जडीबुटी सङ्कलन गर्न गएकाबिच झडप

मुगु, १८असोज ।
मुगुमकार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने वनमा जडीबुटी सङ्कलन गर्न गएका स्थानीयबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मुगुमकार्मारोङ गाउँपालिका–९, पाँपु र छाइलाका १३ जना स्थानीय असोज १० गते कुट्की जडीबुटी सङ्कलनका लागि गाउँबाट सीमाक्षेत्रमा पर्ने वनतर्फ गएका थिए । असोज ११ गते जडीबुटी सङ्कलन गर्ने क्रममा दुई पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाका अनुसार झडपमा मुगुमकार्मारोङ गाउँपालिका–९, पाँपुका २२ वर्षीय गणेशबहादुर बुढाको मृत्यु भएको हो । सोही गाउँका २६ वर्षीय अङ्क रोकाया र ३६ वर्षीय ललितजङ्ग बडुवाल सम्पर्कविहीन छन् । घटनामा सहभागी १३ जनामध्ये बाँकी १० जना सम्पर्कमा आएको प्रहरी नायब उपरीक्षक थपलियाले बताए । बेपत्ता रोकाया र बढुवालको खोजीका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
मृतक बुढाको शव पोस्टमार्टम सम्पन्न गरी आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । मुगुमकार्मारोङ गाउँपालिका–५ का समाजसेवी गुरु स्याङग्यप लामाका अनुसार गाउँपालिकाका वडा नं. ७, ८ र ९ को उच्च पाटन क्षेत्रमा कुट्की र जटामसीलगायतका बहुमूल्य जडीबुटी पाइन्छ । उक्त पाटन क्षेत्र हुम्लाको चंखेली गाउँपालिकाको मिमी वनक्षेत्रसँग जोडिएको छ । जडीबुटी सङ्कलन गर्ने वनक्षेत्रको सीमा र उपयोगका विषयमा स्थानीयबिच विवाद रहँदै आएको लामाले बताए ।
“बेपत्ता दुई जनाको खोजी तीव्र बनाउन जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको छ,” लामाले भने । जिल्ला प्रशासन कार्यालय मुगुका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार घटनामा दुई पक्षबिच झडप हुनुको कारण र सीमाक्षेत्रमा जडीबुटी सङ्कलनसम्बन्धी विवादबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।






