नेपालको वर्तमान राजनैतिक अवस्था र युवाको भूमिका

✍️अर्जुन प्रसाद शर्मा
वीरेन्द्रनगर-१२, सुर्खेत
नेपाल एक सुन्दर, भौगोलिक रूपमा विविध र ऐतिहासिकरूपमा गौरवपूर्ण देश हो। यो देशले धेरै राजनीतिक परिवर्तनहरूको सामना गरेको छ। राणा शासनदेखि प्रजातन्त्र, पञ्चायत, बहुदलीय व्यवस्था, राजतन्त्रको अन्त्य हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ। यी सबै परिवर्तन जनताको संघर्ष, नेताहरूको योगदान र देशभक्त नागरिकको बलिदानबाट सम्भव भएको हो।
तर, आज हामी जुन अवस्थामा छौँ, त्यो परिवर्तनका सपना जस्ता थिए, त्यस्तो छैन। संविधान आएको धेरै वर्ष भइसकेको छ, तर जनताको जीवनमा सुधार आएको छैन। सरकार बारम्बार परिवर्तन हुन्छ, विकासको गति सुस्त छ, भ्रष्टाचार बढ्दो छ, अनि जनताको राज्यप्रति विश्वास घट्दो छ। यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ—अब देशलाई अगाडि कसले लैजाला ?
आज नेपालमा राजनीतिक अस्थिरता ठूलो समस्या बनेको छ। सरकारहरू लामो समय टिक्दैनन्, नीति परिवर्तन भइरहन्छ, अनि सत्ताको लागि दलहरूबीच अनावश्यक गठबन्धन बन्ने र भाँडिने क्रम जारी छ। सांसदहरू जनताको सेवा गर्नेभन्दा पनि आफ्नै पार्टी वा गुटको हितमा लागिरहेका छन्। मन्त्रीहरू पटक–पटक फेरिन्छन्, अनि योजना र कार्यक्रम पनि कार्यान्वयन हुनुअघि नै रोकिन्छन्।
भ्रष्टाचार हाम्रो देशको अर्को ठूलो रोग बनेको छ। सरकारी कार्यालयमा सेवा लिन गाह्रो छ, सिफारिस, चाकरी र कमिसनको खेल चलेको छ। स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, सडकजस्ता जनजीविकासँग सम्बन्धित क्षेत्रमा सुधार देखिँदैन। जनता बाँच्न गाह्रो भइसकेको छ, त्यसैले लाखौँ युवा देश छोडेर विदेश पलायन भइरहेका छन् र स्थानीय तह पनि अहिले राजनीति र भागबण्डाको शिकार बनेका छन्। प्रदेश सरकारहरू बारम्बार बदलिन्छन्, मुख्यमन्त्रीहरू राजनीतिक दलको दबाबमा काम गर्छन्। जनप्रतिनिधिहरू आफूले प्रत्यक्ष सेवा पुर्याउनेभन्दा पनि आफ्नो पक्ष बलियो पार्ने प्रयासमा लागेका देखिन्छन्।

यी सबै समस्याका कारण जनताको राजनीतिकप्रति विश्वास घट्दो छ। युवाहरू राजनीतिबाट टाढिँदै छन्। “राजनीति फोहोरी छ”, “राजनीति नेताहरूको खेल हो”, “हामी पढेर विदेश जान्छौँ”, भन्ने सोच बढ्दो छ। युवाहरू सोच्दछन्—राजनीतिमा गएर केही गर्न सकिँदैन, त्यो त पहुँचवालाको क्षेत्र हो। तर अब सोच बदल्न जरुरी छ। देशमा जुन राजनीति बिग्रिएको छ, त्यो कसैले बाहिरबाट आएर सुधार्नेवाला छैन। हामीले आफैंले सुधार गर्नुपर्छ। त्यो सुधारको जिम्मेवारी अबको पुस्ताले, अर्थात् आजको युवाले लिनुपर्छ।
नेपालको जनसंख्याको ठूलो भाग युवा हुन्। उनीहरू शिक्षित छन्, नयाँ सोच राख्छन्, प्रविधिमा सक्षम छन्, देशको अवस्था बुझ्ने क्षमता राख्छन्। त्यसैले अहिलेको समय उनीहरूका लागि अवसर पनि हो, चुनौती पनि।
राजनीति भन्नासाथ सबैभन्दा पहिले हामीलाई कुर्सी, सत्ता र भ्रष्टाचारको सम्झना आउँछ। तर राजनीति भनेको केवल सरकार बनाउने कुरा होइन। यो देशको नीति बनाउने, नियम बनाउने, योजना बनाउने र जनताको जीवन सुधार गर्ने माध्यम हो। यदि हामी राजनीति सुधार्न चाहन्छौँ भने, त्यसमा सहभागी हुनैपर्छ।
युवाहरूले आफ्नो चेतना बढाउनु पर्छ। संविधान पढ्नुपर्छ, नीति बुझ्नुपर्छ, दलहरूको विचार र व्यवहार बुझ्नुपर्छ। नेताहरूलाई गाली गरेर,चोक चौतारामा बसेर राजनीतिक दलहरूको विरोध गरेर,राजनीतिलाई फरक ढङ्गले व्याख्या गरेर , सामाजिक सञ्जालमा मात्र आलोचना गरेर केही हुँदैन। आलोचना गर्नु ठीक हो, तर त्यससँगै समाधान पनि दिन सक्नुपर्छ।
हामी युवा जबसम्म “यो त नेताहरूको काम हो”, भनेर टाढा बस्छौँ, तबसम्म त्यो ठाउँ अरूले भर्दै जान्छन्। अनि फेरि हामी त्यही गुनासो गर्छौँ—”देश बिग्रेको छ, केही राम्रो हुँदै छैन।” यदि देश बिग्रिएको छ भने त्यो ठीक पार्ने जिम्मेवारी पनि हामीकै हो युवाकै हो । पुराना नेताहरूले परिवर्तन ल्याएकै हुन्, परिवर्तनका लागि बलिदान गरेकै हुन् ,सपना देखेकै हुन् र देखाएकै हुन्, तर त्यसको रक्षा गर्न सकिरहेका छैनन् र अब सक्दैनन् पनि| किनकि उनीहरू भ्रष्टाचारमा लिप्त छन्। यदि साँच्चिकै छानबिन गर्यो भने बच्नेवाला कोही पनि छैन। उनीहरू सत्तामा मात्रै केन्द्रित भएका छन्। त्यसो भएको हुँदा अब उहाँहरूलाई स सम्मान विधि र प्रक्रिया मार्फत विदाई गर्दै जिम्मेवारी पूर्वक नयाँ सोच, नयाँ दृष्टिकोण र नीतिगत शुद्धताका लागि युवाको आवश्यक्ता छ।
युवाहरूले राजनीतिमा सरसर्ती रूपमा होइन, गहिरो रूपमा भाग लिनुपर्छ। त्यसको अर्थ पार्टीमा आवद्ध हुनु मात्र होइन। गाउँपालिका, नगरपालिका, वडास्तरदेखि नै जनताको सरोकारमा लाग्नुपर्छ। सामाजिक सेवामा सक्रिय हुनुपर्छ, स्थानीय मुद्दाहरूमा जागरूक हुनुपर्छ। राजनीतिक परिवर्तन ठूला ठाउँबाट मात्र होइन, गाउँघरबाट सुरु हुन्छ।
हामी युवाहरूले अब नयाँ राजनीति गर्नुपर्छ। त्यो राजनीति झुटो भाषण, लोभ देखाएर भोट माग्ने होइन। त्यो सेवा, इमान, विचार र जवाफदेहितामा आधारित हुनुपर्छ। जनता, राष्ट्र र विकासप्रति समर्पित सोच राख्ने राजनीति हुनुपर्छ।
युवाले ठूला कुराहरू मात्र गर्नु हुँदैन, साना कामबाट पनि सुरु गर्न सकिन्छ। गाउँमा पाठशालाको सुधारमा लाग्न सकिन्छ, स्थानीय अस्पतालमा सेवा सुधारमा साथ दिन सकिन्छ, बालबालिका, वृद्ध, दलित, महिला, विपन्न समुदायको आवाज उठाउन सकिन्छ। यही साना कामले ठूलो परिवर्तनको आधार बनाउँछ।
अहिलेको युग प्रविधिको युग हो। आजका युवाले प्रविधि प्रयोग गरेर राजनीति सुधारमा ठूलो योगदान दिन सक्छन्। तथ्यको खोज, सूचना विश्लेषण, सामाजिक सञ्जालमा जनचेतना फैलाउने काम उनीहरूले सजिलै गर्न सक्छन्। गलत प्रचारको विरुद्ध साँचो कुरा बोल्न सकिन्छ। अनि साँचो कुरा बोल्न डराउनु हुँदैन।
अझ विशेष कुरा के हो भने—अब युवाले नेतृत्व सम्हाल्ने साहस गर्नुपर्छ। केवल समर्थन गर्ने होइन, आफैं उम्मेदवार बन्ने, आफैं नीति बनाउने र आफैं लागू गर्ने तहमा जानुपर्छ। युवाले केवल पढ्ने होइन, देश बनाउने सपना देख्नुपर्छ। विदेश जानुभन्दा देशमै केही गर्न सकिन्छ भन्ने सोच विकास गर्नुपर्छ।
अब हामीले विचार गर्नुपर्ने समय आएको छ—हामी देश बनाउन चाहन्छौँ कि गुनासो गर्न मात्रै चाहन्छौँ? हामी परिवर्तन हेर्न चाहन्छौँ कि आफैं बन्न चाहन्छौँ? हामीले यति बुझ्न जरुरी छ—देश बनाउने हो भने अब जिम्मेवारी हामीले लिनुपर्छ।
युवाहरूले राजनीतिमा नयाँ संस्कार ल्याउन सक्छन्। पारदर्शिता, इमानदारी, जवाफदेहिता, अनि जनमुखी नीति ल्याउने शक्ति युवामा छ। अनि त्यही शक्ति प्रयोग गर्ने हो भने राजनीति सफा हुन्छ, देश बदलिन्छ।
राजनीति भनेको खराब कुरा होइन। खराब त त्यसमा हुने गलत अभ्यास हो। त्यो अभ्यास बदल्न हामी युवाहरूले हात हाल्नैपर्छ। त्यसो नगर्दा राजनीति सधैँ खराबकै हातमा रहन्छ। आज हामीले अब भन्नुपर्छ—हामी नयाँ राजनीति चाहन्छौँ। अब हाम्रो पालो हो। अब नेतृत्व हामी लिन्छौँ ।
यदि हामी आज उठ्दैनौँ भने भोलिको पुस्ताले हामीलाई दोष दिनेछ—”हाम्रा बुबा-आमा, दाजु-भाइ, दिदी-बहिनीहरूले केही गरेनन्, त्यसैले देश बिग्रियो।” तर यदि हामीले आज बाटो देखायौँ भने, हाम्रो पछि आउने पुस्ताले गर्व गर्नेछ—”हाम्रा अगुवा युवाहरूले देशको बाटो फेरे।”
त्यसैले अब होइन भने कहिले ? हामी होइन भने को ?
देश हाम्रो हो। जिम्मेवारी पनि हाम्रो हो। र भविष्य पनि हाम्रो हातमै छ।
अब समय आएको छ– उठ्ने, बोल्ने, सोच्ने, काम गर्ने र नेतृत्व गर्ने।देश बनाउने अभियान अब युवाबाट सुरु हुनुपर्छ। राजनीतिक नैतिकता, उत्तरदायित्व र देशप्रेमका आधारमा नयाँ युगको सुरुवात हुनुपर्छ। अनि त्यो सुरुवात हाम्रो सोच, हाम्रो आँट र हाम्रो प्रतिवद्धताबाट मात्रै सम्भव छ। अन्ततः अब प्रश्न यस्तो छ—हामीले विकल्प बन्ने कि मौन रहने ?
देश बनाउने अभियान अब युवाबाट सुरु हुनुपर्छ। राजनीतिक नैतिकता, उत्तरदायित्व र देशप्रेमका आधारमा नयाँ युगको सुरुवात हुनुपर्छ। अनि त्यो सुरुवात हाम्रो सोच, हाम्रो आँट र हाम्रो प्रतिवद्धताबाट मात्रै सम्भव छ । [लेखक =अन्याय अत्याचार भ्रष्टाचार विरोधी खरो आवाज उठाउने सामाजिक अभियान्ता हुन्।]






