बढ्दैछन् कुपोषित बालबालिका
पुनम वि.सी.
सुर्खेत, ९ माघ ।
सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्न थालेको छ । विगत तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा करिव ९१ प्रतिशत बढी दरले कुपोषित बालबालिकाको संख्यामा वृद्धि भएको देखिन्छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ११ महिना उमेरसम्मका बालबालिका र १२ देखि २३ महिना उमेर समूहका गरी कुल १३ हजार सात सय २४ जना बालबालिकामा वृद्धि अनुगमन गरेको थियो ।
सो अनुगमनले सुर्खेतमा कुपोषित बालबालिकाको संख्यामा वृद्धि भएको जनाएको छ । २०७८÷०७९ आर्थिक वर्षको अन्त्यसम्ममा सुर्खेत जिल्लामा दुई वर्ष उमेर समूह मुनीका बालबालिकाको संख्या १४ हजार एक सय ८२ जना रहेको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा सुर्खेतमा कुपोषित बालबालिकाको संख्या दुई सय ४६ जना रहेको थियो भने २०७७÷०७८ मा दुई सय ४८ जना बालबालिका कुपोषित थिए । यसैगरी २०७८÷०७९ मा भने यो संख्यामा वृद्धि भई चार सय ७५ जना पुगेको छ ।
जिल्लाको पालिकागत रुपमा हेर्दा कुपोषित बालबालिकाहरुको संख्या सबैभन्दा धेरै भेरीगंगा नगरपालिकामा छ । २०७६÷०७७ मा भेरीगंगा नगरपालिकामा कुपोषित बालबालिकाको संख्या २७ जना थियो भने अहिले यो संख्या बढेर २०७८÷०७९ को अन्त्यमा एक सय २१ जना पुगेको छ ।
सिम्ता गाउँपालिकामा ४३ जना, चिङ्गाड गाउँपालिकामा ३९ जना, लेकवेशी नगरपालिकामा ५४ जना, गुर्भाकोट नगरपालिकामा १९ जना, वीरेन्द्रनगर नगरपालिकामा एक सय तीन जना, बराहताल गाउँपालिकामा २३ जना, पञ्चपुरी नगरपालिकामा ३२ जना र चौकुने नगरपालिकामा ४१ जना बालबालिका कुपोषित रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ ।
२०७८÷०७९ मा सुर्खेत जिल्लामा एक वर्षमुनीको बालबालिकाको संख्या सात हजार एक सय २७ जना रहेको थियो । तर सोहि आर्थिक वर्षमा ६ महिनासम्म स्तनमान मात्रै गराएका शिशुहरुको संख्या भने तीन हजार चार सय १७ जना रहेको छ । यसका साथै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्यांक अनुसार २०७८÷०७९ मा तीन हजार तीन सय ३२ जना शिशुलाई समयमै आहार खुवाउन शुरु गरिएको थियो ।
गर्भ जाँच नगर्नेको संख्या पनि उस्तै
गर्भवती महिलाले कम्तीमा चार पटक गर्भावस्थाको जाँच गराउनुपर्ने हुन्छ । गर्भावस्थाको चौथो, छैठौं, आठौं र नवौं महिनामा नियमित स्वास्थ्य जाँच गराए महिलाको पोषण अवस्था लगायतका विषयमा जानकारी हुन्छ । गर्भावस्थाको परिक्षण गर्दा रक्तचाप जाँच, तौल लिने, गर्भको शिशुको मुटुको चालको परिक्षण, रगतको जाँच, पिसावमा प्रोटिनको परिक्षण, खतराको चिन्हहरुको समयमै पहिचान र व्यवस्थापनका साथै जन्मको तयारी, परिवार नियोजनलगायतका विषयमा गर्भवती महिलाले जानकारी पाउँछन् ।
सुर्खेतमा भने गर्भावस्थाको चार पटकसम्म नियमित स्वास्थ्य जाँच नगर्ने गर्भवती महिलाहरुको संख्या पनि उत्तिकै छ । वार्षिक रुपमा हजारौँ गर्भवती महिलाहरुले ‘प्रोटोकल’ अनुसारको गर्भ जाँच गराउदैनन् । सुर्खेतमा गत आर्थिक वर्ष २०७८÷०७९ मा आठ हजार आठ सय ४३ जनाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् । तीमध्ये दुई हजार तीन सय ७५ जनाले चार पटकसम्म गर्भावस्थामा जाँच गर्नुपर्ने प्रोटोकलको पालना नगरेको तथ्यांक विश्लेषण छ ।
यस आर्थिक वर्षमा नौं हजार तीन सय २९ जनाले पहिलो पटक गर्भवती जाँच गराएपनि चौंथो पटकसम्म नियमित गर्भवति जाँच गराउनेहरुको संख्या ६ हजार हजार चार सय ६८ रहेको छ । यस आर्थिक वर्षमा मात्रै होइन २०७७÷०७८ मा एक हजार नौं सय ६४ जनाले गर्भावस्थाको नियमित जाँच गराएनन् । यस आर्थिक वर्षमा स्वास्थ्य संस्थामा नौं हजार सात जनाले प्रसूति गराएका थिए भने सात हजार ४३ जनाले मात्र चौथों पटकसम्म गर्भ जाँच गराएका छन् ।
२०७६÷०७७ यता स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या २६ हजार तीन सय ६१ जना रहेको छ । यो समयमा २० हजार पाँच सय ३९ जना महिलाले चार पटक सम्म गर्भावस्थाको जाँच गराएका छन् । बाँकी पाँच हजार आठ सय २२ जना महिलाले नियमित गर्भावस्थाको जाँच नगराएको तथ्यांकमा देखिन्छ ।