रारा तालको मुर्माटपमा मोनोरेलसहितको रिसोर्ट बन्दै

‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुको रारा तालको मुर्माटपमा मोनोरेलसहितको ‘रारा रिसोर्ट’ बन्न लागेको छ । यही माघ ३० गतेबाट रारा तालको मुर्माटपमा मोनोरेल, हेलिप्याडसहितको रारा रिसोर्टको निर्माणको काम अघि बढेको छ । गत बैशाखमा भएको लगानी सम्मेलनमा मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको थियो ।

मुगुको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा डेढ अर्ब लागतमा रारामा हेलिप्याडसहितको लक्जरी रिसोर्ट निर्माण हुन लागेको हो । गत बैशाख महिनामा आयोजित लगानी सम्मेलनमा भएको सम्झौताअनुसार रिसोर्टको बन्न लागेको हो । यो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपको लगानी छ । रिसोर्ट निर्माणका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस् प्रालिका अध्यक्ष अभिषेकविक्रम शाहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

दुई वर्षभित्र निर्माण पूरा गरेर सञ्चालनमा ल्याउने योजनासहित रिसोर्ट निर्माण सुरु गर्न लागिएको रारा होल्डिङ्सका अध्यक्ष अभिषेकविक्रम शाहले बताए । ‘रारा तालबाट मुर्माटपसम्म दुई किलोमिटर दुरीमा रिसोर्टले मोनोरेलसहितको सेवा दिने योजनाको डिजाइन छ,’ उनले भने, ‘यो रिसोर्ट रारा क्षेत्रकै पहिलो पाँचतारे स्तरको लक्जरियस रिसोर्ट हुनेछ ।’

रारा भ्रमणमा घुम्न आउने पर्यटक लक्षित गरेर खोल्न लागिएको रिसोर्ट विशेष किसिमको बसोबास तथा खानपिनसहितको होटलको अभाव टार्न रिसोर्ट खोल्न लागिएको अध्यक्ष शाहले जानकारी दिए । ‘रारा घुम आउने पर्यटकका लागि लक्जियर्स रिसोर्टको अभाव रहेको छ,’ उनले भने, ‘त्यही अभावलाई सम्बोधन गर्ने उद्देश्यले रारा रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो ।’

रारा तालमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणका लागि रारा रिसोर्टले विशेष विकल्प दिने र पर्यटकलाई धार्मिक, साहसिक, आध्यात्मिक गतिविधि अन्तर्गतको सेवा दिने उद्देश्य रहेकाले रिसोर्ट त्यही अनुसारको डिजाइनमा निर्माण गरिनेछ । राम्रो व्यवस्थापनसहितको लक्जरी, अफोर्डेबल, न्यूनतम बजेटमा पर्यटकलाई सेवा दिई राराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन रिसोर्टको डिजाइन गरिएको शाहले बताए ।

मुगुका प्राचिन बस्तीका आधारमा रिसोर्ट निर्माण हुने
रिसोर्टमा मुगुका प्राचिन बस्तीका संचरना निर्माण गरिनेछन् । रिसोर्टमा हुने भिल्लाहरु मुगुका प्राचीन बस्तीको अवधारणामा तयार गरिने लगानीकर्ताले बताएका छन् । कुल ६० कोठा क्षमता रहने रिसोर्टले पहिलो चरणमा ४० कोठा क्षमतामा सञ्चालनमा ल्याउने योजना रहेको छ ।

डिजाइनअनुसार रिसोर्टमा एक सुइट, चार डिलक्स र बाँकी ३५ वटा स्टाण्डर्ड रुम हुनेछन् । कुल ८० रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टमा पहिलो चरणमा १२ वटा भिल्ला तयार गर्ने योजना छ । रिसोर्टमा एक सय जना क्षमताको रेष्टुरेण्ट, एट्याच बाथरुमसहितका ६० कोठा हुनेछन्, जसमध्ये पहिलो चरणमा ४० वटा कोठा तयार गरिने शाहले बताए ।

त्यस्तै, रेस्टुरेन्ट, मिटिङ हल, साउना स्टिम, जिम हललगायत लक्जरी रिसोर्टमा हुने सम्पूर्ण सुविधा उपलब्ध हुने बताइएको छ । रिसोर्टको बाह्य संरचना र आन्तरिक डिजाइनमा मुगुको मौलिक संस्कृति समावेश गरेको र भविष्यमा विकास हुँदै जाँदा यस प्रकारको संरचना देख्न पाइने सम्भावना रहकोको अध्यक्ष शाहले बताए ।

‘स्थानीयस्तरमा पाइने ढुङ्गा र अन्य बस्तुको प्रयोग गरेर रिसोर्टको संरचना निर्माण गरिनेछ,’ उनले भने, ‘बाहिरी बस्तुको प्रयोग निकै कम मात्रामा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।’ काठमाडौंबाट आउने पर्यटकसँगै नेपाल हुँदै मानसरोवर जाने पर्यटकलाई केन्द्रीत गर्दै रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको छ । यसको सुरुवातले डोल्पा, हुम्ला, जुम्ला लगायत गन्तव्य जोड्न विशेष टेवा पुग्नेछ । रारामा भएको छायाँनाथ मन्दिरमार्फत धार्मिक पर्यटन प्रबद्र्धन गर्ने रिसोर्टको लक्ष्य रहेको छ ।

मष्ठो संस्कृति अनुसारको इन्टेरियर
रिसोर्टको आन्तरिक डिजाइन मष्ठो संस्कृति अनुसार तयार गरिएको छ । इन्टेरियरमा स्थानीय डिजाइन समावेश गरेको माटोले लिपेका भित्ता, काठको रफ स्ट्रक्चरलाई प्रतिबिम्बित गरेर रिसोर्टको निर्माण हुनेछ ।

रिसोर्टको शिलान्यास वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीमार्फत गरिने तयारी रहेको अध्यक्ष शाहले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिने जनाइएको छ ।

रारा क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएका कारण पर्यटकको दुखेसो पोख्दै आएका बेला सिंजा भ्याली, रारा, छायानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि रिसोर्ट निर्माण गर्न लागिएको रारा होल्डिङ्स रिसोर्ट प्रालिका परियोजना प्रबन्धक अरुण चन्दले बताए ।

निर्माण अवधि १८ महिना रहने
रिसोर्टको निर्माण गर्नका लागि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हिन्दु धर्म अनुसार भूमि पुजा गरी निर्माणको शुभारम्भ भइसकेको छ । कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टको पहिलो फेजमा कुल लागत एक अर्ब रुपैंयाँको रहेको छ । दैनिक एकसय जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने रिसोर्टको क्षमता रहनेछ ।

रिसोर्ट चैत्र महिनाबाट पूर्वाधार निर्माणको काम थालनी हुनेछ । रिसोर्ट सञ्चालन आएपछि प्रत्यक्ष एक सय २० जनाले रोजगारी पाउने छन्, भने एक हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षाका साथै भारतीयहरु धार्मिक पर्यटकलाई रारामा भित्र्याउने लक्ष्य राखिएको छ ।

रारा तालको मुर्माटपमा मोनोरेलसहितको रिसोर्ट बन्दै

YUGAAWHAN NATIONAL DAILY (2081-10-26)