बुवाको प्रेरणाले ‘शिक्षण’ पेशामा ल्यायो

सिर्जना बुढाथाेकी
सुर्खेत,१६ फागुन ।
भनिन्छ बुवा शिक्षित भए छोराछोरी शिक्षित हुन्छन् अनि जुन घरकी आमा शिक्षित हुन्छिन् त्यो पूरै घर शिक्षित हुन्छ । यो भनाई पक्कै गलत छैन । अनि जब एउटा घर शिक्षित हुन्छ तब पूरै समाज शिक्षित हुन्छ । मान्छे पढेरभन्दा पनि परेर जान्दछ भन्ने कुरा सहि भएता पनि शिक्षाबिनाको जीवन पक्कै सफल छैन ।
हाम्रा समाजका हरेक परिवार शिक्षित भयो भने गाउँ समाज र देश शिक्षित बनाउन सकिन्छ । सायद यहि कारण होला वीरेन्द्रनगर–४ की बाग्मती गुरुङ्ग वर्षौदेखि शिक्षक पेशामा आवद्ध छिन् ।
उनले धेरै पहिलेका बालबालिका र अहिलेका बालबालिकालाई नजिकबाट नियालेर शिक्षण गरिरहेकी छिन् तर ती बालबाबालिकामा युग मात्रै हैन सोच, विचार अनि पढाईको शैली सबै फरक छ । उनै शिक्षिकाको अनुभव बुझ्न हामीले कुराकानी गरेका छौ ।
शिक्षित परिवारमा बितेको बाल्यकालः
मेरो नाम बाग्मती कुमारी गुरुङ्ग, हालको ठेगाना वीरेन्द्रनगर–४ हो । मेरो जन्म वि.सं. २०२५ सालमा वीरेन्द्रनगरको धारापानी भन्ने ठाउँमा भएको हो । मेरो परिवारको म जेठो सन्तान हो, बाँकी बुवा, आमा, दुई वटा भाई मात्रै थियौ । मेरो बुवा जागिरे भएकै कारण हामी भाई बहिनीलाई पढाईमा कत्ति पनि असहजता भएन ।
मेरो बुवा जिल्ला प्रशासन कार्यालयमा सह–लेखापाल हुनुहुन्थ्यो । बुवा पनि जागिरे भएकाले मेरा छोराछोरी राम्रो पढेर जागिर खानुपर्छ भन्ने सोच थियो ।
बुवाको प्रेरणालेनै हामीलाई पढ्नका लागि सहजता अनि माहौल बन्यो । मैले ढोडेखालीकै एक विद्यालयमा कक्षा तीनसम्म पढेको हो । त्यो समयमा मैले पढेको विद्यालयमा तीनसम्म मात्रै पढाई हुन्थ्यो । त्यसपछि अहिले वडा नं. ४ कै भैरब मा.विबाट चारदेखि एस.एल.सी सम्म गरे ।
मैले एस.एल.सी २०४२ सालमा दिएको थिए तर मलाई एक विषय लागेको थियो । त्यो समयमा विषय लाग्यो भने फेरि अर्को वर्षनै दिनुपर्ने हुन्थ्यो, त्यहि कारण मैले २०४३ सालमा राम्रो अंक ल्याएर एस.एल.सी उत्तीर्ण गरेकी थिएँ ।
त्यसपछि मेरो सोचाई पनि पढ्नुपर्छ भन्ने मात्रै भयो र मैले निरन्तर नै पढिरहे । तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पस हाल मध्यपश्चिम विश्वविद्यालयमा मैले आर्टस्मा पढ्न थाले । त्यो समयमा आइ.ए, बी.ए भन्ने गरिन्थ्यो । त्यसरी पढ्दै गएर व्याचलर्स सकें ।
निजामती कर्मचारी हुने चाहनाः
यसरी निरन्तर पढ्दै थिएँ, त्यसपछि मैले विवाह गरे । मैले छिटै विवाह गरेको भने होइन् । म २७ वर्षको उमेरमा २०५२ सालमा बुवाकै सल्लाहमा उहाँलेनै रोजेको केटासंग विहे गरेकी हुँ । मैले आफ्नै समुदायकै केटासंग तर दैलेख जिल्लाको हाल नारायण नगरपालिका–१० मा बस्ने उहाँ (श्रीमान) संग विवाह गरे । यसपछि बल्ल मेरो संघर्षका दिन शुरु भए । मलाई अलि मानसिक तनाव बढ्यो ।
कहिल्यै कोठा भाडामा नबसेकी म श्रीमान्को घर दैलेख, मलाई पढ्नकै लागि सुर्खेत बस्नुपर्ने । मैले तनावकै कारण दुई वर्ष यत्तिकै बसे, पढाई शुरु गरिन तर पहिलाको पेपरको लागि तयारी गरेरै बसे । त्यसपछि मलाई श्रीमान्को साथ र प्रेरणा मिल्यो, यसो गर्नु हुँदैन पढाई चाई गर्नैपर्छ भन्ने साथ पाएपछि फेरि कोठा भाडामा बसेर आफ्नो पढाई र व्यवहार शुरु गरे ।
विवाह भएको बेला मेरो व्याच्लर्सको दुई वटा पेपर बाँकी थियो त्यो कम्प्लिट गरे । मेरो श्रीमान् पनि त्यो समयमा शाखा अधिकृतका रुपमा काम गर्नुहुन्थ्यो । त्यसपछि म विभिन्न संघसस्थासंग पनि जोडिदै गए । यसरी संघर्ष गर्दै जाँदा मैले बाल मन्दिर स्कुलमा पढाउन पनि शुरु गरे ।
विहान क्याम्पस, दिउँसो विद्यालयमा पढाउने अनि साँझ मात्रै कोठामा जान्थे । यसरी गरेको मेरो मेहेनत, संघर्षले जित्यो र म आज लामो समयसम्म शिक्षण पेशामै आवद्ध हुने अवसर पाए ।
स्थायी शिक्षक भएको त्यो समयः
जब आई ए दोस्रो वर्षमा पढ्दै गर्दादेखिनै शिक्षण पेशामा छिरेकी म २०४५ सालमा शिक्षक सेवा आयोगमा परीक्षा दिएन् । अनि मेरो बुवाले रिसाउनु भयो मलाई किन आयोग नदिएको भनेर ।
त्यसको जवाफमा मैले बुवालाई शिक्षण पेशा दुःख हुन्छ म लाग्दिन बरु निजामती कर्मचारीतिर जान्छु भने । बुवाले रिसाएर तैले गर्न खोजेको के हो ? भनेर कराउनुभयो । छोरी मान्छे भएर कर्मचारी हुने होइन। बाहिर जिल्ला धेरै जानुपर्छ, समस्या हुन्छ छोरी मान्छेका लागि घर छोडेर बाहिर हिड्न, बाहिर खटाउँछ अनि समस्या आउँछ भन्नुभयो ।
त्यो भन्दा मास्टर जागिर खाइस् भने एक ठाउँ जहाँ पढाए पनि हुन्छ भनेपछि मैले फेरि तयारी शुरु गरे । किनभने मैले बुवाको केहि कुरा नाई भन्न सक्दैन थिए । त्यसपछि २०४६ सालको आयोगमा मैले नाम निकाले । पढाउँदै पढ्दै गर्ने क्रममा मैले करिब १० वर्ष बालमन्दिर स्कुलमा बिताएँ । त्यसपछि बच्चा पनि जन्मियो मेरो अलि दुःख भयो बच्चाको हेर विचार गर्ने मान्छे नहुँदा ।
त्यसकै कारण घर नजिकैको भैरव मा.विमा मैले ढाई वर्ष काजमा बसेर पढाए । त्यसपछि मैले शिक्षणकै लागि २०५८ साल देखि शुरु गरेको त्रिपुरेश्वर मा.वि मा हालसम्म यहि विद्यालयमा छु। खास मैले प्रा.वि हो नाम निकालेको र पढाउनुपर्ने पनि एक कक्षादेखि ५ सम्म हो तर माथि पढाउने नहुँदा मैले कक्षा १२ सम्म पढाई रहेकी छु। माथिल्लो कक्षामा पढाउने शिक्षकको संख्या कम भएकाले मैले तल्लो कक्षा पढाउने माहौलनै मिल्दैन ।
लाइसेन्स मा.वि भएपनि माथि जान सकिएन किनकी त्यसपछि आयोग पनि खुलेन । वास्तवमा अहिले जुन नीति छ नि दण्डरहित बालमैत्री शिक्षाको यो नीतिले उद्दण्ड स्वभावको विद्यार्थीमा झन महशुरता थपेको महशुस मलाई हुन्छ । एक दुई जना बालबालिकाका कारण पूरै विद्यालयको वातावरणनै खराब भएको अहिलेको शिक्षा छ ।
हामी कठोर अनुशासनमा पढेका भएर पनि होला त्यसको सकारात्मक असरले अहिले पनि हामीलाई सकारात्मक दिशामा हिडाएको छ । हामीमा त्यो अनुशासन, शिक्षकप्रतिको सम्मान र अभिभावकका लागि आदर जुन हामीलाई सिकाइयो त्यो अबका बालबालिकाका लागि सकिदैन ।
अहिलेका बालबालिकामा उच्छश्रृंखलता बढि, अनुशासन कहाँ, कसरी लागू गर्ने भन्ने परिवारबाटै नसिकेको हुन कि या त विद्यालयमै पाएनन् भन्नेनै बुझ्न नसकिएको अवस्था छ । अहिलेको शिक्षाको अवस्था हेर्ने हो भने नेपालको शिक्षाको गुणस्तर दिन प्रति दिन खस्किदो छ भन्दा फरक पर्दैन् ।
वास्तवमा म आफै शिक्षक भएकाले पनी शिक्षकनै आफ् नो पेशा प्रति लगनशील नभएको हो कि भन्ने लाग्छ जुन हुनु अति आवश्यक छ । दिन काम कि मन काम भन्ने जुन नेपाली उखान छ नि हो, दिन काम हैन मन काम हुनुपर्छ । शिक्षकले आफ्नो पेशाप्रति उत्तरदायी हुनै पर्छ । किनकी यहि पेशाबाट हामीले नाम, मान, ज्ञान, सम्मानदेखि जीवन निर्वाहका लागि सहजता पाइरहेको छौ भने यसमा हामीले नजरअन्दाज गर्नै मिल्दैन ।





