राप्ती नदी सिधनिया घाट पुल निर्माण तीव्र, २९ प्रतिशत काम सम्पन्न


सरला सुवेदी ।
बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा निर्माण भइरहेको ७०० मिटर लामो पुलले राप्ति सोनारी र नरैनापुरका जनताको दशकौँ पुरानो सपना पुरा हुने भएको छ । हुलाकी सडक योजना कार्यालय नेपालगञ्जको आयोजनामा सुरु भएको यस परियोजनाले स्थानीय जनजीवनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माण सम्पन्न भएपछि राप्ति पारिका बासिन्दा सजिलै नेपालगञ्जसँग जोडिनेछन्, जसले व्यापार, शिक्षा, स्वास्थ्य, र अन्य सेवामा सहजता ल्याउनेछ ।

निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको भए पनि राज्यको समयमा भुक्तानी दिन नसक्ने समस्याले निर्माणमा अवरोध आउन सक्ने देखिएको छ । ठेकेदार कम्पनी लुम्बिनी रौताहा बन्धन भगवती जेभीका इन्जिनियर राजेश पटेलका अनुसार गत वर्षका १५ करोड रुपैयाँ भुक्तानी गर्न नसक्दा यो वर्ष ९ करोड बराबरको दुईवटा स्पानको काम सम्पन्न भए पनि आगामी कामका लागि चुनौती थपिएको छ ।

हालसम्म २९% कार्य सम्पन्न भएको यस परियोजनामा १४ मध्ये १२ वटा फाउन्डेसन निर्माण भइसकेका छन् । बाँकी रहेका दुई फाउन्डेसन भने नदीको बीचभाग र किनारामा निर्माण गरिनुपर्नेछ। यदि राज्यले तत्काल भुक्तानी समस्या समाधान गर्यो भने निर्माण कार्य सम्झौताको ६ महिना अगाडि नै सम्पन्न हुने ठेकेदार कम्पनीको दाबी छ ।

भ्याटसहित १ अर्ब १९ करोड लागतमा निर्माण भइरहेको यो पुल ११ मिटर चौडा र १.७५ मिटर चौडा फुटपाथसहितको हुनेछ । पुल निर्माण सम्पन्न भएपछि राप्ति पारीका बासिन्दाले नेपालगञ्जसम्म सजिलै यात्रा गर्न सक्नेछन्, जसले स्थानीय व्यापार र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।
तर, सरकारको समयमै ध्यान नपुग्ने हो भने निर्माण व्यवसायीहरू थप मर्कामा पर्ने र काम रोकिने सम्भावना रहेको हुलाकी सडक योजना कार्यालयका प्रमुख लिला बहादुर भण्डारीले बताए । निर्माण कार्यले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसतर्फ सरकारको ध्यान केन्द्रित गराउन आवश्यक छ ।

स्थानीय बासिन्दा भने पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको देखेर उत्साहित छन् । “यो पुल बनेपछि हाम्रो जीवन सहज हुनेछ । शिक्षा, स्वास्थ्य र व्यापारका लागि नेपालगञ्ज पुग्न समय र पैसा दुवै बचत हुनेछ,” स्थानीय दिनेश मौर्यले बताए ।

यो पुलले बाँकेको पूर्व र पश्चिम जोड्ने मात्र होइन, स्थानीय विकास र समृद्धिको आधारशीला समेत राख्ने विश्वास गरिएको छ । तसर्थ सरकारले तत्काल उनिहरुको माग सम्बोधन गर्न नसके निर्माण कार्यहरुमा निकै असर पर्ने देखिन्छ र निर्माण व्यवसायिहरु निकै मर्कामा पर्ने देखिन्छ्न ।
यो पुलले बाँकेको पूर्व र पश्चिम जोड्ने मात्र होइन, स्थानीय विकास र समृद्धिको आधारशीला समेत राख्ने विश्वास गरिएको छ ।

राप्ती नदी सिधनिया घाट पुल निर्माण तीव्र, २९ प्रतिशत काम सम्पन्न

निजामतीमा सेवा प्रवेशको अधिकतम उमेर ३२ वर्ष

राप्ती नदी सिधनिया घाट पुल निर्माण तीव्र, २९ प्रतिशत काम सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2081-09-20)