थाइल्याण्डमा हुने विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा बाँकेका दुई खेलाडी सहभागी, लियाना हस्पिटालिटिले गर्यो बिदाइ

बाँके,२७ असार।
जुलाई १६ देखि १९ सम्म थाइल्याण्डको पटायामा आयोजना हुने १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिप–२०२५मा बाँकेका दुई खेलाडीले नेपाल प्रतिनिधित्व गर्ने भएका छन्।
नेपालगञ्जमा सम्पन्न दोस्रो राष्ट्रिय स्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइबीपी च्याम्पियनसिपबाट छनोट भएका सन्तोष काजी शाक्य र मोहित गुप्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पक्का भएको हो।

स्ट्रेन्थ लिफ्टिङ फेडेरेसनका अध्यक्ष विनि टण्डनका अनुसार, शाक्य मास्टर–२ को ७६ किलो पुरुषतर्फ प्रतिस्पर्धा गर्ने छन् भने गुप्ता ६८ किलो सिनियर समूहमा सहभागी हुनेछन्।
थाइल्याण्ड प्रस्थान गर्नु अघि खेलाडीहरूलाई लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर नेपालगञ्जले एक कार्यक्रमबीच बिदाइ गरेको थियो। बिदाइ कार्यक्रममा प्रमुख अतिथिका रूपमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया र मोहम्मद मुज्ममिल, समाजसेवी अमर भण्डारी, लियानाका सिइओ अभिषेक थारु, डाइरेक्टर भोदुराम थारु, साथै अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बिदाइ मन्तव्य दिँदै लियानाका डाइरेक्टर भोदुराम थारुले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा “जित्छु” भन्ने आत्मबलसहित राष्ट्रको नाम उच्च बनाउने शुभकामना दिनुभयो। उहाँले लियाना संस्था सधैं खेलाडीहरूको समग्र विकासमा तत्पर रहने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले खेल क्षेत्रले विश्वमै शान्तिको सेतुको रूपमा काम गरिरहेको उल्लेख गर्दै, “खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन्,” भन्नुभयो। उहाँले दुई खेलाडीलाई गुलरियाको तर्फबाट उच्च सम्मान प्राप्त हुने बताउँदै सफलताको शुभकामना दिनुभयो।

यसअघि काजकिस्तानमा सम्पन्न ११औँ अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा मोहित गुप्ताले स्वर्ण र रजत पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय रूपमा चम्काएका थिए। प्रतियोगिता आफ्नै खर्चमा खेल्नुपरेको गुनासो गर्दै उनले खेलकुदप्रति राज्यको लगानी र समर्थनको आवश्यकता औँल्याए।
“हामीजस्ता खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देशको इज्जत राख्न सक्नेछौँ, त्यसका लागि राज्यको न्यायपूर्ण सम्बोधन अपरिहार्य छ,” गुप्ताले भने।

उक्त प्रतियोगितामा नेपालका तर्फबाट ९ जना खेलाडी सहभागी हुनेछन्। बाँकेबाट सहभागिता जनाउने दुई खेलाडीप्रति जिल्लावासीले गर्व व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।






