बाँकेको राप्ती नदी किनारमा बाढी उद्दार अभ्यास

बाँके, १५ जेठ ।
मनसुन नजिकिँदै जाँदा सम्भावित बाढी तथा डुबानजन्य विपद्को जोखिम न्यूनीकरणका लागि बाँकेमा कृत्रिम घटना आधारित पूर्वतयारी अभ्यास गरिएको छ । डुडुवा गाउँपालिका–५ स्थित सिधनियाघाटमा रहेको राप्ती नदी क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा उक्त अभ्यास सञ्चालन गरिएको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय समुदायको संयुक्त सहभागिता रहेको थियो । बाढी तथा डुबानको उच्च जोखिममा रहेको बाँके जिल्लामा सम्भावित जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको जनाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक दिलकुमार तामाङले विगतमा राप्ती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक विस्थापित हुनुपरेको स्मरण गर्दै डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिका विशेष जोखिममा रहने गरेको बताए ।
उहाँले आगामी मनसुनलाई लक्षित गर्दै जिल्ला विपद् व्यवस्थापन समितिबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत भइसकेको जानकारी दिँदै सोही योजनाअनुसार अभ्यास सञ्चालन गरिएको स्पष्ट पारे । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार विपद् प्रतिकार्यमा सरोकारवाला निकायबीच समन्वय अभिवृद्धि गर्नु, उपलब्ध जनशक्ति तथा स्रोत–साधनको प्रभावकारिता परीक्षण गर्नु, स्थानीय तहको विपद् पूर्वतयारी योजनालाई प्रभावकारी बनाउनु तथा जनधनको क्षति न्यूनीकरण गर्नु अभ्यासको मुख्य उद्देश्य हो ।
नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डा इमामनगर राँझाका सहायक बाहिनीपति महासेनानी सुवास केसीले बाढी तथा डुबानबाट हुनसक्ने क्षति कम गर्न यस्ता पूर्वअभ्यास प्रभावकारी हुने बताए । उनले विपद् प्रतिकार्यमा सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य र क्षमता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गरे ।
डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले प्रत्येक वर्ष राप्ती नदीका कारण स्थानीय नागरिकले डुबान, कटान तथा बाढीजन्य समस्या भोग्दै आएको भन्दै पूर्वतयारी अभ्यासले क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अभ्यासका क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले नदीमा डुबेका, बाढीमा बगेका, तटमा फसेका तथा हराइरहेका नागरिकको उद्धार गर्ने विभिन्न नमुना प्रदर्शन गरेका थिए । उद्धारपछि प्राथमिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने अभ्याससमेत गरिएको थियो ।
पूर्वतयारी अभ्यासमा नेपाली सेनाका मेडिकल टिमसहित ७३ जना, सशस्त्र प्रहरी बलका ३७ जना, नेपाल प्रहरीका ११ जना, रेडक्रसका ११ जना तथा स्थानीय समुदायका २० जना गरी १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली सेनाको बज्रदल गणका गणपति रामचन्द्र श्रेष्ठ, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, अनुसन्धान उपनिर्देशक हरिष विष्ट, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री मिनकुमार मल्ल, रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झना, विभिन्न सरकारी कार्यालयका प्रमुख, सरोकारवाला निकाय तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *