सुर्खेतमा बुलबुले ताल विस्तार गर्दा भयो नि बेहाल

सुर्खेत,१३  फागुन ।

सुर्खेत बुलबुल ताल

माया मै सानो हुनाले

छुट्यो मायाजाल

सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र कमला श्रेष्ठले ३० को दशकमा गाएको यो गीतले ‘बुलबुल ताल’लाई राष्ट्रिय रूपमा नै परिचित बनायो। बुलबुल ताल जनजनको मनमा यति गढेको छ कि सुर्खेत झर्ने जो कोही पर्यटकले सबैभन्दा पहिले सोध्छन्, “बुलबुल ताल कता छ ?”

पर्यटक जब बुलबुल तालको नजिकै पुग्छन्, त्यसपछि फेरि पनि सोध्छन्, “बुलबुल ताल चाहिँ कता छ ?” ताललाई घाँसे मैदान र लेउले भरिएपछि बुलबुल तालले आफ्नो स्वरूप गुमाउन पुगेको छ। प्लास्टिकका बोतल र फोहोरले ताल कुरूप बनेको छ। यद्यपि बुलबुल तालको संरक्षणको जिम्मा लिने निकाय तालको अवस्थाबारे बेखबर छ।

ताललाई फराकिलो बनाउने रहरले बुलबुले ‘पानीबिनाको ताल’ भएको छ। डोजरको प्रयोग गरेर गत आर्थिक वर्षमा तालको क्षेत्रफल विस्तार गरिएको थियो। त्यसो गर्दा तालमा रहेको पानी बाहिर बगेको थियो। त्यति मात्र होइन, मेसिनको प्रयोगले गर्दा ताल विस्तार गरिएको क्षेत्रमा पानी नरोकिने समस्या आएको थियो।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भने , “ताल विस्तारपछि समस्या आयो, के गर्ने भनेर सोचिरहेका छौँ।”

ताल विरूप छ। घुम्न पुग्ने पर्यटकले सुक्खा बुलबुलेको सुक्खा अनुभूति लिएर फर्किरहेका छन्। यद्यपि बुलबुलेको विकासका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २०७५÷७६ मा एक करोड ९६ लाख रुपियाँ खर्च गरेको छ। चालू आर्थिक वर्षमा मन्त्रालयले ५० लाख रुपियाँ छुट्याएको छ। बुलबुले तालको विस्तारसँगै तालको पानी चुहिएर गएको छ।

स्थानीय दीपक सापकोटाले झन्डै १५ वर्षपहिले सुर्खेत आउँदा देखेको सुन्दर ताल अहिले बेहाल भएको बताए । उनले  भने , “यो देख्दा कति मन पोल्छ, तत्काल यो तालको संरक्षण नगरिए ताल नै हराउने स्थानीयवासीको चिन्ता छ। तालको क्षेत्र विस्तार गर्ने योजनाले पनि पूर्णता पाउन सकेको छैन।”

प्राकृतिक ताललाई कृत्रिम तरिकाले विस्तार गरिँदा पानी चुहावटको समस्याले ताल नै सङ्कटमा परेको छ। नगरपालिकाले तालमा जम्मा भएको पानी जमिनमुनि छिरेकाले त्यसको अवस्था विश्लेषण गरेर मात्रै बाँकी काम अघि बढाउने जनाएको छ।

यसै वर्ष ताललाई हेर्नलायक ताल बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ। नगर विकास समितिले तालको उत्थानका लागि गुरुयोजनासमेत बनाएको छ।

गाेरखापत्र 

Leave a comment

Your email address will not be published. Required fields are marked *