अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारमा मुटु रोगको जोखिम बढ्दो, ४५ प्रतिशतमा कोलेस्ट्रोल समस्या

बाँके,२१ कार्तिक ।

अस्वस्थ जीवनशैली र अनियमित खानपानका कारण बाँकेका पत्रकारहरू मुटु रोगको जोखिममा परेका छन्। नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क ‘मुटु जाँच शिविर’मा गरिएको परीक्षणले यस्तो तथ्य उजागर गरेको हो।

शिविरमा सहभागी भएका ७७ जना पत्रकारमध्ये करिब ४५ प्रतिशतमा कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. कृष्ण अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार धेरै पत्रकारमा उच्च रक्तचाप र मधुमेह (सुगर) समेतको समस्या देखिएको छ।

“अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो,” डा. अधिकारीले भन्नुभयो, “अब उनीहरूले अनुशासित जीवनशैली अपनाउन र जीवनशैली परिवर्तन गर्न जरुरी छ।”
वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. विकास नेपालले शरीरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक बढेमा रक्तधमनीमा अवरोध भई मुटु सम्बन्धी गम्भीर समस्या—यहाँसम्म कि हृदयाघात—सम्म हुने जोखिम रहने बताउनुभयो। उहाँले बोसोयुक्त खाना, धूम्रपान र मद्यपानबाट टाढा रहँदै नियमित व्यायाम र फाइबरयुक्त खानेकुरा सेवन गर्न सुझाव दिनुभयो।

भेरी अस्पतालकै फिजिसियन डा. विपिन आचार्यले पत्रकारहरूको रिपोर्टमा प्रत्यक्ष मुटु रोग नदेखिए पनि जोखिमका कारणहरू स्पष्ट रूपमा भेटिएको बताउँदै तौल नियन्त्रण, नियमित व्यायाम र स्वस्थ आहार अपनाउन सुझाव दिनुभयो।

प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गर्नुभयो। उहाँले पत्रकारहरू स्वास्थ्यप्रति सचेत हुनुपर्ने सन्देश शिविरले दिएको बताउनुभयो।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले “हरेक नागरिकको मुटु बलियो हुनुपर्छ, पत्रकारको झनै बलियो,” भन्दै नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीको महत्त्व औंल्याउनुभयो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राखेर असल पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारहरूले आम जनतामा पनि मुटु स्वास्थ्यबारे सचेतना फैलाउने दायित्व बहन गर्नुपर्ने बताउनुभयो।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले नसर्ने रोगको प्रभाव घटाउन शिविरले सकारात्मक सन्देश दिएको बताउनुभयो। त्यस्तै, प्रतिष्ठानका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताका छोरा विजय गुप्ताले शिविरले आफ्ना पिताको सम्झनालाई सम्मानित बनाएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गर्नुभएको थियो।

अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारमा मुटु रोगको जोखिम बढ्दो, ४५ प्रतिशतमा कोलेस्ट्रोल समस्या

कानूनले अपराध मान्छ तर रोकिँदैन बालविवाह बालविवाह

अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारमा मुटु रोगको जोखिम बढ्दो, ४५ प्रतिशतमा कोलेस्ट्रोल समस्या

कोहलपुरमा वन्यजन्तुको आतंक : चितुवाको आक्रमण बढ्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *