लेख : सन्तानप्रति अभिभावको जिम्मेवारी
यामलाल घिमिरे
छोराछोरी सबै अभिभावका लागि प्रिय हुन्छन् । छोराछोरी आँखाका नानी, मुटुका टुक्रा आदि आदि भन्ने गरिन्छ । सन्तान नै सुखका आधार पनि हुन् । हामीले आफ्ना सन्तानलाई गर्ने माया र ममता अन्तर हृदयबाट उत्पन्न भावना मात्र होइन अपितु वंश परम्पराको निरन्तरताको चाह पनि हो । त्यसैले हामीलाई यी प्यारा लाग्नु पनि स्वाभाविकै हो ।
हरेक अभिभावकले आफ्ना सन्तानको उचित स्वास्थ्य, शिक्षा, पालनपोषणका लागि निकै मेहनत र लगानी गर्नुपर्छ । आमाले सन्तानलाई तोतेबोली सँगसँगै असल संस्कार सिकाउँछिन् । सन्तान रोएका बेला काखमा राखेर गुनगानउँदै फुल्याउँछिन, फकाउँदै बोल्न हौस्याउँछिन् ।
आमा, बाबा, दाजु, दिदी भन्न सिकाउँछिन् । यसरी सन्तानले आमाको काखबाटै बोल्न सिकेको हुन्छ । क्रमश उसको शारीरिक, मानसिक सामाजिक तथा संवेगात्मक विकास पनि हुँदै जान्छ । उसले बोली र बानीव्यवहार पनि पहिला आमाबाटै सिक्छ । त्यसैले आमाको काखलाई बालकको पहिलो पाठशाला भनिएको हो र आमा प्रथम गुरु हुन् भनिएको हो । बहुविषय सिकाइ गर्ने पहिलो वातावरण घरपरिवार हो । त्यसैले घरपरिवेशलाई उसको पहिलो विश्वविद्यालय मानिन्छ ।
आजभोली हामीले सन्तान अढाई तीन वर्ष पुग्नेबित्तिकै विद्यालय पठाउन थाल्छौँ । सहरतिर मण्टेश्वरी र गाउँघरतिर बाल विकासमा भर्ना गर्छौँ । यसका साथै हामी अङ्क, अक्षर पनि सिकाउन सुरू गर्छौं । तर त्यस उमेरका बालबालिकालाई अक्षर सिकाईको अपेक्षा गर्नु मेरो विचारमा राम्रो होइन । त्यो उमेर समूहका बालबालिकाले खेल समूहमा बसेर पहिला सामाजिक बानीव्यवहार सिक्न जरूरी हुन्छ ।
विभिन्न सांस्कृतिक परिवेशबाट आएका बालबालिकालाई एउटै वातावरणमा घुलमिल गराउँदै साझा सिकाईमा सहभागी बनाउनुपर्छ । आजभोलि मण्टेश्वरी र बाल विकासमा के कस्ता कार्यकलाप गर्न लगाउने भन्ने पाठ्यक्रम पनि तयार गरिएको छ । यसका बाबजुद अभिभावकलाई सन्तानले सुरूमै अक्षर चिनोस् भन्ने अपेक्षा हुँदो रहेछ । मेरो विचारमा बालबालिकालाई कम्तीमा चार वर्ष नपुग्दै पढ्नका लागि मानिसक दबाब दिनु राम्रो हुँदैन । यो उमेरसम्म उनीहरूलाई खेल्न, रमाउन दिनुपर्छ ।
यस समयमा बालबालिकाहरूलाई असल बानी व्यवहार र संस्कार निर्माण गर्नतिर अभ्यस्त गराउनुपर्छ । चार वर्षमुनि उनीहरूलाई साथीहरूसँग मिलेर खेल्ने, सहयोगी बन्ने, धैर्य रहन सिकाउने, अर्काको पालो मिच्नु हुँदैन भन्ने भावना बनाउने जस्ता सजिला बानीमा प्रेरित गर्नुपर्छ । चार वर्ष पुगे भने उनीहरूलाई खेलाउँदै चित्रद्वारा परिवेश र अवस्था देखाएर चित्र भन्न लगाउने, वर्णन गर्न लगाउने काम गर्नुपर्छ ।
यस्ता कार्यकलापमा घर परिवारमा देखेका पात्र, भान्सामा राखिने वस्तु, खाने कुरा, फलफूल, बगैँचा, फूल, घरपालुवा जनावर, अन्य पशुप्राणी, आदिका चित्र देखाउँदै भन्न लगाउनु उपयुक्त हुन्छ । उनीहरूले ती चित्र देखेर छोटा छोटा वाक्यांश वा वाक्य बनाई भन्ने प्रयास गर्छन् । त्यसपछि तिनै चित्र वा घटनासँग नजिकै लेखिएका अक्षर उच्चारण गर्न लगाउँदै पढाइतिर प्रेरित गर्नुपर्छ । यो उमेरमा प्रेवश गरिसकेपछि उनीहरूले पेन्सिल समाउने अभ्यास, धर्का तान्ने, गोलो घेरा बनाउने र चित्रका आकार कोर्न सिक्छन् । यसपछि क्रमशः अङ्क र अक्षर पढ्न लेख्न लगाउन सहज हुन्छ ।
विद्यालय र घरमा बालबालिकालाई सिकाइका लागि सहज वातावरण बनाउनुपर्छ । त्यहाँ उनीहरूलाई सिकाइप्रति उत्सुक हुने परिवेश तयार गर्न जरूरी हुन्छ । अढाई तीन वर्षको उमेरमा पनि केही बालबालिकाले अङ्क र अक्षर गन्न र भन्न त सक्छन् तर पछि उपयुक्त सिकाइ वातावरण पाएनन् भने उनीहरूलाई माथिल्लो कक्षामा पुगेपछि पाठ्यवस्तु बोझ हुन जान्छ । परिणामस्वरूप बालबालिकाले विद्यालय पढाइ छोड्ने, साथीहरूसँग बहकिएर घरबाट भाग्ने स्थिति हुन सक्छ । अतः यो जोखिमबाट बचाउन उनीहरूको मानसिक परिपक्वता भएपछि मात्र अङ्क अक्षर सिकाइमा जोड्दा उपयुक्त हुन्छ ।
घरमा यस्तो शैक्षिक वातावरण बनाउनुपर्ने हुन्छ जसले सिकाइ परिवेश निर्माण गर्न सकोस् । पढाइ वातावरण वा परिवेश भनेको सुरू सुरूमा अभिभावक आफैले वर्ण, अक्षर, अङ्क लेखेर आफू बस्ने, सुत्ने कोठामा टाँस्नुपर्छ र छोराछोरीलाई आफूसँगै वर्णअक्षरका चित्र हेर्दै उच्चारण गराउने गर्नुपर्छ । यसले उनीहरूमा पढाइप्रति बिस्तारै रुचि जगाउँछ ।
चार वर्ष पार हुँदै गर्दा सन्तान पढ्नतर्फ लागे भने आफूले पनि उनीहरूसँगै बसेर पुस्तक पढ्ने गर्दा सिकाइ वातावरण सघन हुन्छ । छोराछोरीलाई रमाइला कथा वा घटना शृङ्खला बनाएर सुनाउने गर्नाले पनि उनीहरूमा सुनाइ सिपको विकास हुन्छ । बालबालिका जब आफै पढ्न तयार हुन्छन् तब उनीहरूमा छिटो सिक्ने हुटहुटी स्वतः जाग्छ ।
हामीले सन्तानको पढाइका लागि के कस्ता जिम्मेवारी पूरा गरेका छौँ त ? हामीले आजैदेखि आफ्ना बालबालिकाको भविष्य निर्माणका लागि घरमा शैक्षिक परिवेश निर्माण गर्नु पर्दछ । यिनै बालबालिका हाम्रो भविष्यका आधार हुन् । यिनको भविष्य राम्रो भयो भने हाम्रो वृद्धावस्था सहज र सुखद हुन्छ । जसरी सानो छँदा बिरूवाले राम्रो मल, पानी पायो भने ठुलो भएर मिठो फल दिन्छ त्यसैगरी बालबालिकालाई बालापनमा नै सहज सिकाई वातावरण बनायौँ भने उनीहरूको शिक्षा दीक्षा हुन्छ र अभिभावकको कर्तव्य र जिम्मेवारी पनि पूरा हुन्छ ।
उनीहरू आफ्नो खुट्टामा उभिन सक्छन् अनि हामीप्रति कृतज्ञ हुन्छन्; देशप्रेमी पनि हुन्छन् । यस्ता बालबालिका विदेश पलायनको सोच बोक्दैनन् । कतिपय अभिभावक आफू विदेश, व्यापार, नोकरी, गृहस्थी आदि कामले फुर्सदै छैन, छोराछोरीलाई विद्यालय पठाएर ढुक्क भएको हुनुहुन्छ । तर आफूले फुर्सद छैन भन्दा बालबालिकाको भविष्य बिग्रियो भने तपाईं हामीले बेफुर्सद भएर कमाएको सम्पत्तिले के सुख दिन्छ र ? पक्कै दिँदैन । त्यसैले जुन समयमा बालबालिकाका लागि हामीले ध्यान दिनुपर्ने हो त्यो समय चुकाउनु हुँदैन । आफूले मनैदेखि परिवार, समाज र देशप्रेम बुझेको बालक परिपक्व भएपछि पनि देशमा नै रमाएर बस्न रूचाउँछ ।
उमेर बढेसँगे सन्तानका आवश्यकता बढ्ने र त्यसका लागि उनीहरूले अभिभावकसँग धेरै माग राख्न सक्छन् । विद्यालयमा साथीभाइका खेलौना, झोला, जुत्ता, राम्रा कापीकलम, घडी, मोबाइल अनेक प्रकार वस्तु देखेर आफूलाई पनि त्यस्तै चाहियो भनी जिद्दी गर्न सक्छन् । उनीहरूका आवश्यकता र आफ्नो सामथ्र्यबिच तालमेल पनि मिलाउँदै लिनुपर्छ ।
अभिभावकले उनीहरूसँग मायालु व्यवहारसँग मन खोल्नुपर्छ । उनका कुरा पनि राम्ररी ध्यान दिएर सुन्नु पर्छ । उनका माग उचित लाग्यो र सहजै पूरा गर्न सकिए माग पूरा गरिदिनुहोस् । यदि पैसाले नभ्याउने तर उनको माग उपयुक्त लाग्यो भने सन्तानको मागलाई सकारात्मक भएर भन्नुहोस् कि उनले राखेको माग पूरा गर्ने आफ्नो इच्छा हुँदा हुँदै अहिले कठिन भएको जानकारी गराउनुहोस् । बिस्तारै उनलाई घरको अवस्था सुनाउनुहोस् र सबै कठिनाइ भन्नुहोस् ।
यस अवस्थामा बालक तपाईंभन्दा बढी संवेदनशील हुन सक्छ र पूरा हुन नसक्ने माग नै त्यागी दिन्छ । यस्तो अवस्थामा कहिलेकाहीँ उनीहरूको हीनग्रन्थि सक्रिय भयो भने पढाइप्रति वितृष्णा हुने जोखिम आउन सक्छ । यस्तो परिस्थितिमा विशेषगरी छोराहरू अभिभावकलाई सहयोग गर्न आफै कमाउनेतिर प्रवृत्ति हुने र पढाइ छोड्ने खतरा बढ्न सक्छ । यति बेला अभिमावकले आफ्नो आर्थिक अवस्थाका कारण सन्तानको पठनपाठनमा बाधा पर्दैन भनि आश्वस्त पार्नुपर्छ । बालबालिकाले भविष्यमा सामना गर्ने योजना आफसेआफ तयार गर्छन् । तर उनीहरूका माग पूरा गर्न सकिँदैन मात्र भन्यौँ भने उनीहरू अभिभावकसँग टाढिन्छन् ।
अभिभावकज्यूहरू ! शिक्षा जीवनको महत्वपूर्ण अंश हो । शिक्षा जीवनलाई व्यवस्थित र मर्यादित बनाउने माध्यम हो । हामीले सन्तानलाई आउँदो प्रतिस्पर्धात्मक समाजमा सुखद र सफल जीवन जिऊन् भन्नका लागि राम्रो शिक्षामा ध्यान दिनु अति आवश्यक हुन्छ । हामीले सन्तानले कसरी पढेका छन् ? विद्यालयमा पढाइको स्तर कस्तो छ भनेर कहिल्यै शिक्षकसँग सोध्यौँ कि सोधेनौँ ? तिमीलाई पढाइमा कुनै समस्या छ कि भनेर छोराछोरीसँग कहिल्यै सोध्यौँ ? हामी तिम्रो सुन्दर भविष्यको भरोसामा छौँ भनेर उनीहरूलाई आफ्नो आशा सुनायौँ कि सुनाएनौँ ? तिमीले राम्रो पढाइ गर्न सक्छौ भनेर विश्वास सुनायौँ कि सुनाएनौँ ? यस विषयमा मनैदेखि एकपटक सोचौँ ।
आफ्ना बुझ्ने भइसकेका तेह्र, चौध वर्षका सन्तानलाई घरको ऋण वा अभाव देखाएर हरेस नख्वाउनुहोस् । बरू यी अभाव खेप्न केही समय मात्र पर्खनु पर्छ, बाँकी त सुखका दिन आउँछन् भनेर आश्वास्त पार्नुहोस् । छोराछोरीलाई सधैँ तिमी सक्छौ, तिमी योग्य छौ, तिमी असल छौ, तिमी सक्षम छौ भनेर आत्मबल बढाइदिनुहोस् । उनीहरूलाई समयअनुसार खेल्ने अवसर दिनुहोस् । तपाईले उनीहरूसँग राम्ररी खुलेर कुरा गर्ने साथी जस्तो व्यवहार गर्नुहोस् । आफ्ना सन्तानलाई छिमेकी वा कक्षाको कुनै राम्रो विद्यार्थीसँग तुलना गरेर ऊ जस्तै बन भनेर दबाब नदिनुहोस् ।
बरू ठुला महापुरूषका प्रसङ्ग जोडेर उनीहरूले भोगेका दुख र जीवनमा प्राप्त गरेका उच्च सफलताका कथा सुनाउनुहोस् । यदि उनीहरूका दौँतरी वा साथीसँग तुलना गरी कमजोर देखाउनु भयो भने उनीहरूको मनोबल कमजोर हुनसक्छ । ऊ जे छ त्यसैमा खुसी हुनुहोस् किनकि सन्तान आफ्नो भएपछि अरूको सन्तानको गुण उसमा खोज्नु नै त्रुटि हुन्छ । बरू त्योभन्दा पनि राम्रो हुने वातावरण निर्माण गर्नुहोस् ।
उनीहरूका साथी सँगती असल बनाइदिनुहोस् । सिक्ने वातावरणका लागि विद्यालयमा शिक्षकसँग परामर्श गर्नुहोस् । उनीहरूका लागि त शिक्षक र अभिभावक दुवै पक्षले असल सल्लाहकार र मनोचिकित्सकको भूमिका खेल्नुपर्छ । परीक्षामा सन्तानले जुन अङ्क ल्याए पनि आफूलाई स्वीकार्य छ भन्ने आश्वास्त पार्नुहोस ताकि उनीहरू तनावरहित होऊन् ।
सन्तानको भावना बुझेर उनीहरू के गर्दा खुसी हुन्छन् ध्यान दिनुहोस् । उनीहरूलाई खुसी लाग्ने व्यवहार वा काम गरी सँगसँगै रमाउनुहोस् । उनीहरूले सानातिना गल्ती गर्दा उनको खुसी नखोस्नुहोस् बरू यस्ता सानातिना गल्ती हुनसक्छन् नआत्तियौ भनेर ढाडस दिनुहोस् । यसले उनीहरू त्यस्ता गल्ती नगर्ने प्रयास गर्छन् । मनोवेत्ताहरू भन्छन्, “हाम्रो मनमा खुसी हुँदा डोपामिन नामक हार्मोन उत्पादन हुन्छ जसले सिकाइमा मद्दत गर्दछ । त्यस्तै आनन्दका कथा, गीत आदि सुनेर मन आनन्दित हुँदा सेराटोनिन हर्मोन सक्रिय हुन्छ जसले ज्ञानेन्द्रीयले ग्रहण गरेको सन्देश मस्तिष्कमा सहजै पु¥याई सिकाइलाई दिगो बनाउँछ ।“ तसर्थ हामीले बालकको खुसी कुनै पनि मूल्यमा खोस्नु हुँदैन बरु सँगै बसेर सघाउनुपर्छ ।
घरमा बालबालिका पढ्ने कोठामा आफू सँगै बस्नुहोस् । उनीहरूका पढाइमा रूचि लिनुहोस् । उनीहरूका गृहकार्यका बारेमा सोध्नुहोस् । त्यस दिन विद्यालयमा भएका महत्त्वपूर्ण घटना वा काम सुनाउन लगाउनुहोस् । उनीहरूका कुनै गुनासो वा माग भए ध्यान दिएर सुन्नुहोस् । उनीहरू आफ्ना कुरा अभिभावकले ध्यान दिएर सुनेपछि खुसी हुन्छन् । अभिभावकले मलाई महत्त्व दिनुहुन्छ भन्ने बुझ्दछन् र जीवनका कुनै अप्ठ्यार कुराहरू अभिभावकसँग खुलेर गर्छन् । यसबाट कुनै गल्ती गरेको भए पनि त्यसभन्दा पछिको दुर्घटनाबाट आफूलाई बचाउँछन् ।
छोराछोरीले पढाइमा ध्यान दिएको छैन भने उनलाई घरको काम सँगसँगै मिलेर गरौँ भन्नुहोस् । उनीहरू तपाईंसँगै काममा बढी ध्यान दिए भने छोराछोरीलाई पढाइमा समस्या छ भन्ने बुझ्नुहोस् । यदि उनीहरूले आफूलाई पढ्नु छ, घरको काम गर्न सक्दिनँ भने भने सम्झनुहोस् कि उनीहरू पढाइप्रति ध्यान दिएका छन् । यदि उनीहरू घरको कामलाई महत्त्व दिन्छन्, पढाइप्रति रूचि देखाउँदैनन् भने पढाइ सिकाइमा कुनै समस्या हुन सक्छ ।
यस्तो थाहा पाउने बित्तिकै विद्यालयमा गई सन्तानका बारेमा शिक्षकसँग कुरा गर्नुहोस् । छोराछोरीको सिकाइप्रति रूचि शिक्षकबाट बुझिन्छ । शिक्षकले पढाइमा उसको ध्यान नभएको वा सिकाइ स्तर कमजोर छ भन्ने बताउनुभयो भने छोराछोरीका सँगती के कस्ता छन् भनी खोज्नुहोस् । यसबाट उनीहरूको मन के कारणले विचलित छ भन्ने थाहा हुन्छ । छोराछोरी कतै अल्लारे उमेरका कारण कुनै गलत व्यवहारमा फसेका त छैनन् ? यसलाई पनि ध्यान दिनुहोस् । आफै पनि उनका साथी बन्नुहोस् र असल सँगतका साथीसँग साथ गर्न सुझाउनुहोस् । वर्षको सुरूवातसँगै यति सोच्न र गर्न सकियो भने सन्तानप्रति अभिभावकको सामान्य जिम्मेवारी पूरा हुनेछ । (लेखक : सेवा निवृत्त शिक्षक हुनुहुन्छ ।)