राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार बाट हिमाली टि एण्ड एन एग्रो फर्म प्रा.लि.का सञ्चालक गिरि सम्मानित

काली बहादुर परियार
जुम्ला ,१६ जेठ ।
जुम्लाका कृषक तथा हिमाली टि एण्ड एन एग्रो फर्म प्रा.लि.का सञ्चालक टंक गिरि राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित भएका छन् । नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयले कृषि क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै गिरिलाई नगद दुई लाख रुपैयाँ सहित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो ।
कृषिलाई केवल जीविकोपार्जनको माध्यम मात्र नभई सम्मानित र व्यावसायिक पेशाका रूपमा स्थापित गर्न निरन्तर संघर्षरत गिरिले जुम्लाको विकट भूगोलमा आधुनिक कृषि प्रणालीको अभ्यास गर्दै उदाहरणीय सफलता हासिल गरेका छन् ।
उत्पादन वृद्धि, रोजगारी सिर्जना, खाद्य सुरक्षामा योगदान तथा कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यका कारण उनी राष्ट्रिय स्तरमै सम्मानित भएका हुन् ।
जुम्लाको हिमाली क्षेत्रमा कृषि व्यवसाय सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण काम मानिन्छ ।
कठिन भौगोलिक अवस्था, सीमित पूर्वाधार र बजार पहुँचका समस्याबीच पनि गिरिले आफ्नो मेहनत, लगनशीलता र नवीन सोच मार्फत कृषि क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् ।
उनले सञ्चालन गरेको हिमाली टि एण्ड एन एग्रो फर्मले व्यावसायिक फलफूल खेती, कृषि उत्पादन विस्तार तथा स्थानीय कृषकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।
गिरिले आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै १४ हजार भन्दा बढी स्याउका बिरूवा राेपि स्याउ उत्पादन गरिरहेका छन् । व्यावसायिक बगैचा विकास, उच्च मूल्यका कृषि उत्पादन तथा कृषि उद्यमशीलताको अभ्यासलाई प्राथमिकता दिएका छन् ।
उनको प्रयासले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै कृषिप्रति युवाहरूको आकर्षणसमेत बढेको छ ।पछिल्लो समय वैदेशिक रोजगारीको मोह बढिरहेका बेला आफ्नै गाउँमा कृषि व्यवसाय मार्फत सफल बन्न सकिन्छ भन्ने सन्देश उनले दिएका छन् ।
नेपाल सरकारले प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने कृषकहरूलाई सम्मान गर्ने प्रतिष्ठित पुरस्कार मानिन्छ । यस पुरस्कारले कृषि पेशालाई थप सम्मानित र आकर्षक बनाउनुका साथै उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षामा टेवा पुर्याउने उद्देश्य राखेको छ । सोही उद्देश्यअनुरूप कृषक गिरिको योगदानलाई मूल्याङ्कन गर्दै मन्त्रालयले सम्मान गरेको हो ।
पुरस्कार ग्रहण पछि गिरिले आफूलाई प्राप्त सम्मान केवल व्यक्तिगत उपलब्धि नभई जुम्लाका सम्पूर्ण कृषकहरूको सम्मान भएको बताए । उनले कृषिलाई आत्मनिर्भरता, समृद्धि र सम्मानित पेशाका रूपमा विकास गर्न राज्यले अझ बढी लगानी र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।
कृषिलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सके गाउँमै रोजगारी सिर्जना हुन्छ, उत्पादन बढ्छ र देश आर्थिक रूपमा सबल बन्ने गिरिकाे भनाइ छ । स्थानीय कृषकहरूका अनुसार गिरिले वर्षौ देखि कृषि क्षेत्रमा नयाँ प्रयोग गर्दै अन्य कृषकहरूलाई समेत प्रेरित गर्दै आएका छन् ।
उनले उत्पादनमा मात्र होइन, कृषकहरूलाई तालिम, परामर्श र प्राविधिक सहयोग उपलब्ध गराएर कृषि क्षेत्रको समग्र विकासमा योगदान पुर्याएका छन् । यही कारण उनी आज जुम्लाको मात्र नभई कर्णालीकै सफल कृषकका रूपमा परिचित बनेका छन् ।
राष्ट्रिय स्तरको यो सम्मानले जुम्लाको कृषि सम्भावनालाई थप उजागर गरेको छ। कृषक टंक गिरिको सफलता र सम्मानले कर्णालीका हजारौ किसान तथा युवाहरूलाई कृषि उद्यमतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
विकट भूगोल र सीमित स्रोतसाधनका बीच पनि दृढ इच्छाशक्ति, मेहनत र नवप्रवर्तनका माध्यम बाट सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश गिरिको यात्राले दिएको छ। उनकाे यो उपलब्धिले जुम्लाको कृषि क्षेत्रलाई राष्ट्रिय पहिचान दिलाउनुका साथै समग्र कृषि विकासमा नयाँ ऊर्जा थपेको छ ।






