पुल बनेसँगै जनतामा खुसियाली

कैलाली, १२ असार ।
कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि यहाँका स्थानीयलाई हिँड्डुल गर्न सजिलो भएको छ । सात सय ५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल निर्माण भएपछि यहाँका जनतामा खुसी आएको छ ।
पुल निर्माणका लागि नेपाल सरकारको रु एक अर्ब चार करोड र बाटो तथा नदी नियन्त्रणका लागि थप रु १४ करोड गरी रु एक अर्ब १८ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने स्थानीयलाई पक्की पुल निर्माण भएसँगै दैनिक नदी वारपार गर्दा लाग्ने ढुङ्गाको पैसा तिर्न नपर्ने भएको छ ।
“टीकापुर हाम्रा लागि नजिकको बजार बनेको छ”, गेरुवा गाउँपालिकाकी शान्ती चौधरी भन्छन्, “ओहोरदोहोर गर्ने स्थानीयलाई दैनिक नदी वारपार गरेबापत ढुङ्गाको खर्च जोगिएको छ ।” टीकापुरका शन्तलाल कठरियाले भने, “एकातिर त्यो डुङ्गालाई बुझाउनुपर्ने पैसाको बचत भयो, अर्कोतिर कुनै जोखिम बहन नगरी आवतजावत हुने भयो ।” उनले कैलाली र बर्दियाको व्यापारिक सम्बन्ध झन मजबुत हुने विश्वास व्यक्त गरे । गेरुवाको मुख्य बजार शान्तीबजारदेखि सनकट्टी पुलसम्म्को सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीय प्रकाश चौधरीले जानकारी दिए ।
निर्माण भइरहेको उक्त पुललाई आवागमन सँगसँगै पर्यटन क्षेत्रसँग जोड्न सकिने विश्वाससमेत गरिँदै आएको छ । जनशक्ति सामुदायिक वनभित्र कर्णाली नदीको अवलोकन गर्न सकिने गरी भ्यूटावर निर्माण गरिएको छ । पुलबाट कर्णाली नदीले बनाएका फाँटहरुको अवलोकन गर्न सकिनेछ । “पर्यटकीय क्षेत्र टीकापुर पार्क पुगेको पर्यटक थप मनोरञ्जनका लागि सनकट्टी पुग्नसक्ने सम्भावना छ”, स्थानीय पुष्कल विश्वकर्माले भने, “अझै जलमार्गको प्रयोग गर्ने पर्यटकलाई झन सहज हुन सक्छ ।”






