सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं,१६ माघ ।
आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जसको कारणले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
भोलि मंगलबार कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सेताेपाटी





