सुशील खड्का
सुर्खेत, १३ भदौं ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका क्षेत्र हुन्, बराहताल गाउँपालिका वडा नम्बर १, २, ३ तथा भेरीगंगा नगरपालिकाको वडा नम्बर १, २, ३ र ५ । बराहतालको तेलपानी, मुङ्ग्रा, सुगरखाल, गाडापानी, हर्रेकाँडा, बुङ्गाढ, सुकुरमाला, गाइनेकाँडा, लेकगाउँ, गुराँसे, नरसिंङकाँडा तथा भेरीगंगाको साविक लेखपुराजुल गाविस सबै वडा मनिरामकाँडा, भर्याङ, थर्मुेसे, गेरवानी र लेक हात्तिखालका अधिकाँश गाउँ निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् ।
यी क्षेत्रमा वर्षेनी निकुञ्जबाट आउने जनावरले पशु चौपायसँगै खेती बालीमा ठूलो क्षती पुर्याउने गरेका छन् । बाघ र चितुवाले पशुचौपाय तथा बँदेल, बादर, दुम्सीलगायतका जनावरले दिनहुँजसो कृषकले लगाएको खेती बालीमा क्षती पुर्याउने गरेका छन् । निकुञ्जका जनावरबाट क्षती पुगेमा तत्कालै राहत उपलव्ध गराइन्छ । तर, बराहताल गाउँपालिका वडा नम्बर ३ का नागारिकहरुले डेढ वर्षदेखि राहत पाउन सकेका छैनन् । यहाँका झण्डै दुई सय ५० कृषकले क्षतीपूर्ती पाउँ भनि निवेदन दिएका छन् । तर, उनीहरुका हात भने अहिलेसम्म पनि रित्ता छन् ।
जनावरबाट पुशचौपाय तथा बालीनालीमा क्षती पुगेको ३५ दिनभित्र निकुञ्जको कार्यालय ठाकुरद्वारा बर्दियामा निवेदन पेश गरिसक्नुपर्ने कानून छ । ३ नम्बर वडा कार्यालय र मध्यवर्ती क्षेत्रकातर्फबाट समन्वय गर्ने सिद्धचुली उपभोक्ता समिति बिचको जुहारीका कारण स्थानीयहरु निकुञ्जबाट प्राप्त हुने राहतबाट बञ्चित हुन बाध्य बनिरहेका छन् । राहतको लगत राख्ने र विवरण पठाउने दायित्व सिद्धचुलीको हो ।
यद्यपी, वडा कार्यालयले आफूसँग समन्वय नगरेर एकलौटी हिँडेको भन्दै सिफारिस गर्न मानिरहेको छैन् । कृषकहरुले समयमै राहत नपाउने भएपछि अचेल स्थानीयले फारम नै भर्न छाडेका छन् । जनावरबाट पशु र वालीमा क्षती पुगेमा त्यसको मुचुल्का उठाउने दायित्व स्थानीय स्तरमा रहेका निकुञ्जका प्रतिनिधि, समिति, वडाबाट पठाइएका जनप्रतिनिधि र प्राविधिकको रोहवरमा प्रतिवेदन तयार गरिन्छ । प्रतिवेदन उठाउने वा संकलन गर्ने दायित्व मध्यवर्ती व्यवस्थापन समिति आर्थत सिद्धचुलीको हो ।
त्यही सिद्धचुली समिति पुनर्गठन वैधानिक नभएको प्रश्न वडा कार्यालयले उठाएर राहतका लागि निकुञ्जलाई सिफारिस गर्न मानेको छैन् । सिद्धचुली उपभोक्ता समिति २०६७ सालमा गठन भएको हो । निकुञ्जको रोहवरमा गठन हुने समितिले मध्यवर्ती क्षेत्रमा राहतका लागि सिफारिस गर्ने, क्षतीको रेकर्ड राख्ने, चोरी शिकारी नियन्त्रण गर्ने, पूर्वाधार निर्माणका कामहरुमा सहजिकरण गर्ने जस्ता गतिविधि सञ्चालन गर्छ । समितिको अध्यक्ष हुन् चन्द्रा बुढा । बुढाको कार्याकाल २०७९ मा समाप्त भइसकेको छ ।
निकुञ्जदेखि वडाका जनप्रतिनिधिको रोहबारमा बुढाकै नेतृत्वमा समिति पुनर्गठन गरिएको थियो । तर, वडाध्यक्ष शेरबहादुर पुनले समिति नै वैधानिक नभएको भन्दै कृषकहरुको पीडामाथि थप पीडा थपिदिएका छन् । डेढ वर्षको अवधिमा राहत पाउनुपर्ने कृषकहरुको फायल झोलामा बोकेर समितिका अध्यक्ष बुढा विवाद निराकरण गरिदिन जिल्ला प्रशासन कार्यालय सुर्खेत र गाउँपालिकाको केन्द्र बड्डीचौर धाइरहेकी छन् ।
२८ साउनमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले कृषकले पाउने उचित राहत उपलव्ध गराउन आवश्यक सहयोग र समन्वय गरिदिन बराहताल गाउँपालिकालाई पत्र नै पठाएको छ । निकुञ्जले वन्यजन्तुबाट भएको क्षतिको राहत सहज रुपमा सम्बन्धित व्यक्तिलाई दिने परिपाटी बसालेको छ । तर, वडाध्यक्ष पुनले संकलन भएका फायलहरुको सिफारिस गर्न मानिरहेका छैनन् ।
‘कृषकलाई ठूलो समस्या छ । पीडा बुझेका छौं । तर समिति आफ्नै लयमा हिँडदा सिफारिस रोकिदिएको सत्य हो,’ बराताल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पुन भन्छन, ‘हामी जनताका सेवक हौं । तर स्थानीय सरकारलाई मान्दैनौं भन्ने अभिव्यक्ति दिएर राजनीति गर्न थालेपछि मैले सिफारिस रोकिदिएको हुँ ।’
यता सिद्धचुली उपभोक्ता समितिका अध्यक्ष चन्द्रा बुढाले विद्यान सम्वत समिति गठन गरिएको दावी गर्छिन । ‘हाम्रो निकुञ्ज मातहतको समुह हो । पुनर्गठनको समयमा वडाबाट प्रतिनिधि नै आउनु भएको थियो,’ बुढा भन्छिन्, ‘जनताको पशु र वालीमा क्षती पुगेको छ । राहत दिने प्रक्रियामा सहजिकरण गरिदिनुपर्नेमा वडाध्यक्ष नै पन्छिनु पीडितमाथि थप पीडा दिने मात्रै काम भइरहेको छ । समितिमाथिको प्रश्न हो भने उजूरी गर्ने निकायसम्म गए भइहाल्यो नि !’ समितिका हरेक काममा वडाध्यक्ष नभए उनले तोकेका प्रतिनिधि पठाउने तर राहत वितरणमा असहयोग गरेको आरोप उनको छ ।
जनताले जनावरबाट क्षति व्यहोरेका अवस्थामा वडाले राहतमा राजनीति गर्नु दुःखद रहेको उनले बताइन । जनप्रतिनिधि र निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीको यो लडाईँका बिच जंगली जनावरकै कारण यहाँका अधिकांश वस्तीहरु रित्तिा भइसकेका छन् भने बाँकी रित्तिने तरखरमा छन् । बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार बराहताल गाउँपालिका वडा नम्बर ३ मा अहिले एक हजार बढी जनसंख्या बसोबास गर्दछ ।
के छ निकुञ्जको राहत दिने प्रावधान ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ (क) अनुसार वन्यजन्तुबाट भएको क्षतीको राहत निर्देशिका २०८० जारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० मा वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षती भएमा पीडित पक्षले घटना भएको ३५ दिनभित्र निकुञ्जको कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।
निवेदनमाथी छानविनका लागि निकुञ्जका कार्यालय प्रमुख संयोजक, उपभोक्ता समितिका अध्यक्ष, स्थानीय तहका प्रतिनिधि र सम्बन्धित नगर वा गाउँपालिकाका पशु प्राविधिक सदस्य रहने व्यवस्था छ । समितिले छानविन गरेर पीडित व्यक्तिलाई राहत उपलव्ध गराउन उपयुक्त ठहरिए सिफारिस गर्ने गर्दछ ।
निकुञ्जको ठाकुरद्वारा बर्दियामा रहेको कार्यालयले कानुनी प्रावधानबारे स्पष्ट पार्दै ३ नम्बर वडा कार्यालयलाई १८ पुस २०८१ मै पत्राचार गरिसकेको छ । कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले वन्यजन्तुबाट भएको क्षतीको राहत निर्देशिकाले निर्धारण गरे बमोजिम पीडितलाई राहत वितरणमा सहज हुनेगरी समन्वय गरिदिन अनुरोध गरेका थिए ।


