खरबारीको डढेलो निभाउने क्रममा जलेर घाइते
सल्यान,११ फागुन ।
सल्यानको बाग्चौर नगरपालिका १ स्थित खरबारीमा लागेको डढेलो निभाउन खोज्दा एक जना जलेर घाइते भएका छन् । बिहीबार दिउँसो लागेको डढेलो निभाउन खोज्दा ५२ वर्षीय प्रेम सुनार घाइते भएका हुन् ।
घाइते भएका सुनारलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार सुनारको कम्मरमुनिको पछाडिको भाग जलेको छ । आफ्नै घर नजिकै खरबारीमा लागेको आगो निभाउने क्रममा तीव्र रुपमा हावा चल्दा आगोको लप्कोले उनको शरीर जलेको प्रनाउ केसीले जानकारी दिए । खरबारीमा आगो कसले लगायो भन्नेबारे यकिन कारण भने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि आर्थिक अभाव भएपछि नेपालगन्ज लैजाने क्रममा बाग्चौर नगरपालिकाका प्रमुख जनकराज गौतमले नगद १० हजार आर्थिक सहयोग गरेका थिए । आवश्यक परेमा नगरपालिकाबाट थप सहयोग गर्ने नगर प्रमुख गौतमले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कान्तिपुर






