
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका जयकृष्ण चौलागाई १७ वर्षको उमेरमा उनको दैनिकःजसो तिला नदीमा माछा मार्न झरौंला लिएर जान्थे । उनी अहिले ४२ वर्षका भए । जयकृष्ण उतिबेला १ घण्टा भित्र पाँच–छ केजीसम्म माछा मार्थे । उनको घरको खर्चमाध्यम नदीका माछा हुन्थेँ । उनले भने, ‘चैत महिनादेखि जेठसम्म झरौला र माछासँगै दैनिकी जान्थ्यो ।’ तर, केही समययता जुम्लाको तिला नदीमा माछा पाइन छाडेको छन् ।
आजभोलि दिनभरी झरौंला हाल्दा पनि एक केजी पनि माछा नभेटिँदैने गरेको चौलागाईको भनाई रहेको छ । उनले आधा केजी पुर्याउन निकै धौ–धौ हुने गरेको बताए ।
जुम्ला सदरमुकाम खलंगाका संचालित होटलदेखि पसलमा माछा देखिन्थे । बढ्दो मानवीय गतिविधिका कारणले नदीमा अवैध गिट्टी बालुवा उत्खनन् जस्ता कार्यले माछा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन् । उनले भने ‘तिला नदिको माछा बलियो आम्दानीको स्रोत हो । माछाको मासु खाने र मार्ने बढेपछि तिलामा माछा भेटिन छाडेको बताउँछन् । संरक्षण गर्ने स्थानीय सरकारदेखि केन्द्रीय सरकार कोही लागेको पाइदैन् ।’
माछाको बासस्थान नै ध्वस्त भइरहेको छ । तिलाको माछा निकै स्वादिलो मानिन्छ् । तिलामा धामी माछा, भ्यागुतो आकारको माछा र स्थानीय माछा गरेर तीन प्रकारका पाइन्छन् । यी सबै असला माछा अन्तर्गत पर्छन् । धामी माछोलाई अभिभावक माछो भन्छन् । भ्यागुते माछाको अगाडिको शरीर भ्यागुतोजस्तो र पछिल्लो शरीरको प्वाख माछा जस्तो हुन्छ । बल्छी, झरौंला,बनाएर माछा मार्ने चलन छ । तिलाको असला माछाको माग बजारमा अत्याधिक छ ।
जुम्ला बजार, नाग्मा बजार, नराकोट र गोठिज्युला बजार माछा माग बढ्दो छ । माछा नदीमा पाइन विरलै मात्रामा पाइने गरेको छ । जुम्लाको तिला र जवा नदीमा पाइने भनेको असला माछा नै हो । पर्याप्त माछा पाइन छाडेको स्थानीय बताउँछन् । पछिल्लो समय करेन्ट र विषादी प्रयोगले माछा मार्ने क्रम बढेपछि यस्तो समस्या आएको सरोकारवाला बताउँछन् ।
करेन्ट र विषादीका कारण माछाका भुरासमेत नष्ट हुन थालेका छन् । विगतका वर्षमा स(साना खोलामा जताततै माछा देखिन्थे । हिजोआज अकलझुकल मात्रामा मात्रै भेटिन्छन् ।
यस्तै, चन्दननाथ–८ जीवन बोहोराले २५ वर्षको उमेरमै घर नजिकैको खोलामा माछा संकलन गरि गुजारा चलाउथे । पहिले एक घण्टामा पाँचदेखि ७ केजी माछा सजिलै मार्न सक्थेँ । आजभोलि दिनभर खोला डुल्दा एक किलो पाउन मुस्किल हुने गरेको अनुभव उनी सुनाउँछन् । करेन्ट र विषको असरले खोलामा माछा लोप भएको उनको बुझाइ छ । ‘विषादी र करेन्टले अन्य जलचर प्राणीसमेत लोप भइरहेका छन्,’ उनले भने, ‘माछा पाउन कठिन भइसक्यो । माछा संरक्षण गर्ने कोही भएन ।’
यहाँ माछा मार्न जाल प्रयोग गरिन्छ । झरौला पनि खेलिन्छ उनले भने, ‘धेरै भयो,जाल खेल्न गएको छैन । करेन्टभन्दा विष प्रयोग गर्दा माछामा बढी क्षति हुने गर्छ ।’
विषले तीन–चार दिनसम्म माछा र भुरामा क्षति पुर्याउने गरेको स्थानीय कृष्ण चौलागाई बताउँछन् । नदीमा मानवीय क्रियाकलाप बढ्दै गएकाले पनि असला माछा संकटमा परेको स्थानीय बताउँछन् । यद्यपि, तिलामा पाइने असला माछा विश्वमै लोपोन्मुख मानिन्छ । ‘निकै स्वादिलो भएकाले माछा सबैको रोजाइमा पर्छ,’ कृष्ण भन्छन्, ‘करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहोर फाल्न थालेपछि माछाको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको छ ।’
सदरमुकाम खलंगादेखिको फोहोर तिला नदीमै फयाकिँदै आएको छ। ‘पहिले नदीभरि माछा नै माछा देखिन्थे, अहिले दिनभर जाल खेल्दा पनि एक किलो भेटाउन मुस्किल हुने गरेको छ,’ उनले भने, ‘माछा भेटिन छाडेपछि स्थानीय बजारमा असला माछाको मूल्य बढ्दै गएको छ । खोलामा जताततै फोहोर मात्रै देखिन्छ।’
एक वर्षअघि आठ सयदेखि एक हजार रुपैयाँमा किनबेच हुने स्थानीय माछाको मूल्य अहिले खलंगामा प्रतिकेजी एक हजार दुई सय रुपैयाँसम्म पुगेको छ।
नदीमा पानीको बहाव घट्नु, करेन्ट प्रयोग, विषादी प्रयोगले दिनप्रतिदिन माछाको संख्या घट्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापा बताउँछन् । असला माछा पहिले जिल्ला बाहिर निर्यात गरिन्थ्यो,अहिले त,देखिन छाडे, निकै अभाव छ । नदीमा जथाभावी डोजर चलिरहेका छन् । माछा मार्न जाल खेल्ने, झरौला हाल्ने र बल्छी खेल्ने इतिहास मेटिदै गइरहेको छ ।


