पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

काठमाडौँ, १५ जेठ ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर आज स्वदेश फिर्ता भएका छन् । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका हुन । उनी यही जेठ ९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले विश्व परिवेशमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेका थिए ।
रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँगको भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्नुभएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्टीका शीर्षनेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।






