हात्तीको आक्रमणमा एक महिलाको मृत्यु, अर्को घाइते – चिसापानीका बासिन्दाले सुरक्षा माग गरे

बाँके ,२७ असार
बर्दीया। बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बैजनाथ गाउँपालिका–१ चिसापानीको जंगलमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन्।
शुक्रबार बिहान च्याउ खोज्न जंगल गएकी अन्दाजी ४२ वर्षीया पूर्णिमा बुढामाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो। घटना चिसापानी हात्तिसारदेखि करिब २०० मिटर अगाडि डेउरालीतर्फको जंगलमा भएको हो।
बुढासँगै च्याउ खोज्न गएकी ३२ वर्षीया दीपा सारु मगर हात्तीको आक्रमणबाट घाइते भएकी छन्। घटनाबारे जानकारी गराउँदै चिसापानी निवासी एकता शाहले प्राकृतिक वन्यजन्तुको आक्रमणबाट मानव ज्यान जोखिममा पर्न थालेको भन्दै बस्तीको सुरक्षामा चासो दिन आग्रह गर्नुभयो।
स्थानीयवासीहरूले वन क्षेत्रमा पर्ने बस्तीहरूको संरक्षण, चेतनामूलक कार्यक्रम र सुरक्षाका उपाय तत्काल प्रभावकारी बनाउन सरकारसंग माग गरेका छन्। जंगलसँगै जोडिएको बस्तीमा हात्तीको उपस्थितिले निरन्तर त्रास फैलाउने गरेको उनीहरूको भनाइ छ।






