२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

अनुगमन पश्चात् नेपालगञ्ज कारागारको अवस्था सुधार गरी कैदीबन्दीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । कारागारमा अहिले ३५० कैदीबन्दीको क्षमता रहेकामा ८०० कैदीबन्दी तथा थुनुवा राखिएको छ । यहाँ रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध कारोबार, जबरर्जस्ती करणी, कर्तव्यज्यान मुद्दाका रहेका कारागार प्रशासनले जनाएको छ ।

कारागारका जेलर प्रकाश ढुङ्गानाले महिला कैदीबन्दी गृह नभएकाले बर्दिया कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । जेनजी प्रदर्शनका क्रममा केही कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि गोली चलाउँदा कैलालीका २४ वर्षीय उमेश बमको खुट्टामा गोली लागेर घाइते भएका उल्लेख गर्दै उहाँले बमको अवस्था सामान्य भएपछि पुनः कारागार फर्किएका बताउनुभयो ।

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी बस्नुपर्ने अवस्था भएकाले बसोबास, स्वास्थ्य र सरसफाइमा कठिनाइ देखिएपछि सुधारका लागि आग्रह गरिएको एडभोकेसी फोरमका प्रदेश संयोजक वसन्त गौतमले बताउनुभयो । उहाँले कारागारमा अस्थायी रूपमा एक महिलाबन्दी राखिएको भए पनि बाँकेमा महिला कैदीबन्दीका लागि छुट्टै कारागार भवनको अभाव रहेको उल्लेख गर्नुभयो ।

कारागारमा कैदीबन्दीका लागि पिउने पानी, सरसफाइ र स्वास्थ्य उपचारको सामान्य सुविधा मात्र रहेको पाइएको अनुगमन टोलीले जनाएको छ । स्वच्छ पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था गरिएको छ भने ए ब्लक र बी ब्लकमा गरी ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन् ।

प्राथमिक तहको विद्यालय पनि सञ्चालनमा रहेको सो कारागारमा कक्षा १ देखि ५ कक्षासम्म ९८ जना कैदीबन्दीले अध्ययन गरिरहेका जेलर ढुङ्गानाले जनाकारी दिनुभयो ।

कारागारको प्रशासनिक भवन जीर्ण भएकाले कर्मचारीले असुरक्षित महसुस गर्दै बाहिरबाट काम गर्नुपर्ने अवस्था, अदालतबाट कैदीपुर्जी ढिलो प्राप्त हुने, पुनरावेदन म्याद ढिलाइ हुने, कैदीबन्दीका उजुरी समयमा सम्बोधन नहुनेलगायत समस्या समाधानका लागि कारागार प्रशासनलाई आग्रह गरिएको संयोजक गौतमले बताउनुभयो ।
अनुगमनमा टोलीमा इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्य, उपभोक्ता संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरीलगायत सहभागी हुनुहुन्थ्यो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सिंजामा १ हजार ६४ घरधुरीमा धारा

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

विद्यार्थीको आँखामा नयाँ उज्यालो — कनक मुनि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!