निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा रास्वपाद्वारा धन्यवाद व्यक्त

काठमाडौँ, २३ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी चुनौतीका बाबजुद शुक्रबारको ऐतिहाँसिक प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
उनले शुक्रबार विज्ञप्ती जारी गरी विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिएका प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकारका सम्पूर्ण निकाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत्, नागरिक समाज, राष्ट्रिय–अन्तरराष्ट्रिय पर्यवेक्षक तथा सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मानसमेत व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास गर्दछौँ ।”





