका छन् । बच्चा जन्माउन सफल भएका कतिपय किशोरी आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको डा. शाहीको भनाई छ ।
कानूनी प्रक्रियामा जाँदैन ‘बालविवाह’
सरकारी निकायकै तथ्यांकले कर्णालीमा बाल विवाहको दर उच्च रहेको देखाउँछ । तर, बालविवाहका घटना प्रहरीसम्म पुग्दैनन् । घरपरिवार तथा गाउँ–समाजकै रोहबरमा बालविवाहका घटना टुंगिन्छ ।
दुई पक्षबीच कुरा नमिल्दा, रिसइबी तथा अन्तरजातिय विवाह मात्रै प्रहरीमा आउने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयकी महिला सेलकी हल्वदार सरस्वती केसी बताउँछिन् । ‘जब दुई पक्ष (केटा–केटी) बीच कुनै कुराहरु मिल्दैनन्, वा कुनै रिसइबी हुन्छ अनि मात्रै यस्ता घटना हामीकहाँ आइपुग्छन्,’ उनी भन्छिन् । उनका अनुसार उजुरी परेपनि बालबालिकालाई सम्झाई बुझाई गरी अभिभावकको जिम्मा लगाउने प्रवृति छ ।
कर्णाली प्रदेश प्रहरी प्रहरी कार्यालयको तथ्यांकले समेत बालविवाहका घटनाहरु कानूनी प्रक्रियामै नगएको देखाउँछ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा कर्णाली प्रदेशभर २० वटा बालविवाहविरुद्धका मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८१/८२ सम्म सुर्खेतमा सबैभन्दा धेरै १० वटा बालविवाह विरुद्धका मुद्दा दर्ता भएका थिए । यो अवधिमा दैलेखमा ६, कालिकोटमा चार र हुम्लामा एक वटा मुद्दा परेको छ । प्रहरीका अनुसार कर्णालीका अन्य ६ जिल्लामा यो अवधिमा कुनै पनि बालविवाहविरुद्धका मुद्दा परेका छैनन् ।
यस्तो छ कानुनी व्यवस्था
नेपालको कानुनले बालविवाहलाई जघन्य अपराधका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ । धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउने कार्यमा दण्ड सजाय हुने व्यवस्था कानुनले गरेको छ ।
यस्तै, मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ । कानून विपरीत भएको विवाह स्वतः बदर हुने अधिवक्ता गीता कोइराला बताउँछिन् ।
‘बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ, मुलुकी देवानीसंहिता २०७४ ले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको हुनुपर्ने अन्यथा उमेर नपुगी गरेको विवाह स्वतः बदर र त्यस्तो विवाह अमान्य हुने गरी परिभाषित गरेको छ,’ अधिवक्ता कोइराला भन्छिन् ‘कर्णालीमा कानूनी दायरामा आएका बालविवाह भन्दा समाजमा लुकेका बालविवाह धेरै रहेका छन् ।’
अभियान अथाह तर किन कमी आएन बालविवाह ?
मुलुकी देवानीसंहिता कार्यान्वयन आएयता बालविवाह अन्त्य गर्न कर्णालीमा अभियान नै अभियान चले । रेडियो कार्यक्रम, सडक नाटक, अभिमुखिकरण, तालिमदेखि चेतनामूलक रयालीसम्म । तर बालविवाह दरमा कमी आउन सकेको छैन् । अब प्रश्न उठ्छ, के यो अभियानहरू देखावटी मात्र हुन् त ? इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी भन्छन् ‘कर्णालीमा बालविवाह न्यूनिकरणका लागि थालिएका अभियान र गरिएका प्रयासहरु प्रभावकारी छैनन् ।’
बालविवाहको दर उच्च रहेको लक्षित क्षेत्र र समुदायसम्म अभियानकर्मीहरु पुग्न नसकेको उनको भनाई छ । ‘पछिल्लो समय बालबिवाह अभिभावकले गरदिने भन्दा पनि बालबालिकाले आफै गर्ने प्रवृति बढी छ, अब हरेक स्थानीय तहमा रहेका विद्यालयमा विद्यार्थीको जनचेतना फैलाउन जरुरी छ,’ सुवेदी भन्छन् ।
बालबिवाह सम्बन्धी बनेको कानुन पनि परिमार्जन गर्नु पर्ने उनले बताए । अभियानकर्मी र सरकारबीचको समन्वय नहुँदा पनि अभियान सफल नभएको उनले दाबी छ । बालबिवाहले मावन अधिकार उल्घंलनका घटना पनि बढेको सुवेदी बताउँछन् ।
मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत मानबहादुर कार्कीले सरकारी कानुन समाज अनुसार बन्न नसकेको बताउँछन् । ‘बालबिवाह सम्बन्धी बनेका कानुन हाम्रो समाजको मुल्य मान्यता अनुरुप छैन, त्यस कारण पनि कानुन प्रभावकारी नभएको हो, अब बन्ने कानुन समाज अनुकुल बन्न जरुरी छ, त्यसले बालविवाहको दरमा निश्चय पनि कमी आउनेछ,’ उनले भने । बालबिवाह विरुद्धका अभियानहरु त्यति प्रभावकारी नभएको उनको भनाई छ । कार्की भन्छन् ‘आम नागरिकमा काुनन सम्बन्धी सचेतना नहुनु जटिज चुनौती हो ।’





