विपद् पूर्वतयारी सुदृढ बनाउन नलगाड नगरपालिकालाई २३ लाखभन्दा बढीको राहत सामग्री हस्तान्तरण

दिपेन्द्र शर्मा
जाजरकोट,१२ असार ।
स्थानीय तहको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने तथा आपतकालीन र जलवायुजन्य विपद्का समयमा प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्ने उद्देश्यले जाजरकोटको नलगाड नगरपालिकालाई २३ लाख ६० हजार रुपैयाँभन्दा बढी मूल्यका गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। साथै आगामी दिनमा थप १ लाख ४० हजार रुपैयाँ बराबरका वेयरहाउस प्यालेट उपलब्ध गराइने जनाइएको छ।
युरोपेली संघ (EU) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र (CSRC), सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजना अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका सामग्रीमा २७ वटा पारिवारिक टेन्ट, १४० थान गैर-खाद्य राहत सामग्री सेट, १४० थान मर्यादा किट (डिग्निटी किट) तथा २० थान वेयरहाउस प्यालेट रहेका छन्। परियोजनाका अनुसार प्यालेटहरू आगामी हप्ताहरूमा क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिनेछ।
भूकम्प, बाढी, पहिरो तथा आगलागीजस्ता विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी यी सामग्रीहरू नगरपालिकाको गोदाममा पूर्व-भण्डारण गरिनेछन्। विपद्को उच्च जोखिममा रहेको नलगाड नगरपालिकामा राहत सामग्री स्थानीय स्तरमै उपलब्ध हुँदा प्रभावित परिवारहरूले आवश्यक सहयोग समयमै प्राप्त गर्न सक्ने नगरपालिका प्रमुख डम्बर रावत बताउँछन्।
यो सहयोग ‘क्राइसिस मोडिफायर’ पहल अन्तर्गत प्रदान गरिएको हो। उक्त पहलमार्फत बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा करिब २ करोड ४८ लाख रुपैयाँ बराबरका राहत सामग्री पूर्व-भण्डारण गर्ने कार्य भइरहेको छ। यसमा जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिका सहित सिन्धुपाल्चोक, रसुवा, प्युठान र बझाङका स्थानीय तहहरू समेटिएका छन्।

गैर-खाद्य राहत सामग्री सेटमा आपतकालीन अवस्थामा आवश्यक पर्ने घरायसी सामग्री समावेश छन् भने मर्यादा किटले विशेषगरी महिला तथा किशोरीहरूको व्यक्तिगत सरसफाइ, सुरक्षा र मर्यादा कायम राख्न सहयोग पुर्याउनेछ। त्यस्तै वेयरहाउस प्यालेटले राहत सामग्रीलाई सुरक्षित भण्डारण गर्न र गोदाम व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मद्दत गर्ने जनाइएको छ।
राहत सामग्रीको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न परियोजनाले स्थानीय तहका प्रतिनिधिहरूलाई गोदाम व्यवस्थापन सम्बन्धी तालिम समेत प्रदान गरेको छ। तालिममा अभिलेख व्यवस्थापन, भण्डारण मापदण्ड, सामग्री मर्मत तथा परिचालन प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो।

परियोजनाले राहत सामग्री काठमाडौंबाट नलगाड नगरपालिकाको आपतकालीन गोदामसम्म सुरक्षित रूपमा ढुवानी गर्न समेत सहयोग गरेको जनाएको छ। हस्तान्तरण कार्यक्रममा पिपुल इन नीडका प्रतिनिधि, स्थानीय सरकारका अधिकारी, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य, स्थानीय समुदायका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।





