५० शय्याको जिल्ला अस्पतालमा रगतको जोहो गर्न सास्ती

जाजरकोट, १७ असोज ।
जाजरकोट सदरमुकाममा रहेको ५० शय्याको जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने बिरामी तथा आफन्तले रगतको जोहो गर्न निकै सास्ती खेप्नुपरेको छ । आकस्मिक अवस्थामा रगत आवश्यक परे अस्पतालमै सहज रूपमा उपलब्ध हुने व्यवस्था नहुँदा बिरामीका आफन्त स्वयंसेवी रक्तदाता खोज्दै हिँड्नुपर्ने बाध्यता छ ।
विशेषगरी प्रसूति, दुर्घटना, शल्यक्रिया तथा अन्य जटिल अवस्थाका बिरामीलाई तत्काल रगत आवश्यक पर्दा समस्या हुने गरेको छ। रगतको तत्काल व्यवस्था हुन नसके कतिपय बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता समेत आउने गरेको छ ।
जिल्लामा ब्लड बैंक नभएकै कारण बिरामीलाई समस्या परेपछि नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा जाजरकोट र सक्रिय युवाहरूले आपत्कालीन अवस्थामा रक्तदाता खोजेर रगत उपलब्ध गराउँदै आएका छन् । कतिपय अवस्थामा रगतका लागि नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीलाई समेत गुहार्नुपर्ने अवस्था आउने गरेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोटका अध्यक्ष प्रेम वलीले जिल्लामा ब्लड बैंक नहुँदा रगत आवश्यक पर्ने बिरामीलाई तत्काल व्यवस्थापन गर्न कठिन हुने गरेको बताए । उनका अनुसार स्वयंसेवी रक्तदाताले सकेसम्म बिरामीलाई रगत उपलब्ध गराउँदै आए पनि यो दीर्घकालीन समाधान भने होइन । ’हामीले आपत्कालीन अवस्थामा रक्तदाता खोजेर बिरामीलाई रगत उपलब्ध गराउँदै आएका छौं । तर हरेक पटक व्यक्ति–व्यक्तिलाई फोन गरेर रगत खोज्नुपर्ने अवस्था हुनु दुःखद हो,’ अध्यक्ष वलीले भने, ’५० शय्याको जिल्ला अस्पतालमा उपचार सेवा विस्तार हुँदै गएको छ, तर रगतको व्यवस्थापनका लागि अझै पनि स्वयंसेवी र सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ । अब सरकारले जिल्लामै ब्लड बैंक स्थापना गर्न ढिला गर्नु हुँदैन ।’
उनले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले जाजरकोटमा ब्लड बैंक स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । ’रगत चाहिएको बेला पैसा भएर पनि बजारबाट किन्न पाइँदैन । त्यसैले सुरक्षित र व्यवस्थित रक्तसञ्चार सेवा अस्पतालमै हुनु आवश्यक छ,’ उनले भने ।
जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा बिरामीका आफन्तले उपचारसँगै रगतको खोजीमा दौडधुप गर्नुपर्ने अवस्था छ । आकस्मिक अवस्थामा समयमै रगत उपलब्ध नहुँदा बिरामीको उपचार प्रभावित हुने गरेको छ ।
जाजरकोटमा लामो समयदेखि ब्लड बैंक स्थापनाको माग उठ्दै आए पनि हालसम्म ठोस पहल हुन सकेको छैन । जिल्लामा व्यवस्थित ब्लड बैंक स्थापना भए आकस्मिक अवस्थामा रगतको अभाव कम हुनुका साथै बिरामीलाई रगतकै कारण अन्यत्र रिफर गर्नुपर्ने बाध्यता समेत घट्ने अपेक्षा गरिएको छ ।






