विचार, निष्ठा र निरन्तरताका मानक– एमाले नेता सूर्य ढकाल पुनः केन्द्रीय सदस्यका दाबेदार

बाँके ,२३ मंसिर ।
अध्ययनशील, वैचारिक र सक्रिय नेतृत्वको पहिचान बनाइसकेका सूर्य ढकाल नेपाली बाम–राजनीतिमा इमानदारी, निरन्तरता र संगठनप्रतिको उच्च जिम्मेवारीका प्रतीक रूपमा स्थापित भइसकेका छन्। राजनीति ज्ञान, अध्ययन र दर्शनको जगमा मजबुत भएर मात्र सही दिशामा अघि बढ्न सकिन्छ भन्ने मान्यता बोकेका ढकाल विद्यार्थी जीवनदेखि नै संगठित, सिद्धान्तपरक तथा जनमुखी अभियानमा अबिरल रूपमा सक्रिय रहँदै आएका छन् ।

ढकालको राजनीतिक यात्रा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यतादेखि सुरु भई जिल्ला र अञ्चल नेतृत्व हुँदै भेरी अञ्चल इन्चार्जको भूमिकासम्म पुगेको छ। पछिल्ला वर्षमा उहाँ राष्ट्रिय युवा सङ्घ नेपालको नेतृत्व गर्दै अञ्चल समिति, केन्द्रीय प्रचार विभाग, केन्द्रीय सचिवालय हुँदै उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै युवा राजनीतिलाई नवीन ऊर्जा दिने व्यक्तित्वका रूपमा उदाएका थिए। यही नेतृत्व क्षमताको निरन्तरतामा उनले नेकपा (एमाले)भित्र वडा स्तरको जिम्मेवारीदेखि लिएर जिल्ला कमिटी सदस्य, क्षेत्रीय संयोजक, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिवालय सदस्य हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी बहन गरेका छन्। हरेक भूमिकामा उहाँले नीति, सिद्धान्त र संगठनलाई जनस्तरसम्म पु–याउन प्रत्यक्ष पहल गर्दै उच्च जनविश्वास आर्जन गर्न सफल भएका छन् ।

वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनले ढकालप्रति जनताको भरोसा झनै प्रस्ट तुल्यायो। बाँके क्षेत्र नं. १ मा गठबन्धनका बहालवाला मन्त्रीलाई कडा प्रतिस्पर्धामा पराजित गर्दै करिब २८ हजारको प्रारम्भिक मतान्तर उल्ट्याई ५ हजार ५०० मतान्तरसहित विजय हासिल गरिएको उपलब्धि उहाँको लोकप्रियता र प्रभावकारी जनसंगठन क्षमताको उत्कृष्ट प्रमाण बन्यो। प्रतिनिधिसभा सदस्यका रूपमा उहाँले जनताप्रतिको दायित्व र पार्टीप्रतिको प्रतिबद्धता यथावत् राख्दै उदार, विधिसम्मत र संस्थागत राजनीतिलाई आत्मसात् गर्दै आएका छन्।

पार्टीभित्रका उतारचढावमा सधैं संस्थापन पक्षसँग उभिँदै नेतृत्व र नीतिको बचाउमा खरो भूमिका खेल्ने ढकालको विशिष्टता आज पनि उनको पहिचानको आधार बनेको छ। राजनीति निरन्तरता हो, जिम्मेवारी हो, समर्पण हो—र त्यसलाई खेलौना बनाउन नहुने अडान उनले निरन्तर दोहोर्याउँदै आएका छन्।

यही विश्वास, संगठनप्रतिको निष्ठा र दीर्घ राजनीतिक अनुभवका साथ सूर्य ढकालले नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीलाई अझ एकताबद्ध, अनुशासित र सुदृढ बनाउने उद्देश्यका साथ प्रस्तुत यो उम्मेदवारीप्रति १६५ निर्वाचन क्षेत्रका प्रतिनिधिहरू, विभिन्न विभाग, जनवर्गीय संगठन तथा प्रवासबाट सहभागी सबै प्रतिनिधिहरूले समर्थन र विश्वासको मत दिई ढकाललाई पुनः विजयी गराइदिन अपिल गरिएको छ।








