हिउँदेझरी र हिमपातः कतै हर्ष, कतै विस्मात्

सुर्खेत,१२ माघ ।

सोमबार विहानदेखिको हिउँदेझरीका कारण माथिल्लो कर्णालीका डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ। लामो  समयदेखि काला देखिएका यहाँका हिमाल हिमपातका कारण सेताम्य भएका छन्।

यसैगरी जाजरकोट , रुकुम पश्चिम , सल्यान , सुर्खेत र दैलेखमा परेको पानीका कारण गहुँदेखि बेमौसमी तरकारी बालीमा राहत पुगेको किसान बताउँछन् । हिमाली जिल्लाहरुमा भने चिसोका कारण पानी जमेर बरफ भएपछि जनजीवन झनै मुस्किल हुँदै गएको छ भने भारी हिमपात हुँदा दैनिक दिनचर्या चलाउन समस्या बढेको छ ।

हिमाली जिल्लाका अधिकांश जनप्रतिनिधि, कर्मचारी तथा हुने खानेहरू शहर झरिसकेको बताइएको छ भने यहाँका विद्यालय समेत बन्द भएका छन् । अरु जिल्लाहरुमा वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुने भएपनि माथिल्लो कर्णालीका जिल्लाहरुमा फागुन देखि नयाँ शैक्षिक सत्र सुरु भएर पुस महिनासम्म चल्ने गरेका छन् ।

यातायात सेवादेखि विद्युत सेवाको पहुँच नभएको हुम्ला ,मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवा समेत विच्छेद भएको छ । सौर्य उर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीनदिन देखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको छ ।

विद्युत आपूर्तिको अभावले सदरमुकाममा रहेका टावर सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन्। भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ।
सोमबार रातिदेखि अहिलेसम्म लगातार हिउँ परिरहेको छ । हिउँ पर्दा हिउँदेबाली सप्रिने आशले किसानहरु खुशी भएपनि त्यस क्षेत्रको जनजीवन भने तत्काललाई प्रभावित भएको छ ।

चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र झोलिला पदार्थ खान चिकित्सकको सुझाव छ । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ। विशेष गरी ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबालिका, गर्भवती महिला र विद्यार्थीहरू चिसोबाट बढी प्रभावित भएका छन्।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहले लगातार हिउँ परिरहेकोले स्वास्थ्यमा ख्याल राख्न सुझाएका छन्।उनले जथाभाबी बाहिर हिडडुल नगर्न, हिउँमा नखेल्न नियमितरूपमा तातोपानी खान अनुरोध गरे। गेडागुडीको झोल, तरकारी बढी खान पनि उनले आग्रह गरेका छन्।
बालीनालीलाई राहत

लामो समयदेखि खडेरीको मार खेप्दै आएका किसान हिउँ परेपछि खुसी छन्। हिउँ परेसँगै उनीहरू नियमित खेती कर्मतिर लागेका हुन्। माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा किसान विश्वस्त छन्। सोमबार रातिदेखि परेको हिउँले किसानमा खुसी छाएको छ। खडेरीले सुकेको हिउँदे बालीमा राहत पुग्ने भएपछि किसानहरू खुसी भएका हुन्। हिउँ परेपछि जमिन भिजेको छ।

विशेष गरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ र उवा बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने सिंजा–६ का किसान भीमबहादुर रावतले बताए। माघ महिनाको वर्षा र हिमपातले वर्षा खेतीपाती र बालीमा राम्रो हुने उनको भनाइ छ ।

सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने पठ्याङ्ग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषकको भनाइ छ। स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले व्यावसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्। उनीहरू हिमपातको पानी पोखरीमा सङ्कलन गर्न आतुर छन्।

‘अझै केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनि मात्र बालीनाली सप्रिन्छ,उत्पादन बढ्छ ।’ स्याउ किसान सरोज शाहीले भने, ‘अहिले पर्याप्त हिउँ परे हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुनेछ ।’ उच्च लेकाली क्षेत्रका किसान हिउँका डल्ला बोकेर पोखरीमा जम्मा गर्ने गर्दछन्। अर्का स्याउ किसान राममबहादुर रोकायाले यो वर्ष समयमै हिउँ परेकोले स्याउ उत्पादन बढ्ने विश्वास गरेको बताउँछन्।

कृषि प्राविधिकका अनुसार ठीक समयमा हिउँ पर्दा जमिनमा चिस्यान उत्पन्न भएको छ। हिमपातले विशेष गरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । ‘हिउँ नपरेर बाली सुक्न थालेको थियो’ उनले भने, ‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’

यो बेला खाडल खन्ने, स्याउ र ओखर रोप्नका लागि पनि उपयुक्त समय हो। समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा स्याउ र ओखर लगाउने तयारी किसानहरूले गरिरहेका छन् ।

पुस १५ देखि माघ अन्तिममा स्याउका बगैँचा काटछाट गर्ने र व्यवस्थापन गर्ने समय पनि हो। जुम्लाका ८ वटै स्थानीय तहका कृषि शाखाका प्राविधिकले किसानको स्याउ बगैँचामा पुगेर स्याउका बिरुवा काँटछाँट गर्ने तरिका र व्यवस्थापन र खाडल गर्ने तरिकाका बारे सिकाइरहेका थिए ।

हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरूमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताउँछन्। कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा हिउँ परेको छ। तर जुम्लामा यो वर्ष पहिलोपटक परेको हो।

यातायात अवरुद्ध

हिमपातले उड्ने र गुड्ने यातायातका सबैखाले सानाठूला सवारी साधन प्रभावित भएको छ । साविक कर्णालीका पाँच जिल्ला जुम्ला, मुगु, कालिकोट ,डोल्पा र हुम्ला जिल्लामा हिमपातले यातायात उड्ने र गुड्ने सवारीसाधन ठप्प भएका हुन ।

हुम्लाको यारी,हिल्सा नाका जाने र आउने बाटो अवरुद्ध भएको छ । त्यस्तै लिमी जाने बाटो समेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो र मध्य डोल्पाको सम्पर्क समेतविच्छेद भएको छ । कर्णाली राजमार्ग अन्तर्तग जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ । सुर्खेत र नेपालगञ्जबाट जुम्लासंगै माथिल्लो कर्णालीका हिमाली जिल्लाहरु मुगु, हुम्ला, र डोल्पाको हवाई उडानपनि ठप्प भएको छ । यसैगरी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार विहान पौने १२ बजेदेखि कालिकोटको तिलागुफा नगरपालिका– ४ राचुलीस्थित कर्णाली राजमार्गमा वर्षातका कारण पहिरो आई अवरुद्ध भएको छ । यसैगरी नाग्म–गमगढी सडकमापनि यातायात रोकिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनस्र्थापनाको पूर्व तयारी बलियो बनाइएको र तीन वटै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेको दाबी गरे ।
पशु चौपायालाई दानापानीको समस्या

हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशु चौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातपछि जुम्लाको तापक्रम माइनसमा झरेको छ। पशु चौपाया, भेडा बाख्रा चराउने वनजंगल हिउँले ढाकेर सेताम्य भएका छन्। गाईबस्तु र भेडा बाख्रालाई चराउन समस्या भएको गोठालाहरू बताउँछन्।

पशु चौपाया,भेडा बाख्रालाई राम्रोसँग दानापानी र सोतर राम्रोसँग दिनुपर्ने भेटेरिनरी अस्पताल जुम्लाका प्रमुख ज्ञानेन्द्रिसंह बुढ्थापाले बताए। पाठापाठी, बाच्छाबाच्छीलाई चिसो बाट बचाउन किसानलाई आग्रह गरे। तातोपानी तताएर वा पुरानो माटाको गोठमा हुल्न र झ्याल ढोका राम्रोसँग बन्द गर्ने सुझाव दिए।हिउँदमा खुवाउन भण्डारण गरेको घाँस खुवाउन अपिल गरे।

हिउँदेझरी र हिमपातः कतै हर्ष, कतै विस्मात्

गार्मेन्टको ४० प्रतिशत बजार ओगटेको छाँयाक्षेत्र

हिउँदेझरी र हिमपातः कतै हर्ष, कतै विस्मात्

उत्पादन १५ प्रतिशतले घट्नसक्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!