एक साताभित्र काम अघि नबढे कानूनी प्रक्रिया थाल्ने चेतावनी


कर्णाली प्रदेश सरकारले संघीय सांसद दिक्पालकुमार शाहीको निर्माण कम्पनी अनक जयदेवीले जिम्मा लिएर अलपत्र पारेका सुर्खेत पश्चिमका दुई रणनैतिक महत्वका सडक आयोजना एक साता भित्र अघि नबढे कानुनी प्रक्रिया थाल्ने चेतावनी दिएको छ ।

सोमबार जिल्लाका प्रमुख राजनीतिक दल, जिल्ला समन्वय समितिका प्रमुख, पश्चिम सुर्खेतका नागरिक अगुवा, निर्माण व्यवसायी र मुख्यमन्त्री यामलाल कँडेल बिच भएको छलफलमा यथासिंघ्र फिल्डस्तरमा काम अगाडि बढाउने सहमती भएको छ । उक्त सयममा निर्माण व्यवसायीले गुणस्तरिय काम सम्पन्न गर्ने आधारसहित काम अगाडि नबढाए कालो सूचिका लागि कानूनि प्रक्रिया थाल्ने प्रदेश सरकारको चेतावनी छ ।

कर्णाली प्रदेश सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ को बड्डिचौरदेखि खम्बागाडे खण्डको १३ किलोमिटर र कुइने–जामु–बाबियाचौरसम्मको झण्डै ८ किलोमिटर सडकमा एक साताभित्र काम थाल्न निर्देशन दिएको हो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बावियाचौरदेखि कुईनेसम्म झण्डै ८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै सांसद शाहीको अनक जयदेवी सनलाइट जेभीसँग निर्माण सम्झौता गरेको थियो । झण्डै २५ करोड लागतमा निर्माण थालिएको सडक ठेकेदारको लापरवाहीले सन्तोषजनक प्रगति हुन सकेको छैन ।

आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का सम्झौता भई सार्वजनिक खरिद नियमावली, २०६४ (तेह्रौ संशोधन) को नियम १२० (क) बमोजिम ११ जेठ २०८१ मा सम्पन्न भइसक्नुपर्ने कुइने–जामु–बाबियाचौरसम्मको ८ किलोमिटर सडक शाहीको कम्पनीले अलपत्र पारेको छ । यो सडक कर्णालीलाई सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशसँग जोड्ने छाटो मार्ग हो ।

उक्त सडकमा थप भएको समय पनि समाप्त भएपछि अन्तिम पटक जरिवाना लगाई फागुन मसान्तसम्म सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई सात दिनभित्र काम थाल्न निर्देशन दिइएको पूर्वाधार निर्देशनालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रजंग शाहीले बताए । साथ दिनभित्र सडक निर्माणको काम नथाले कालो सूचिका लागि कानूनी प्रक्रिया अघि बढ्ने उनले बताए ।

पूर्व निर्धारित क्षतिपूर्ति लिने तथा सार्वजनिक निकाय वा आयोजनालाई थप आर्थिक व्ययभार नपर्ने गरी सम्झौता बमोजिमको काम फागुन मसान्तभित्र सम्पन्न गरी भूक्तानी तथा फरफारक लिन सात दिनभित्र साइटमा आवश्यक कामदार तथा अन्य स्रोतसाधनहरु परिचालन गरी कार्य सम्पन्न गर्न अन्तिम अवसर दिइएको सूचना अधिकारी शाहीले बताए । तर, तोकिएको अवधिभित्र पनि कार्यस्थलमा आवश्यक कामदार तथा अन्य स्रोत साधन परिचालन नगरेको वा निर्माणकार्यमा तीव्रता नआएमा, खरिद सम्झौता बमोजिमको गुणस्तरीय काम समयमै सम्पन्न नभएको वा हुन नसक्ने अवस्था रहेमा कानुन बमोजिम ठेक्का रद्द गरी कालो सूचीमा राख्ने गरी प्रक्रिया अगाडि बढाउन लागिएको शाहीले बताए ।

बड्डिचौर–खम्बागाडे सडकमा काम थाल्न निर्देशन
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डिचौर–खम्बागाडे खण्डको १३ किलोमिटर सकडको निर्माण कार्य एक साताभित्र सुरु गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । ५ साउन २०७९ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे सडकको पहिलोखण्ड बराहताल गाउँपालिका–५ स्थित बड्डीचौरमा डोजर चलाएर निर्माण व्यवसायी एवं संघीय सांसद दिक्पालकुमार शाहीले स्तरोन्नतिको जिम्मा लिएका थिए ।

राष्ट्रिय प्राथमिकताप्राप्त उक्त खण्डमा पर्ने १३ किलोमिटर सडक २०८१ असार मसान्तसम्म सम्पन गर्ने कार्यादेशसहित सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेले पाएको थियो । दुई वर्षभित्र सक्ने गरी कुल ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ ठेक्कामा अनक जयदेवी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच १४ असार २०७९ मा सम्झौता भई काम अघि बढेको उक्त सडकले हालसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ । रुख कटान र जग्गा भोगाधिकारलाई देखाउँदै आएको निर्माण कम्पनीले पाएको थप एक वर्षमा पाँच महिना बित्दासमेत फिल्डमा काम अघि नबढेपछि प्रदेश सरकार एक्सनमा उत्रिएको हो ।

पूर्वाधार निर्देशनालय र मुख्य निर्माण व्यवसायीका प्रतिनिधि रामप्रसाद न्यौपाने र सहायक निर्माण व्यवसायीका प्रतिनिधि शन्देश शाहीको संयुक्त अनुगमनबाट रुखले मात्रै सम्पूर्ण कार्य अवरोध नगरी निर्माण व्यवसायीको व्यवस्थापन र स्रोत परिचालन नभई लापरवाही भएको प्रदेश सरकारको ठहर छ ।

रुख कटान र जग्गा भोगाधिकारको समस्या भएको क्षेत्र बाहेकको अन्य खण्डमा आवश्यक स्रोत, साधन परिचालन गरी अपेक्षित प्रगति हासिल नगरेको अवस्थामा निर्माण व्यवसायीले क्षतिपुर्तिको मागदाबी गर्ने आधार नदेखिएको जनाइएको छ ।

अलपत्र परेका सडकका लागि आवश्यक स्थानीय निर्माण सामग्रीको व्यवस्थापन, ओसार–पसार लगायतका अन्य स्थानीय समस्या समाधानमा सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले आवश्यक समन्वय र सहजीकरण गरिदिने निर्णय भएको निर्देशनालयका सूचना अधिकारी शाहीले बताए ।
‘कम्पनीले आवश्यक कामदार, अन्य स्रोतसाधनहरु परिचालन गरी कार्यमा तीव्रता दिई कार्य सम्पन्न गर्ने सुनिश्चितता र विश्वसनीय आधार पेश गर्न एक पटकलाई अन्तिम अवसर दिइएको छ,’ उनले भने, ‘तर तोकिएको अवधिभित्र पनि कार्यस्थलमा आवश्यक मात्रामा कामदार तथा अन्य स्रोत–साधनहरु परिचालन नगरेको वा निर्माण कार्यमा तीव्रता नआएमा कार्यालयले प्रचलित कानून बमोजिमको कारवाही प्रक्रिया जुनसुकै बखत अगाडि बढाउँछ ।’

उनका अनुसार बड्डिचौर–खम्बागाडे सडक निर्माण कार्य सहायक कम्पनी (जयदेवी) ले निर्धारित समयमा सम्पन्न गर्ने यथेष्ट आधारहरु नदेखिएकाले अब उपरान्त जेभी कम्पनी मध्येको मुख्य कम्पनी (अनक) ले जिम्मा लिने निर्माण व्यवसायी र प्रदेश सरकार बिच सहमति भएको छ ।

बहुवर्षीय आयोजना जताततै अलपत्र
कर्णाली प्रदेश सरकारले ठेक्कामा लगाएका अधिकांश बहुवर्षीय आयोजना अलपत्र अवस्थामा छन् । ३० प्रतिशत मात्र भौतिक प्रगति भएको डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिब्लागाउँ थरगाउँ काँडातलीसम्मको दोस्रो ठेक्काका काम अलपत्र पर्दै आएको छ । श्रेया जुगल जेभीले उक्त ठेक्का लिएको थियो ।

१६ असार २०७९ मा ठेक्का सम्झौता भएको यो आयोजनाको निर्माणको समायावधी २३ मंसिर २०८१ मा समाप्त भइसकेको छ । जाजरकोटको छेडा–थलह–सानाखोला–जुुनिजाँदे–जुम्ला सडक खण्डको ३० किलोमिटर सडक पनि अलपत्र छ । २५ माघ २०७८ मा निर्माण व्यवसायी अमर सिस्ने जेभीले निर्माणको जिम्मा लिएर सडक अलपत्र पारेको छ ।

नेपाल मेघा सिस्ने जेभीले ४ साउन २०७८ मा पूर्वाधार विकास कार्यालय जाजरकोटसँग सम्झौता भई अघि बढाएको छेडागाड नगरपालिकाको साल्मखोलाको पुल अलपत्र पारेको छ । यो पुलको हालसम्म ३० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । जाजरकोटकै बारेकोट गाउँपालिका–८ साँघुतरा र नलगाड नगरपालिका–५ सिर्केस्थित मोटरेबल पुल नेपाल मेगा सिस्ने जेभीले अलपत्र पारेको छ । २९ साउन २०७८ मा ठेक्का लागेको उक्त पुलको हालसम्म भौतिक प्रगति सून्य छ ।

नारायनम निर्माण सेवा नेपालगन्ज १८ बाँकेले बारेकोट गाउँपालिकाको भैसेडीको पक्की पुल अलपत्र पारेको छ । २३ जेठ २०७९ मा भएको ठेक्काको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ । कल्यानमा पक्की पुल निर्माण गर्ने भन्दै पिएस निर्माण सेवा नौवास्था–८ बाँकेले ३० जेठ २०७९ मा लिएको ठेक्का हालसम्म निर्माण हुन सकेको छैन । उक्त पुलको भौतिक प्रगति ४५ प्रतिशत मात्र रहेको छ ।

कालिकोटको सेरी–पान्तडी–पद्मघाट–जुम्ला सडक पनि अलपत्र छ । खड्काकृष्ण सुपरस्टार जेभीले २ जेठ २०७७ लिएको बहुवर्षीय ठेक्काको काम हालसम्म ४० प्रतिशतमात्र भएको छ । वारातु–सियाला–रेगिंल सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय कालिकोटले निकालेको ठेक्कामा मार्गादेवी निर्माण सेवाले २६ बैशाख २०७८ सम्म २८ प्रतिशतमात्र काम गरेर बीचमै छाडेको छ ।

कालिकोटको पताला–९ को दाम्रीगाड पक्की पुल निर्माण पनि अलपत्र छ । गलवा÷जगदम्बा÷सुपरस्टार जेभीले ३० असार २०७७ लिएको ठेक्का म्याद सकिएपनि हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । जारकोटमा पक्की पुल निर्माण गर्ने भनी १३ असोज २०७७ मा हिराचन÷क्याभान÷सुपरस्टार जेभीले लिएको ठेक्काले २५ प्रतिशत भौतिक प्रगति हासिल गरी अलपत्र अवस्थामा छ ।

त्यस्तै, दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जुनी–जाजरकोट जोड्ने सडकसमेत अलपत्र अवस्थामा छ । यसको ठेक्का बिरुवा सिद्धान्त श्रृङ्गेश्वर जेभीले लिएको थियो । यस्तै दैलखकै सांगेतडा–ब्रिन्दासैनी–चामुण्डा सडक मोतिदान–लाल सुभ–मेन्द्रो जेभीले काम अलपत्र पार्दै आएको छ । कोप्ची–कट्टी–बेस्तडा–रुम–चौराठा–देउली–दैलेख सडकको काम वाइबा÷लामा÷लोपूर्ण जेभीले अलपत्र पार्दै आएको छ । सान्ताडा–मेहलतोली–पातिहाल्ना–जाजरकोट सडकको समेत अवस्थामा उस्तै छ ।

रबट छामघाट खोला पक्कि पुल निर्माणको काम जलजला जय मा स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ । सुर्खेतमा बड्डीचौर–बिउरेनी–बाबियाचौर विद्यापुर सडक अनक÷जयदेवी जेभीले अलपत्र परेको छ । रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुङ्ग रजागृती जेभीले अलपत्र पारेको छ । त्यस्तै, सुर्खेतको मंगलगढी–काँक्रेविहार सडक योजना अमर÷सिस्ने÷मेघा जेभीले अलपत्र पारेको छ ।

कुइने–जामु–बाबियाचौर–भक्तरी–जगलघाट सडक अनक÷जयदेवी÷सनलाइट जेभीले तथा प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक कान्छाराम कन्स्ट्रक्सनले अलपत्र पारेका छन् । तल्लो करेली पक्की पुल निर्माण भेरीगंगा–१३ को पुलगाल्वा निर्माण सेवा काठमाडौंले, घाटगाँउ–गटु–सालम–कोरालाबास–कुल्लीमोर सडक श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी काठमाडौंले अलपत्र पारेका छन् ।

हुम्लाको लालिबगर औलाथली मोटोरेबल पुल सूर्य–एचएम–श्रेया जेभीले लिएर अलपत्र पारेको छ । याँचु बजारदेखि तुमलिक मोटरेबल पुल, खार्पूनाथ गाउँपालिका हुम्ला सडक पुल पुनस् सूर्य–एचएम–श्रेया जेभीले अलपत्र पारेका छन् । जुम्लाको झारज्यूला निधार पक्की पुल गल्वा अमित जेभीले लिएर अलपत्र पारेको छ ।

मुगुको दोमुख तारापानी गमगढी नाक्चे लाग्ने सडक निर्माणको जिम्मेवारी लिएको खानी जगदम्बा मिसन जेभी, झुगला बेलिब्रिज र मोटरेबल पुलको काम कन्काई–कुशेश्वर निसान जेभी, दोमुख पक्की पुलको काम मृत सञ्जिवनी निर्माण सेवाले अलपत्र पारेको छ । रुकुम पश्चिममा चिसापानी–राडी–नदुवा–मुसीकोट सडकको काम पिएस जिएसएचसीले, छेरावगर पक्की पुलको काम सपना सिस्ने खड्का जेभीले अलपत्र पारेका छन् ।

सल्यानको बालुवा–संग्रही–कुपिण्डे–खलङ्गा सडकको काम गलवा÷धुलिखेल जेभीले र बागचौर–पातीहाल्ना बगर खोला पुलको ठेक्का प्राकृतिक निशानभूमि जेभीले लिएर अलपत्र पारेको कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

एक साताभित्र काम अघि नबढे कानूनी प्रक्रिया थाल्ने चेतावनी

सम्पादकीय : मानसिक अपाङ्गतालाई विभेद किन ?

एक साताभित्र काम अघि नबढे कानूनी प्रक्रिया थाल्ने चेतावनी

सम्पादकीय : चेतावनी होइन कारवाही गर