इतिहासमै कम्युनिष्टहरुको लजास्पद हार 

ओम शाही
सुर्खेत, २३ फागुन ।
बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मध्ये ११ मा मतगणना भइरहेको छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा गएराति अबेर मतगणना सुरु भएको थियो, भने मुगुमा आज (शनिबार) बाट मतगणना सुरु हुँदैछ ।
भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समय लागेपछि यी जिल्लामा मतगणनामा ढिलाई भएको हो । यो समाचार तयार पार्दासम्म सार्वजनिक भएको प्रारम्भिक मतपरिणाम अनुसार कर्णालीका तीन निर्वाचन क्षेत्रमा कांग्रेस, एकमा एमाले, दुईमा नेकपा, एकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकमा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले अग्रता लिएका छन् ।
यद्यपी, अन्तिम नतिजा भने आजमात्रै आउने छ । सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्काले सुरुवाती अग्रता कायम राखेका छन् । खड्कालाई नेकपा एमालेका धु्रवकुमार शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर सिंहले पछ्याइरहेका छन् । यस्तै, दैलेख–१ मा कांग्रेसका बासना थापालाई नेकपा एमालेका रविन्द्रराज शर्मा र रास्वपाका नन्दकिशोर बस्नेतले पछ्यारहेका छन् ।
दैलेख–२ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेबाट उम्मेदवार बनेका लक्ष्मीप्रसाद पोखरेलले सुरुबाटै अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका दिक्पालकुमार शाही र नेकपाका योगेन्द्रबहादुर शाहीले पछ्याइरहेका छन् । जाजरकोटमा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
यो समाचार तयार पार्दासम्म काँग्रेसका उम्मेदवार खड्कबहादुर विसीले अग्रता लिदा एमालेका डम्बरबहादुर सिंह र नेकपाका शक्तिबहादुर बस्नेतले पछ्याइरहेका छन् । कालीकोटमा नेकपा र एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीलाई एमालेका नगिन्द्र शाहीले झिनो मतान्तरले चुनौती दिइरहेका छन् ।
कांग्रेसका हर्षबहादुर बमले पनि तेस्रो स्थानमा छन् । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारी मतान्तरले लिड गरिरहेको छ । राप्रपाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाहीले नेकपा, एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै जित निकाल्ने यात्रामा छन् । उनलाई नेकपाको तर्फबाट उम्मेदवार रहेका नरेश भण्डारीले पिछा गरिरहेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दशन शर्माले पनि सुुरुवाती अग्रता कायम गरेका छन् । एमालेको समर्थनमा चुनाव लडेका उनलाई पूर्वसहकर्मी नेकपाका गोपाल शर्माले पछ्याइरहेका छन् । यस्तै, सल्यानमा नेकपाका रमेश मल्लले अग्रता लिएका छन् । उनलाई रास्वापका ललितकुमार चन्दले पछ्याइरहेका छन् ।
सुर्खेत–२ मा रास्वपाले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले अग्रता लिदा एमालेका कुलमणि देवकोटा र कांग्रेसका नारायण कोइरालाले, नेकपाका झकबहादुर मल्लले पछ्याइरहेका छन् ।
कम्युनिष्टहरुको लजास्पद हार  
नेपालको राजनीतिक इतिहासमा पहिलोपटक वामपन्थी दलहरूको जनमत कमजोर अवस्थामा पुगेको छ । संसदमा कुनैबेला ६० प्रतिशतभन्दा बढी पुगेका वामपन्थी दलहरू अहिले कमजोर भएका छन् । अहिलेको चुनावको प्रारम्भिक मतगणनाअनुसार एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मात्रै राष्ट्रिय दल बन्ने सम्भावना छ, तर निकै कमजोर जनमतसहित ।
२१ फागुनमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पक्षमा जनमत बढेको छ । वामपन्थी जनमत धेरै घटेको छ । विगतमा एमालेले जित्दै आएका क्षेत्रमा नै रास्वपाले जित निकालिरहेका कारण मतपरिणामको प्रारम्भिक नतिजाले कम्यनिस्टका गढ रास्वपा भत्काउने देखिन्छ । नेपालमा कम्युनिस्ट पार्टी पहिलो चुनाव २०१५ सालमा लडेको थियो ।
कांग्रेसले दुईतिहाइ सिट ल्याएको त्यो समयमा देशभरि चार जना कम्युनिस्ट नेताहरूले चुनाव जितेका थिए । जसमा तुलसीलाल अमात्य, शेख फर्मान, हरदयाल महतो, कमलराज रेग्मी थिए । पहिलोपटक चार सिट जितेको कम्युनिस्ट पार्टीले त्यसपछिका चुनावमा भने जनमत बढाउँदै लगेका थिए ।
२०४६ मा जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको आमचुनावमा कम्युनिस्ट पार्टीहरूले राम्रो मत पाए । त्यसबेला माले र मार्क्सवादी मिलेर बनेको नेकपा (एमाले)ले ६९ सिट जितेको थियो । संयुक्त जनमोर्चाले देशभरि नौ सिट जितेको थियो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले २ सिट जितेको थियो । त्यसरी हेर्दा बहुदलपछिको पहिलो चुनावमा कम्युनिस्टले ८० सिट जितेको थियो । त्यो सयमा देशभरि दुई सय पाँच निर्वाचन क्षेत्र थिए । नेपाली कांग्रेको आन्तरिक कलहले २०५१ सालमा मध्यावधि चुनाव भयो । यो चुनावमा पनि कम्युनिस्ट पार्टीहरूको मत अझ बढ्यो । यो चुनावमा एमाले ८८ सिट जितेर सबैभन्दा ठूलो पार्टी बन्यो भने नेमकिपाले पनि चार सिट जित्यो ।
अघिल्लो निर्वाचनमा तीनवटा कम्युनिस्ट पार्टीले ८० सिट जितेका थिए भने तीन वर्षमा नै दुई पार्टीले ९२ सिट जितेका थिए । २०५१ मा पहिलोपटक नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्यो । एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने । उक्त सरकार नौ महिना मात्र टिक्यो ।
२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने कम्युनिस्ट पार्टीहरूको अवस्था केही खस्कियो । यो चुनावसम्म आउँदा एमाले विभाजन भएको थियो । ठूलो हिस्सा एमालेबाट विभाजन भएर नेकपा माले बनेको थियो । बहुदलपछिको पहिलो निर्वाचनमा नौ सिट जितेको संयुक्त जनमोर्चा २०५२ सालबाट माओवादी हुँदै ‘जनयुद्ध’मा होमिएको थियो ।
एमाले र मालेबीच एकले अर्कोलाई हराउने प्रतिस्पर्धा चलेको थियो । २०५६ सालमा एमालेले ७१ सिट जित्यो । माले भने शून्य भयो । राष्ट्रिय जनमोर्चाले पाँच, संयुक्त जनमोर्चा नेपालले एक र नेमकिपाले एक सिट मात्र जित्यो ।
अघिल्लो निर्वाचनमा ९२ सिट जितेका कम्युनिस्टले यो निर्वाचनमा भने ७८ सिटमा चित्त बुझाए ।  कुल दुई सय पाँच सिटमा निर्वाचन भएको थियो ।  एमाले प्रमुख प्रतिपक्ष बन्यो । सशस्त्र द्वन्द्वबाट माओवादी २०६२–६३ को जनआन्दोलन र शान्ति सम्झौता हुँदै संसदीय राजनीतिमा आएपछि २०६४ साल २८ चैतमा भएको पहिलो संविधानसभा निर्वाचनमा कम्युनिस्टहरूले भारी मत पाए । ६ सय चार सदस्यीय संविधानसभामा पाँच सय ७५ सिटका लागि भएको चुनावमा कम्युनिस्ट पार्टीहरूले तीन सय ५२ सिट जिते ।
जसमध्ये माओवादीले दुई सय २०, एमालेले एक सय तीन र साना कम्युनिस्ट पार्टीहरूले २९ सिट जिते । नेपालका दोस्रोपटक कम्युनिस्ट सरकार बन्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । पहिलो संविधानसभामा २६ सिट मनोनीत गर्ने व्यवस्था थियो । यो सरकार पनि पहिलो कम्युनिस्ट सरकारजस्तै नौ महिनामात्र टिक्यो । प्रधानसेनापति हटाउने सरकारले गरेको निर्णय तत्कालीन राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिए ।
पहिलो संविधानसभाबाट संविधान नबनेपछि दोस्रो संविधानसभाको चुनावका लागि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्यो । दोस्रो संविधानसभा चुनाव २०७० मा भयो । कम्युनिस्ट मत यो चुनावमा कम भयो । पाँच सय ७५ सिटकै लागि भएको चुनावमा कम्युनिस्टहरूले दुई सय ७५ सिट जिते  । एमाले एक सय ७५, माओवादीले ८० र अन्य कम्युनिस्ट पार्टीहरूले २० सिट जिते । पहिलो संविधानसभामा पहिलो दल भएको माओवादी ६ वर्षको अवधिमै तेस्रो दलमा खुम्चियो ।
तेस्रो भएको एमाले दोस्रो दल बन्यो । २०७२ साल मंसिरमा संविधान जारी भयो । संविधान जारी भएपछि पुनः सरकारको नेतृत्व कम्युनिस्टले गरे । एमाले माओवादी मिलेर केपी शर्मा ओली प्रधानमन्त्री बने । नौ महिनापछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने मौखिक सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता सहयात्री दल माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो, ओली सरकार ढल्यो ।
प्रचण्डको नेतृत्वमा कांग्रेसको समर्थनमा सरकार बन्यो । दोहोरिएर प्रधानमन्त्री हुने प्रचण्ड पहिलो कम्युनिस्ट नेता बने । २०७४ सालमा भएको पहिलो प्रतिनिधिसधा र प्रदेशसभाको चुनावमा कम्युनिस्ट पुनः झण्डै दुई तिहाइको बहुमत नजिक पुगे । नेपालको संसदीय निर्वाचनमा कम्युनिस्टको ‘कम ब्याक’ भयो । कुल दुई सय ७५ सिटका लागि भएको चुनावमा एमाले र माओवादीले स्पष्ट बहुमत ल्याए । चुनावमा एमालेले एक सय २१ सिट र माओवादी केन्द्रले ५३ सिट गरी कुल एक सय ७४ जितेका थिए । जनमोर्चाले दुई सिट र नेमकिपाले एक सिट जित्यो ।
प्रतिनिधिसभामा विभिन्न कम्युनिस्ट पार्टीका एक सय ७७ जना सांसद थिए । नेकपामा आन्तरिक किचलोले २०७७ साल पाँच पुसमा तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरे । त्यसको विरोध चौतर्फी रुपमा भयो । नेकपा नै अदालतमा गयो । विघटन अदालतले उल्टाइदियो । ओलीले पुनः २०७८ साल ८ जेठको मध्यराति संसद विघटन गरे ।
सात वटा प्रदेशमा नेकपाको ६ वटा प्रदेशमा कम्युनिस्टका सरकार बनेका थिए । २०७९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा जनमतका आधारमा कम्युनिस्टको मत यथावत्‌जस्तै भए पनि विभाजनको असर परेको थियो । एमालेबाट प्रत्यक्ष र समानुपातिक ७९ जना सांसद प्रतिनिधिसभामा पुगे ।
दोस्रो ठूलो कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष र समानुपातिक गरेर ३२ जना सांसद प्रतिनिधिसभामा पुगे । तेस्रो कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादीको प्रत्येक्षबाट १० जना सांसद प्रतिनिधिसमा पुगे । राष्ट्रिय जनमोर्चा र नेमकिपा १–१ जना सांसद प्रतिनिधिसभामा पुगे । अघिल्लो चुनावमा कम्युनिस्ट पार्टीका जम्मा सांसदहरू एक सय २३ जना सांसद प्रतिनिधिसभामा थिए । कम्युनिस्टहरू एकता हुँदा प्रतिनिधिसभामा एक सय ७७ सांसद संसदमा थिए ।
इतिहासमै कम्युनिष्टहरुको लजास्पद हार 

स्मृति : अमेरिकन गोरे दाईको आँशु

इतिहासमै कम्युनिष्टहरुको लजास्पद हार 

काठमाडौं–१ मा एमाले र नेकपासहित २६ उम्मेदवारको

Leave a comment

Your email address will not be published. Required fields are marked *