अलैंचीले बजार नपाउँदा किसान मारमा

सल्यान,१२ माघ ।

अलैंचीले बजार भाउ नपाएपछि सल्यानका किसान सस्तो मूल्यमै बिक्री गर्न बाध्य भएका छन्। गत वर्ष गाउँमा १ हजार १ सय रूपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको अलैंची यस वर्ष ५ सय रूपैयाँमै बिक्री गर्न किसान बाध्य भएका छन्। बजार भाउ कुरेर बसे पनि घरव्यवहार चलाउनकै लागि सस्तोमा बिक्री गर्नु परेको कुमाख गाउँपालिका–६ गोलकपुरका किसान चन्द्र वलीले बताए।

२०७२ सालदेखि व्यावसायिक अलैंची खेती गर्दै आएका वलीले आफूले उत्पादन गरेको २ सय ६९ किलो अलैंची ५ सय ६० का दरले बिक्री गर्न बाध्य भएको बताए। गत वर्ष २ सय ४० किलो बिक्री गरेर २ लाख ६५ हजार आम्दानी गरेका उनले यस वर्ष बजार मूल्य नहुँदा १ लाख ५० हजार रूपैयाँमात्र आम्दानी भएको बताए।

गतवर्षको अनुपातमा यस वर्ष अलैंची उत्पादन पनि कम भएको अर्का किसान हरिराजसिंह राठोरले बताए। यस वर्ष ७ सय रूपैयाँ किलोमा बिक्री गरेको उनको भनाई छ। उनले भने‚ ‘यस वर्ष उत्पादन र बजार मूल्य दुवै घटे। उत्पादन घटे पनि अहिले अलैंचीको मूल्य कौडीको भाउमा बिक्री गर्नुपर्ने अवस्था आएको छ।’

पहाडी भूभागमा वर्षातमा बढी पानी पर्ने र हिउँदमा बढी तुषारो र खडेरी पर्ने गरेकाले पनि अलैंची खेती गर्ने किसानहरुको आम्दानी मौसमअनुसार घटबढ हुने गरेको अर्का किसान हरिबहादुर बुढाथोकीले बताए। सुरु सुरुमा अलैंची उत्पादन गर्ने किसानहरुको घरघरमै बाहिरबाट खरिद गर्न आउने व्यवसायी अहिले अलैंचीको मूल्य घटेसँगै

खरिद गर्न आउन छाडेको उनको भनाई छ।
जिल्लामा १५ हेक्टरमा अलैंची खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। आव ०७९÷८० मा जिल्लाभर १५ हेक्टरमा १७ मेट्रिक टन अलैंची उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका मुकुन्द शर्माले जानकारी दिए।

अलैंचीले बजार नपाउँदा किसान मारमा

दल त्यागेको घोषणा

अलैंचीले बजार नपाउँदा किसान मारमा

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा–आराधना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!