युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छाैं: मुख्यमन्त्री आचार्य
दाङ,२४ जेष्ठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ ।
शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले `जेन जि पुस्ता´ लाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन गरेर नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेकाे स्पष्ट पार्नु भएको छ ।
`लुम्बिनी प्रदेशमा स्टार्टअपलाई सुदृढ बनाउनु आजको आवश्यकता हो । युवालाई नवप्रवर्तनमा सक्रिय सहभागी गराउने र स्वरोजगार सिर्जना गर्ने सरकारको लक्ष्य छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`नवीन प्रयासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छ ।´
छलफलका क्रममा नेपाल उद्योग परिसंघले लुम्बिनी प्रदेशमा स्टार्टअप इनक्युबेसन सेन्टर स्थापना गर्न सकिने प्रस्ताव राखेको थियो । यसका लागि आवश्यक सहकार्य तथा नीतिगत सहयोग प्रदेश सरकारबाट आवश्यक पर्ने परिसंघले जनाएको छ ।
परिसंघका अनुसार, एग्रिटेक, पर्यटन तथा डिजिटल सेवा जस्ता क्षेत्रहरूमा स्टार्टअप योजनाहरू कार्यान्वयन गर्न सकिनेछ । यसले युवाहरूको नविन सोचलाई व्यवसायिक रूप दिने, स्थानीय सीप र स्रोतलाई प्रयोगमा ल्याउने र रोजगारीको अवसर सृजना गर्ने अपेक्षा गरिएको छ ।
प्रदेशको नवप्रवर्तन क्षमतालाई व्यवस्थित रूपमा उपयोग गर्न र आर्थिक विकासको नयाँ ढोका खोल्न लुम्बिनीमा स्टार्टअप इनक्युबेसन केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने तयारी छ ।