२०८३ जेष्ठ ३० गते
×

Now Playing

दशैँ नजिकिएसँगै कर्णालीको राजधानीमा यातायातदेखि बजारमा बढ्यो चलहपहल

ओम शाही
सुर्खेत, ७ असोज ।
यस वर्षको बडा दशैँ (२०८२) सोमबारबाट प्रारम्भ भएको छ । दशैँ घटस्थापनाबाट सुरु भई विजयादशमीमा टीका–जमरा र आशिर्वाद ग्रहण गरी सम्पन्न हुन्छ । दशैँको चहलपहल सुरु भएसँगै बजारमा चाडपर्व लक्षित किनमेल गर्नेहरुको घुइचो लाग्न थालेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरका मुख्य बजारमा दसैँ–तिहार लगायतका चाडपर्वका लागि किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।

बजारमा किनमेल गर्नेहरुको संख्या बढेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । प्रदेशको राजधानी भएकाले पनि वीरेन्द्रनगरमा बाह्य जिल्लाका नागरिकको बसोबास धेरै छ । यतिमात्रै होइन वीरेन्द्रनगर भित्रने र बाहिरिने यात्रुबहाक सवारीहरुको चहलपहलसमेत बढेको छ । अहिले वीरेन्द्रनगरबाट दैनिक जसो सयौको संख्यामा यात्रुबहाक सवारीहरु भित्रने र बाहिरिनेक्रम बढ्दो छ ।


वीरेन्द्रनगरमा अध्ययन, रोजगारी, व्यापार, व्यवसायका लागि बसोवास गर्नेहरु धमाधम घर फर्कन थालेका छन् । त्यतिकै संख्यामा कर्णाली प्रदेश बाहिरिएकाहरु भित्रने क्रम पनि बढ्दो छ । चाडपर्व सुरु भएसँगै सुरक्षा चुनौतीसमेत थपिएका छन् । चाडपर्व मनाउन घर फर्कनेहरु बाटोमा लुटिने, चोरी, हुने, ठगिने तथा सडक दुर्घटनमा पर्ने जोखिम उत्तकै छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, चालकको लापरवाही र अधिकांश सडकहरु मापदण्ड अनुसारका नहुँदा वर्षेनी कर्णालीमा सडक दुर्घटनामा ठुलो धनजनको क्षति हुने गरेको छ ।

चाडपर्वका अवसरमा हुनसक्ने सम्भावित अपराधिक क्रियाकलापदेखि यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन प्रहरीले विशेष सुरक्षा योजना लागुगर्ने तयारी गरेको जनाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले चाडपर्व लक्षित सुरक्षा योजना तयार गरी लागुगर्ने तयारी रहेको बताए । उनले विगतमा घटेका घटनाको विश्लेषणमार्फत नयाँ योजना तय गर्न लागिएको बताए ।
कर्णाली भित्रिने र बाहिरिने यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी प्रहरीको छ । यस्तै, यातायात व्यवसायीले पनि चाडपर्वको अवधिभर यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले विगत वर्षका सडक दुर्घटनाका कारणहरु केलाएर यस वर्षको दसैँलाई दुर्घटनारहित बनाउन चालक तथा कर्मचारीलाई सचेत बनाइएको बताए । यात्रुलाई गन्तव्यमा पुर्‍याउन चालकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस पटक दुर्घटनारहित दसैँ बनाउँने अभियानमा यातायात व्यवसायी रहेको अध्यक्ष सापकोटाले बताए ।
चाडपर्वका क्रममा क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुलाई हैरानी दिने, मर्मत नगरिएका सवारी साधन चलाउने जस्ता कार्यहरु प्रहरी र यातायात व्यवसायीको सहकार्यमा हुन नदिने उनले बताए । दशैँ केवल हिन्दुहरुको धार्मिक मात्र नभई सामाजिक, सांस्कृतिक, आर्थिक र राष्ट्रिय एकताको प्रतिकको पर्व पनि हो । असत्यमाथी विजयी पर्वका रुपमा मनाइने दशैँले नेपाली समाजलाई अझ बलियो र एकतावद्ध बनाउन सहयोग गर्दै आएको छ ।
धार्मिक दृष्टिले दशैँलाई देवी दुर्गाको उपासना गर्ने पर्वका रूपमा मानिन्छ । हिन्दू धर्मशास्त्रअनुसार शक्तिशाली देवी दुर्गाले महिषासुर नामक असुरको संहार गरेर सत्यलाई विजय दिलाएको सम्झनामा प्रत्येक वर्ष असोज महिनामा यो पर्व मनाइन्छ । विजयादशमीको दिन असत्यमाथी सत्य, अधर्ममाथी धर्म र अन्धकारमाथी प्रकाशको जीत भएको विश्वास गरिन्छ ।
सांस्कृतिक रूपमा दशैँ वर्षभरी टाढा रहेका परिवार र आफन्तलाई एकत्रित गर्ने अवसरको पर्व पनि हो । टाढा रहेका सदस्यहरू घर फर्कने, एक–अर्कासँग भेटघाट गर्ने, टीका–जमरा लगाउने र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले यसलाई मेलमिलापको पर्वका रूपमा स्थापित गरेको छ ।

चाडपर्व लक्षित १९ स्थानमा सहुलियत पसल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलगायतका चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । ३० भदौदेखि कम्पनीले यो बर्षको चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कम्पनीको प्रादेशिक कार्यालयले यो बर्षका लागि कर्णालीका १९ ठाउँमा सुपथ मूल्य पसल सुरु गरेको हो ।
ठूला चाडपर्वहरु दशैं र तिहारलाई लक्षित सुरु गरिएका सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म सञ्चालन हुन्छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख केशवराज बुढाथोकीका अनुसार ३० भदौदेखि कर्णालीका नौ वटा जिल्लामा पसल सञ्चालन गरिएको छ । सल्यानबाहेकका जिल्लामा पसल सञ्चालन गरिएको उनले बताए । सल्यानमा भने कम्पनीको कुनैपनि डीपो नभएकाले सुपथ मूल्य पसल नलगिएको उनले बताए ।
कम्पनीका अनुसार हाल सुपथ मूल्य पसल सञ्चालन गरिएका १९ वटै ठाउँहरु कम्पनीका साविकका डीपोहरु भएका स्थान हुन् । प्रमुख बुढाका अनुसार अहिले सुर्खेत, दैलेख, जुम्ला र रुकुम पश्चिमको सदरमुकामस्थित डीपोमा मात्र पसल सञ्चालन गरिएको छ ।
अरु जिल्लाहरुमा सदरमुकामबाहिर पनि डीपो भएकाले ती ठाउँमा पसल सञ्चालन गरिएको उनले बताए । कालीकोटको सदरमुकाम मान्म, खल्लागाड र पदमघाट, मगुको सदरमुकाम गमगढी, सोरुकोट, फुकोट, हुम्लाको सदरमुकाम सिमकोट, सर्केगाड र श्रीनगर, डोल्पाको सदरमुकाम दुनै, जुफाल, सर्मी, जाजरकोटको सदरमुकाम खलंगा, घोगी, नायकवाडास्थित डीपोहरुबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।
यीमध्ये पनि कतिपय डीपोमा खाद्यान्न ढुवानी भईनसकेको उनले जानकारी दिए । ‘ढुवानीमा एकदमै चुनौती छ, हामीले पसल सुरु भएको घोषणा भएका केही ठाउँमा अझैं खाद्यान्न ढुवानी गर्न सकेका छैनौं,’ उनले भने, ‘ढुवानीका लागि तिव्र गतिमा काम गरिरहेका छौं, अब धेरै समय भने लाग्दैन ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ मूल्य पसलहरुबाट सहुलियतमा खाद्यान्न पाईन्छ । सहुलियतमा बिक्रीवितरण हुने चामल र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिईएको छ । तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको छ ।

दशैँ नजिकिएसँगै कर्णालीको राजधानीमा यातायातदेखि बजारमा बढ्यो चलहपहल

सम्पादकीय : अटेरी कर्मचारीलाई सबक सिकाऊ !

दशैँ नजिकिएसँगै कर्णालीको राजधानीमा यातायातदेखि बजारमा बढ्यो चलहपहल

संकटमा परेका गिद्ध प्रजाति जोगाउन नेपालमा संरक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *