गणतन्त्र सुदृढीकरणका लागि दलहरूबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री कँडेल

सुर्खेत ,१५ जेठ ।
गणतन्त्र दिवस–२०८३ को अवसरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संविधान कार्यान्वयनमा सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।
मुख्यमन्त्री कँडेलले जनताको बलिदान, त्याग र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको गौरवपूर्ण उपलब्धि भएको बताएका छन् ।
उनले विभिन्न राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेताहरू, नागरिक समाज, राजनीतिक कार्यकर्ता तथा आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दै गणतन्त्र दिवस जनताको सार्वभौम अधिकार स्थापित भएको ऐतिहासिक दिन भएको बताएका छन् ।
मुख्यमन्त्री कँडेलले संविधानअनुसार राज्य संयन्त्रमा भएका परिवर्तन जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । जनतालाई केन्द्रमा राखेर सञ्चालन हुने शासन प्रणालीले मात्रै गणतन्त्रलाई थप परिपक्व र सुदृढ बनाउन सक्ने उल्लेख गर्दै उनले गणतान्त्रिक व्यवस्थामा आचरण र व्यवहार पनि उन्नत तथा सुसंस्कृत हुनुपर्ने बताएका छन् ।
उनले कुनै पनि शासन प्रणाली संस्थागत हुन समय लाग्ने भन्दै विकासक्रममा कमी–कमजोरी देखिनु स्वाभाविक भएको बताए । नागरिकका अपेक्षा पूरा नहुँदा असन्तुष्टि र आलोचना हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थाको असफलतासँग जोडेर गणतन्त्रमाथि प्रश्न उठाउने वा पुरानो व्यवस्थातर्फ फर्काउने प्रयास नेपाली जनताले स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री कँडेलले विगतमा राजनीतिक परिवर्तनका क्रममा दलहरूबीच देखिएको सहमति, सहकार्य र एकताको भावनालाई अब मुलुकको विकास र समृद्धिमा पनि कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको जगमा बनेको संघीय सरकारले गणतन्त्र सुदृढीकरणका लागि दलहरूबीच सार्थक संवाद र सहकार्य बढाउनुपर्नेमा उनले विशेष आग्रह गरेका छन् ।
शुभकामना सन्देशको अन्त्यमा उनले राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँदै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा अघि बढ्न गणतन्त्र दिवसले सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र सुदृढीकरणका लागि दलहरूबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *