उपचारको प्रतिक्षामा छन् घाँटी फर्किने अनौठो रोगबाट ग्रसित महेन्द्र

सुर्खेत, १८ भदौं ।
दैलेखमा एक व्यक्ति घाँटी आकाशतर्फ फर्किने अनौठो रोगबाट ग्रसित बनेका छन् । जिल्लाको भगवतीमाई गाउँपालिका १ पगनाथका महेन्द्र बिक नौ बर्षदेखि घाँटी आकाशतर्फ फर्कने अनौठो स्वास्थ्य समस्याबाट ग्रसित छन् । उनको घाँटी निरन्तर आकाशतर्फ फर्किएको छ । यो उनको रहर नभई बाध्ययता हो ।
महेन्द्रको घाँटी नौ वर्षदेखि नियन्त्रणमा छैन । ‘महेन्द्र निहुरिएर अगाडि र तल हेर्न सक्दैनन् । सुत्दा, उठ्दा, हिँड्डुल गर्दा होस् वा खाना खाँदा सास्ती खेपिरहेका छन् । खाना खाँदा, बस्दा, उठ्दा, शौचालय जाँदा अरुकै साहारा चाहिन्छ । चिसोमा पनि गर्मीझैं खलखली पसिना बग्छ,’ महेन्द्र भन्छन् ।
महेन्द्रको स्वास्थ्य समस्याबारे स्थानीय पनि अनौठो मानिरहेका छन् । चिकित्सकहरूले नसा वा मेरुदण्डको समस्या हुनसक्ने तर यसका लागि काठमाडौंको सुविधासम्पन्न अस्पताल पुग्नुपर्ने सुझाव दिइरहेका छन् । तर, उनीसँग त्यहाँसम्म पुगेर उपचार गर्ने सार्मथ्य छैन् । ‘खाना मुखमा हाल्न पनि श्रीमती या छोरीहरू लाग्छन्, शौचालय जानुपर्दा त कति लाज हुन्छ, तर के गरौं ?, उनी पीडा पोख्छन्, ‘चिसो दिनमा घाम नदेखिएपनि शरीरमा पसिनाको धारै बग्छन्, कस्तो रोगले समायो, आफै दंग छु ।’
महेन्द्रका अनुसार घाँटी फर्किने समस्या देखापर्नु अघि खुट्टामा समस्या देखापरेको थियो । ‘२०७३ सालतिर एक्कासी खुट्टामा समस्या देखापर्यो, हिँड्नै मिल्दैन्थ्यो, खोच्याएर हिँड्नुपर्थ्यो,’ उनले भने, ‘खुट्टापछि उनको ढाडमा समस्या देखियो, ढाडमा एक्कासी चस्का हान्यो, केही समयपछि घाँटी पछाडि फर्किने समस्या आइपर्यो ।’ आफूलाई देखापरेको स्वास्थ्य समस्याको उपचार गर्न भारतको लखनउसम्म पुगेको महेन्द्र बताउँछन् ।
उनले सुरुमा नेपालगञ्जको कौशल्या मेमोरियल हस्पिटलमा उपचार गराएका थिए । ‘सुरुमा नेपालगञ्जको कौशल्या मेमोरियल हस्पिटलमा जाँच गरेको थिएँ, त्यसपछि लखनउ पुगेँ, त्यहाँ पनि जाँच भयो, डाक्टरले थप उपचारका लागि ६०–७० हजार भारतीय रुपैयाँ खर्च लाग्ने भन्नुभो, मसँग पैसा थिएन, निको हुने आश मारेर फर्किएँ,’ उनले भने ।
अति विपन्न परिवारका उनले हालसम्म उपचारमा पाँच लाख रुपैयाँ बढी खर्च गरिसकेको बताएका छन् । परिवारको आर्थिक अवस्था नाजुक हुँदा उनले थप उपचार गर्न नसकी घरमै थलिएका छन् । बिहान साँझको छाक टार्न र छोरीहरू पढाउन हम्मेहम्मे परिरहेको उनले सुनाए । ‘घर खर्च जोहो गर्न कमाउने म नै हुँ, आफु यसरी थलिएको छु, उपचार कसरी गरुँ,’ महेन्द्र भन्छन् । आफुसँग भएको र ऋण सापट गरेर उपचारमा पाँच लाख रुपैयाँ खर्च भएको उनको भनाई छ । ‘आफुले सक्ने जति खर्च गरेर उपचार गराएँ, तर निको भएको छैन, अब थप उपचार गर्ने आफुसँग कुनै उपाय छैन्,’ उनले भने ।

उनका श्रीमती र चार छोरी छन् । महेन्द्रको स्वास्थ्य समस्याले राज्य र स्वास्थ्य प्रणालीलाई गिज्याइरहेको छ । घरआँगनमा स्थानीय सरकार भएपनि उनको स्वास्थ्यबारे कसैले चासो दिएका छैनन् । उनी आफै हिँडेर जान सक्दैनन् । तैपनि महेन्द्रले अझै आश मारेका छैनन् । भन्छन् ‘म बाँच्न चाहान्छु, उपचार गराउन चाहान्छु, कमाएर परिवार सम्हाल्न चाहान्छु, तर, अब एक्लो बलमा सक्दिनँ ।’ राज्यले विपन्न नागरिकको उपचारमा आर्थिक सहायता दिन्छ । कडा प्रकृतिका घातक रोगहरुको उपचारमा राज्यले सहायता दिनेभएतापनि महेन्द्रको हकमा भने यी सबै सहायताको ढोका हालसम्म पनि खुल्न सकेको छैन ।






