सम्पादकीय :– कर्णाली राजमार्गमा देखिएको सरकारी लाचारपन

चार दिनदेखि पूर्णरुपमा अवरुद्ध कर्णाली राजमार्ग मंगलबारदेखि आंशिक सञ्चालनमा आएको छ । १४ भदौमा कालीकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामाथीबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । सडकमाथीबाट खसेका ढुङ्गालाई नेपाली सेनाले ब्लाष्ट गरी हटाएपछि सडक सुचारु भएको हो । अझै केही दिन बर्षा हुने सम्भावना रहेकाले पहिरोको जोखिम कायमै छ । सडक अवरुद्ध हुँदा जुम्लाबाट फर्किएका र त्यसतर्फ हिँडेका सयौ यात्रु तीन दिनसम्म बाटोमै अलपत्र परेका थिए भने, झण्डै १३ करोड बढी मूल्यका स्याउ बोकेका ट्रकहरु गगने खोलामा रोकिएका थिए ।
गगने खोलामा मात्र होइन कर्णाली राजमार्गमा पहिरोका कारण हप्तौसम्म यात्रु सडकमै अलपत्र पर्ने अवस्था यो पहिलो पटक भने होइन । ६० को दशकमा निर्माण गरिएको सडकको स्तरोन्तीमा राज्यले ध्यान नदिदा नागरिकले दिनमा दुई गुणा रातमा चार गुणा दुख पाइरहेका छन् । नागरिकले मात्रै होइन जुम्लामा फल्ने स्याउलेसमेत दुख पाइरहेको छ । नागरिकलाई कर्णाली राजमार्गमा आउने पहिरोभन्दा पनि राज्यका निकायको काम गर्ने तवरतरिकाबाट दिक्क बनाइरहेको छ । राज्यले कर्णालीका जनता मेरेपनि मरुनको व्यवहार गरिहेको छ । किन भने ६० को दशकमा निर्माण भएको सडकमा यात्रा गर्दा नागरिकका समस्या ज्यूँका त्यू छन् । न गतिलो सडक पूर्वाधार छ ।
त्यसैमा सामान्य पानी पर्दा पनि पहिरो खसिहाल्ने भूगोलका कारण नागरिकहरु भगवान भरोसामा कर्णाली राजमार्गको यात्रा गर्न बाध्य बनिरहेका छन् । बर्षेनी कर्णाली राजमार्गमा पहिरोका कारण नागरिकको बिचल्ली हुँदा सरकारका निकायहरु भने रमिते बनेर बस्ने गरेका छन् । अघिपछि आँखा चिम्लेर बस्ने, पहिरो गएपछि जुर्मुराउने राज्यका निकायका कारण कर्णालीबासी आजित बनेर बसेका छन् । गत वर्षपनि विस्फोटक सामाग्री प्राप्त हुन समय लाग्दा झण्डै १० दिनसम्म गगने खोलामा सडक अवरुद्ध बनेको थियो । जसका कारण यात्रुले सास्ती त खेपेका थिए नै, करोडौंको स्याउमा क्षति पुगेको थियो । कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा बर्षेनी पहिरो गइरहनुको मुख्य कारण यो सडकमाथी खनिएको सहायक सडक हो ।
बिना अध्ययन शुभकालिका गाउँपालिकाको केन्द्र जोड्न निर्माण गरिएको ग्रामीण सडकबाट बर्षेनी ढुंगासहित आउने पहिरोले सडकनै बगाइदिने गरेको छ । उक्त स्थानमा पहिरो नियन्त्रणका लागि दीर्घकालिन उपाय अपनाउन सकिन्छ । तर, सोभन्दा पहिलो गगने खोलामा पुल नबनाई सडक अवरुद्ध हुन नरोकिने प्राविधिकहरु बताउँछन । उक्त स्थानमा टेवा पर्खाल, बायोइन्जिनियरिङ्ग लगायतका प्रविधिबाट पहिरो रोक्न सकिने भएपनि यो प्रविधिले काम गर्न समय लाग्छ । प्राविधिकहरुका अनुसार तत्कालका लागि सो स्थानमा पक्की पुल बनाएर समस्या हल हुन्छ ।
तर, गगने खोलामा पुल बनाउन सडक डिभिजन कार्यालय जुम्लासँग एक रुपैयाँ पनि बजेट छैन । कर्णाली राजमार्गले प्रदेश मुकाम सुर्खेतसँग साविक कर्णाली र सुदुरपश्चिम प्रदेशका केही जिल्लाहरुलाई जोड्दछ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालीकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा जोड्ने प्रमुख मार्ग समेत यहीँ हो । योसँगै उत्तरी छिमेकी देश चीनसँगको हिल्सा नाका जोड्ने कर्णाली कोरिडोर पनि यहीँ राजमार्गबाट सुरु हुन्छ । यो राजमार्ग कर्णाली विकासको मेरुदण्ड भएतापनि राजमार्ग सञ्चालनमा आएयता सानादेखि भयानक दुर्घटनाहरू भएका छन् । दुर्घटनाको क्रम अहिले पनि रोकिएको छैन् । तर, पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यानै पुर्याउन सकेको छैन ।
टालटुलका लागि फाट्ट–फुट्ट बजेट आउने गरे पनि समर्ग राजमार्गको स्तरोन्तीका लागि पर्याप्त बजेट नआउँदा सडक दुर्घटनाले दिनप्रतिदिन प्रसय पाइरहेका छन् । नेताहरुका भाषणमा कर्णाली राजमार्ग खुबै प्राथमिकतामा पर्छ । तर, बजेटको अंक भने निकै सानो हुने गरेको छ । विकासको आँखाले तलबाट माथि हेरिनु पर्ने हो, तर काठमाण्डौंबाट कर्णाली हर्ने दृष्टिकोणमा परिवर्तन हुन अझै सकेको छैन । यहाँका नागरिकलाई योभन्दा बिडम्बना अरु के हुन सक्छ ?






