उत्साह कम उत्सुकता बढीको निर्वाचन कर्णालीमा खस्यो ५५ प्रतिशत भोट

ओम शाही
सुर्खेत, २१ फागुन ।
कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहिबार बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण तबरबाट सम्पन्न भएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक गतिरोधका बीच २०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्ष अगावै सम्पन्न भएको छ । सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरोधमा उठेको जेन–जी समूहको आवाजलाई सरकारले दवाउन खोजेपछि देश मध्यावधिक निर्वाचनमा धकेलिएको थियो ।
उक्त आन्दोलनपछि जेन–जीको भावना अनुरुप प्रतिनिधिसभा विघटन गरेर पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वमा अन्तिरिम सरकार गठन भएको थियो । कार्की नेतृत्वको सरकारलाई ताजा जनादेशसहित प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने म्याण्डेट थियो । आन्दोलनपछि उत्पन्न परिस्थितीमा निर्वाचन हुने वा नहुने अन्यौलताका बीच एकाध ठाउँ बाहेक सम्पूर्ण क्षेत्रमा शान्तिपूर्ण रुपमा चुनाव गराउन सरकार सफल भएको छ ।
निर्वाचन सम्पन्न भएसँगै मतगणनाको कार्य सुरु भएको छ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार प्रदेशभर ५५ दशमलव एक प्रतिशत अर्थात कुल १० लाख ४८ हजार एक ३८ मतदाता मध्ये पाँच लाख ७७ हजार पाँच सय ४२ जनाले भोट हालेका छन् । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार महिला तीन लाख १२ हजार आठ सय ४५ र पुरुष दुई लाख ६४ हजार ६ सय ९५ छन् । प्रदेशभर नौ सय ४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र गरी कुल दुई हजार तीन सय ७८ निर्वाचन बुथ केन्द्रमार्फत मतदान भएको थियो ।
जिल्लागत रूपमा हेर्दा डोल्पामा सबैभन्दा बढी ६५ दशमलव ७३ प्रतिशत मत खसेको छ । यस्तै, हुम्लामा ६४ दशमलव ५५ प्रतिशत, मुगुमा ६० दशमलव ५६ प्रतिशत र रुकुम पश्चिममा ५८ दशमलव ४४ प्रतिशत मत खसेको छ । भने जाजरकोटमा ५६ दशमलव ८४ प्रतिशत, जुम्लामा ५६.८८ प्रतिशत मत खसेको छ ।
त्यस्तै सुर्खेतमा निर्वाचन क्षेत्र १ बाट ५७ दशमलव नौ र निर्वाचन क्षेत्र २ बाट ५७ दशमलव ४६ प्रतिशत मतदान भएको छ । अन्य जिल्लामा भने तुलनात्मक रूपमा कम मतदान भएको देखिएको छ । दैलेख निर्वाचन क्षेत्र १ बाट ५० दशमलव ५२ प्रतिशत र निर्वाचन क्षेत्र २ बाट ४८ दशमलव २४ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै, कालिकोटमा ५० प्रतिशत र सल्यानमा ४४ दशमलव ४० प्रतिशत मत खसेको तथ्यांकमा उल्लेख छ । निर्वाचन कार्यालयका अनुसार सबै स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । दुर्गम जिल्लाहरूमा समेत सुरक्षा व्यवस्था मिलाइएपछि मतदाताले उत्साहका साथ मतदानमा सहभागिता जनाएका थिए । मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन तथा मतगणनाको तयारी सुरु गरिएको प्रदेश निर्वाचन अधिकारी गुरुङले बताए ।
यस पटकको निर्वाचनमा मतदाताहरु कम उत्साह र बढी उत्सुकताका साथ मतदानमा सहभागी भएका छन् । मतदान अवधिभर सुर्खेत–२ का दर्जन बढी मतदान स्थलमा गरिएको स्थलगत रिपोटिङ्गका क्रममा मतपेटिकामा भोट खसालेर फर्किएकाहरु उत्साहितभन्दा पनि भोलि के हुन्छ भन्ने उत्सुकतामा बढी देखिन्थेँ । उनीहरुले विगतमा पनि भोट हालेको सुनाए । तर देशमा विकास भएको तर सुशासन कायम नभएकाले यसपटक पनि ठुलै परिवर्तन हुनेमा मतदाता आश्वस्त देखिएका छैनन् ।
कुन जिल्लामा कति खस्यो मत ?
कर्णाली प्रदेशका कुल मतदातामध्ये पाँच लाख २७ हजार ६ सय ८६ पुरुष, पाँच लाख नौ हजार तीन सय ६१ महिला र अन्य तीन जना थिए । गत २०७९ को निर्वाचनको तुलनामा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएका छन् । तर कुल खसेको मत प्रतिशत भने अघिल्लो निर्वाचन भन्दा कम छ ।
जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ थिए । जसमा सुर्खेत निर्वाचन क्षेत्र १ का कुल मतादाता संख्या एक लाख २२ हजार नौ सय दुई रहेकोमा कुल खसेको मत ७० हजार एक सय ६७ रहेको छ । यस्तै सुर्खेत निर्वाचन क्षेत्र २ का कुल मतादाता एक लाख २७ हजार ६ सय ६८ मा कुल खसेको मत ७३ हजार तीन सय ५६ छ ।
त्यस्तै, दैलेख निर्वाचन क्षेत्र १ का कुल मतादाता ८१ हजार दुई सय ८७ रहेकोमा कुल खसेको मत ४१ हजार ६९ रहेको छ । भने दैलेख निर्वाचन क्षेत्र २ का कुल मतादाता संख्या ८१ हजार पाँच सय तीन रहेकोमा कुल खसेको मत ३९ हजार दुई सय ३१ छ ।
त्यस्तै, डोल्पामा २५ हजार पाँच मतादाता संख्या रहेकोमा कुल खसेको मत १६ हजार चार सय ३७ छ । रुकुम पश्चिममा एक लाख सात हजार सात सय ४८ मतादाता संख्या रहेकोमा कुल खसेको मत ६२ हजार नौ सय ६८ छ । कालिकोटमा ८५ हजार ४४ मतादाता संख्या रहेकोमा कुल खसेको मत ४२ हजार पाँच सय २३ रहेको छ ।
यता जुम्लामा ७२ हजार चार सय ४४ मतादाता संख्या रहेकोमा कुल खसेको मत ४१ हजार दुई सय आठ छ । मुगुमा ३६ हजार ६ सय पाँच मतादाता संख्या रहेकोमा कुल खसेको मत २२ हजार एक सय ६८ छ । सबैभन्दा धेरै प्रतिशत मत खसेको हुम्लामा ३४ हजार आठ सय पाँच मतादाता संख्या रहेकोमा कुल खसेको मत २२ हजार चार सय ६७ छ ।
सुर्खेतमा करिब ५४ प्रतिशत मत खस्यो
सुर्खेतमा करिब ५४ प्रतिशत मत खसेको छ । जिल्लाको क्षेत्र नम्बर १ मा ६५ हजार ३७१ मत खसेकोमा क्षेत्र नम्बर २ मा ७१ हजार ३४५ मत खसेको हो । जिल्लामा दुई लाख ४८ हजार ९४३ मतदाता थिए । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई अस्थायीसहित २ सय ४२ मतदानस्थल छन् भने ३ अस्थायीसहित ३ सय ५ मतदान केन्द्र छन् । मतदान सम्पन्न पछि जिल्लामा मतपेटिका ढुवानीको कार्य चलिरहेको छ । कर्णाली प्रदेशभर अहिलेसम्म करिब ५२ प्रतिशत मत खसेको छ ।
कहिले सुरु हुन्छ कर्णालीमा मतगणना ?
मतदान सम्पन्न भएसँगै कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका मतपेटिका संकलन कार्य सुरु भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएसँगै एकिकृत निर्वाचन सुरक्षा योजना अनुरुप मतपेटिका ढुवानीको कार्य सुरु भएको बताए । कर्णालीका सुगम जिल्लाका मतदानस्थलबाट गएराति नै मतपेटिका जिल्ला सदरमुकाम ढुवानी भइसकेका छन् ।
हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पाका उत्तरी क्षेत्रका मतदान स्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताए । बिहिबार ति क्षेत्रका मतपेटिका एकिकृत गरिएको र शुक्रबार हेलिकप्टरबाट जिल्ला सदरमुकाम ल्याइने उनले बताए । प्रहरीका अनुसार मतपेटिका संकलन भएपश्चात सर्वदलिय बैठकपछि शुक्रबार बिहानबाट मतगणना सुरु हुनेछ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले चार मतदान स्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको बताए । उनले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपश्चात मतगणना सुरु हुने जानकारी दिए । यस्तै, हिमाली जिल्ला डोल्पा र मुगुका मतदान स्थलबाट पनि मतपेटिका ढुवानी गर्न हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
निर्वाचन आयोगले भन्यो ६० प्रतिशत मत खस्यो’
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट आएको प्रारम्भिक सूचनाअनुसार करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
भण्डारीले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य भइरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिने बताए । निर्वाचन आयोगका अनुसार विभिन्न जिल्लाबाट मतपेटिका संकलनको काम जारी रहेको छ ।
मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्धारित प्रक्रियाअनुसार मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ । यस पटकको निर्वाचनमा देशभरका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । आयोगले निर्वाचन प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकाय, कर्मचारी तथा मतदातालाई धन्यवाद पनि दिएको छ ।






