२०८३ जेष्ठ ३० गते
×

Now Playing

संकटमा परेका गिद्ध प्रजाति जोगाउन नेपालमा संरक्षण अभियान तीव्र

बाँके, ७ असोज ।
नेपालमा गिद्धको सख्या तीव्र रूपमा घट्दै गइरहेका बेला यसको संरक्षणमा नेपाल सरकार, विभिन्न संघ–संस्था र स्थानीय समुदाय सक्रिय बनेका छन् । गिद्धलाई प्रकृतिको कुचिकार मानिन्छ, जसले मृत जनावरको अवशेष हटाएर वातावरणलाई सफा राख्ने महत्वपूर्ण भूमिका खेल्छ । तर पछिल्ला दुई दशकमा यस अमूल्य चराको अस्तित्व नै संकटमा पर्न थालेपछि संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ ।
हाल नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये सुन गिद्ध, डंगुर गिद्ध, सानो खैरे गिद्ध, सेतो गिद्ध र हिमाली गिद्ध विशेष जोखिममा रहेको विज्ञ भुपाल नेपाली बताउनुहुन्छ । विश्वभर २३ प्रजातिका गिद्ध भेटिए पनि दक्षिण एसियाली मुलुकहरूमा यसको संख्या तीव्र रूपमा घटेको तथ्याङ्कले देखाएको छ ।
गिद्ध संख्या घट्नुको मुख्य कारण पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधी हो । यस औषधीको सेवन गरेको पशुको मासु खाएपछि गिद्धको मृत्यु दर उच्च रहँदै आएको अनुसन्धानहरूले पुष्टि गरेका छन् । यो अवस्थाले गिद्धलाई विलुप्ततर्फ धकेल्न थालेपछि नेपाल, भारतलगायतका मुलुकहरूले यस औषधिमा प्रतिबन्ध लगाएका हुन् । बाँके जिल्लामा त सन् २०११ मै ‘डाइक्लोफेनेक मुक्त जिल्ला’ घोषणा गरिएको थियो ।


इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायका अनुसार त्यसयता गिद्ध संरक्षणका विभिन्न कार्यक्रम निरन्तर सञ्चालनमा छन् । उनले गिद्धलाई बचाउन स्थानीय समुदायलाई सचेत पार्ने, गिद्धमैत्री औषधिको प्रयोग प्रोत्साहन गर्ने र नियमित निगरानी गर्ने काम भइरहेको बताए ।
यसबीचमा सामुदायिक स्तरबाट सञ्चालन भएको ‘जटायु रेष्टुरेन्ट’ गिद्ध संरक्षणमा उदाहरणीय पहल बनेको छ। यहाँ गिद्धलाई सुरक्षित र विषमुक्त आहार उपलब्ध गराइन्छ । संरक्षणकर्मी आशिष चौधरीका अनुसार, जटायु रेष्टुरेन्टले गिद्धलाई मात्र नभई सम्पूर्ण वातावरणीय सन्तुलन कायम राख्न ठूलो योगदान दिएको छ । यस प्रयासले गिद्ध संख्या स्थिर राख्न सहयोग गरेको देखिएको छ ।


सन् २०२१ मा गण्डकी र लुम्बिनी प्रदेशलाई गिद्धका लागि सुरक्षित क्षेत्र घोषणा गरिएपछि बाँकेमा पनि संरक्षणको सम्भावना बढेको छ । बाँके र बर्दियाको भूगोल गिद्धका लागि उपयुक्त मानिएको छ, जसले संरक्षण अभियानलाई अझै सशक्त बनाउन सक्ने सरोकारवालाको विश्वास छ । तर, प्रतिबन्धित औषधिको प्रभावकारी अनुगमनमा अझै कमजोरी रहेको गुनासो छ । कतिपय ठाउँमा अझै पनि गैरकानुनी रूपमा डाइक्लोफेनेकको प्रयोग हुने गरेको खबर आउने गरेको छ । विज्ञहरू भन्छन् ‘यदि यस्तो अवस्था रोक्न सकिएन भने संरक्षण अभियान सफल बनाउन कठिन हुनेछ ।’
गिद्ध संरक्षण केवल सरकार वा संरक्षण निकायको जिम्मेवारी मात्र नभई सम्पूर्ण समुदाय र नागरिकको साझा दायित्व हो । गिद्ध जोगाउन सकियो भने केवल एउटा प्रजाति मात्र होइन, हाम्रो वातावरण र जीवन चक्र सुरक्षित हुने विज्ञहरूको तर्क छ । मृत जनावरको अवशेष हटाएर रोगको सम्भावना कम गर्ने गिद्धको योगदान मानव जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उनीहरूको भनाइ छ । नेपालमा पछिल्ला वर्षमा गिद्ध संरक्षणका विषयमा सकारात्मक संकेत देखिन थालेको छ । गिद्ध संरक्षणमा कार्यरत संघ–संस्था, सामुदायिक वन उपभोक्ता समूह, संरक्षणकर्मी र पत्रकारसम्मले यसबारे जनचेतना फैलाउँदै आएका छन् । विद्यालयस्तरमै पनि संरक्षणका कार्यक्रम सञ्चालन गरिँदा नयाँ पुस्ता सचेत बन्दै गएको छ ।


यसरी संरक्षणमा व्यापक चासो देखिन थाले पनि अझै चुनौतिहरू कायमै छन् । सुरक्षित आहार आपूर्ति निरन्तरता दिनुपर्ने, निगरानी प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने र सीमा क्षेत्रमा हुने औषधिको ओसारपसार नियन्त्रण गर्नुपर्ने खाँचो छ । साथै, संरक्षणका लागि दीर्घकालीन रणनीति र पर्याप्त बजेट सुनिश्चित गर्न सकियो भने मात्र गिद्धको भविष्य उज्यालो बन्ने सरोकारवालाको भनाइ छ ।
गिद्ध केवल एक चराको प्रजाति मात्र होइन, प्रकृतिले दिएको अमूल्य सम्पदा हो । यसको संरक्षण गर्न सकियो भने नेपालको जैविक विविधता मात्र सुरक्षित हुने छैन, मानव स्वास्थ्य र वातावरणीय सन्तुलन पनि दीर्घकालीन रूपमा जोगिनेछ । त्यसैले गिद्ध संरक्षणलाई सबैले आफ्नो जिम्मेवारी ठानेर अघि बढ्नु आजको आवश्यकता बनेको छ ।

संकटमा परेका गिद्ध प्रजाति जोगाउन नेपालमा संरक्षण अभियान तीव्र

नेपालगन्ज नाकाबाट चालु आवको सुरुवातमै आठ करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *