पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप शुभारम्भ

सुर्खेतको वीरेन्द्रनगरमा पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको खोप अभियान शुभारम्भ भएको छ । आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानको बुधबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले शुभारम्भ गरेकी हुन् ।

श्री कृष्ण संस्कृत साधारण माविबाट सुरु भएको अभियान जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन हुनेछ । अभियानको सुभारम्भ गर्दै नगर प्रमुख ढकालले किशोरावस्थामा हुन सक्ने पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने उद्देश्यले खोप अभियान थालिएको बताइन् । ‘यो खोप अन्य नियमित खोप सरह सुरक्षित रहेको छ,’ उनले भनिन्,‘ढुक्क भएर अभियानमा संलग्न हुन आवश्यक रहेको छ ।’

नगरपालिकाले महिलामा हुने विभिन्न प्रकारका क्यान्सरको निशुल्क पहिचानदेखि उपचारमा सहयोग गर्दै आएको नगर प्रमुख ढकालले जानकारी दिइन् ।

अभियान अन्तर्गत सुर्खेतमा २५ हजार पाँच सय १७ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाइने छ । जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने नौ देखि १४ वर्षका किशोरीहरूलाई उक्त खोप लगाउन लागिएको हो । जसमा २४ हजार नौ सय ७५ विद्यालय जाने छात्रा र पाँच सय ५७ जना विद्यालयबाहिर रहेका किशोरी रहेका छन् ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए ।

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप शुभारम्भ

YUGAAWHAN NATIONAL DAILY (2081-10-22)