रारा तालको पर्यटनले स्थानीयलाई रोजगारी, काठण्माडाै-रारा सिधा पर्यटन बस सञ्चालन हुँदै
सुर्खेत, २७ बैशाख ।
मुगुको छायाँनाथ रारा नगरपालिका–९, का २४ वर्षीय जीवनन्द रोकाया दैनिक जसो रारा ताल क्षेत्रमा भेटिन्छन् । जीवन्दले १२ कक्षा उत्तीर्ण भएपछि उनी दैलेखमा कृषि जेटिए अध्ययन गरिरहेका छन् । तर आजभोली उनी रारा ताल घुम्न आउने पर्यटकलाई घुमाउनमा व्यस्त छन् ।
हरेक वर्ष यो समयलाई रारा घुम्ने उपयूक्त सिजनका रुपमा लिइन्छ । यही कारण जीवनन्द बिदामा पर्यटकलाई घोडामा बसाएर रारा घुमाउनमा व्यस्त देखिन्छन् । हरेक सिजनमा घोडा चलाउने गरेका गरेका जीवन लोक सेवा तयारी समेत गरिरहेको बताउँछन् ।
घरको काम पनि हुने र आम्दानी पनि हुने भएकाले सिजनमा घोडा चलाउने काम गर्ने गरेको उनी बताउछन् । आन्तरिक पर्यटकको आगमन राम्रो हुँदै गएकोले पनि रारामा उनले राम्रो सम्भावना देखेका छन् । यस्तै सोही गाउँकै २३ वर्षीय अर्जुन रावल पनि घोडा चलाउदै आएका छन् ।
साढे चार वर्षदेखि राराको परिपरी घोडा चलाउँदै आएका रावललाई आफू कमाइकै लागि विदेश नगएको प्रति पछुतो छैन । यो सिजनमा उनको दैनिक २५ सय देखि ती हजारसम्म कमाइ गर्छ । छायाँनाथ–७, घुइराकी संगीता रावलसँग दई घोडा छन् । श्रीमान् श्रीमती भएर घोडा चलाउँदै आएका छन् उनीहरू । संगीता र उनका श्रीमान् भीमप्रसाद रावलले रारामा गरेको घोडा चलाउने कामले घर खर्च मात्रै चलेको छैन आर्थिक अवस्था पनि सुध्रँदै गएको छ ।
सल्लेरीदेखि रारा, रारादेखि मुर्म टफ आउने जाने, रारादेखि ताल्चा विमानस्थल, रारादेखि मसाने खत्याड, रारादेखि भाजघट्ट सम्म दुई सय ५० घोडा यो समयमा व्यस्त बनेका छन् । राराको लागि यो समय सिजन नै हो । जेठको १५/२० गतेसम्म आन्तरिक तथा बाह्य पर्यटक राराको सुन्दरता हेर्न आउने ताल्चा विमानस्थल नजिक होटल व्यवसाय गर्दै आएका स्थानीय रवि रावलले बताए ।
राराको परिपरी होटल र होमस्टे करिब ३५ जति छन् । पर्यटकलाई आउन जान सहज भएपछि आन्तरिक पर्यटकहरूको वृद्धि भएको भिजिट कर्णाली ट्राभल प्रालिका प्रबन्ध निर्देशक राजु कार्कीले जनाए । रारामा वैशाखको सुरुवातदेखि नै हवाई मार्गहुँदै घोड सवारी गरी रारा अवलोकन गर्ने बढिरहेका छन् ।
होलिडेटीप नेपाल ट्राभल एण्ड टुरको व्यवस्थापनमा राराको सर्भिस पार्टनर भिजिट कर्णाली ट्राभल प्रालि अहिले रारा घुम्न आउने पाहुनाको लागि प्याकेजमै व्यवस्थापनको काम गरिरहेको छ । यसले पर्यटन बोर्डले लिएको लक्ष्य उपलब्धिका लागि सघाउ पुगिरहेको भिजिट कर्णाली ट्राभल प्रालिका प्रबन्ध निर्देशक कार्कीले बताए ।
काठमाण्डौं–रारा पर्यटन बस सञ्चालन हुने
संघीय राजधानी काठमाडौंदेखि रारा तालसम्म सिधा यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन थालिएको छ । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा स्वर्गकी अप्सराको उपमा पाएको रारा ताललाई संघीय राजधानीसँग जोड्न अभियान थालिएको हो ।
बिहिबार सम्भाव्यता अध्ययनका लागि राराको विशेष भ्रमणमा निस्किएको टोली शुक्रबार प्रदेश राजधानी सुर्खेत आइपुगेको छ । नेपालको पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरु स्थलमार्ग हुँदै रारा पुग्ने र सडकको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न उक्त भ्रमण टोली बुधबार काठमाण्डौंबाट रारातर्फ लागेको थियो । भ्रमण टोलीलाई शुक्रबार वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।
उक्त टोलीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन प्रवद्र्धन समितिले स्वागत गरेको हो । स्वागतपछि आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले रारालाई काठमाण्डौंसँग जोड्ने अभियानको सफल सुरुआत नेपाल पर्यटन बोर्डले देखाएको सद्भावको परिणाम भएको बताए ।
‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज रहेको हामीले पाएका छौं । रारालाई काठमाण्डौंसँग जोड्ने यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाहरुको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रुपमा अघि बढ्नेछौं,’ उनले भने । उनले सडकमार्फत रारा यात्रा पूर्णरुपमा सम्भव रहेको बताउँदै थप अध्ययन गर्न भ्रमणमा निस्किएको बताए ।
‘यही सिजनमा हामीले काठमाडौंबाट बस यात्रा गराएर रारा पु¥याउन सक्यौं र यसका लागि थप प्याकेजहरु बनाउन सक्यौं भने रारामा पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ । काठमाडौंदेखि रारासम्म प्रथम पर्यटक बस यात्रा भएकाले यो ऐतिहासिक हुने हामीले ठानेका छौं, जुन कर्णालीका लागि मात्रै होइन, सिङ्गो राष्ट्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ’, अध्यक्ष न्यौपानेले भने ।
भ्रमण टोलीलाई स्वागत गर्दै कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले काठमाडौंलाई रारासँग जोड्ने अभियान निकै महत्वपूर्ण भएको बताए । पर्यटकहरुलाई काठमाडौंबाट कर्णालीको प्रमुख पर्यटीकय स्थल रारासम्म सडक यातायातमार्फत पुग्न सकिने सन्देश प्रवाह गर्नेगरी थालिएको प्रयासले सार्थकता पाउने विश्वास लिएको सचिव कोइरालाले बताए ।
भ्रमणका माध्ययमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रारा ताल टाढा छैन भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा पनि यसले महत्वपूर्ण योगदान दिने बताए । यसले कर्णालीलाई सुगम गन्तव्यका रूपमा चिनाउन सघाउ पुग्ने उनले बताए । भ्रमण टोलीमा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी छ ।