स्याउ गोडमेलको चटारो
मुगु ,१० फागुन ।
छायानाथरारा नगरपालिका–४, ताल्चका हरि रोकाया एक सातायता स्याउबारीमै व्यस्त छन् । स्याउ फूल्ने मौसम सुरु भएपछि उनी अग्ला हाँगा काट्ने, गोडमेल गर्ने र स्याउका रुख वरिपरि हिउँका डल्ला राख्ने काममा व्यस्त भएका हुन् । उनका छिमेकी बाँचे महताराको दैनिकी पनि स्याउबारीमै बित्न थालेको छ ।
उनीहरू मात्र होइन, दुई सातायता मुगुका अधिकांश स्याउ किसानलाई गोडमेलको चटारो छ । स्याउका कलिला मुना पलाउने र फूल लाग्ने मौसम सुरु भएपछि किसानहरू स्याउ बारीमै व्यस्त हुन थालेका हुन् । ताल्च, मइतु, झापागार्ड, बाम, रोवा, सोभा, सोरुकोट, खमालेलगायत लेकाली गाउँमा स्याउ गोडमेल गर्न किसानको व्यस्तता बढेको हो ।
फागुन तेस्रो साताबाट स्याउ फूल्ने भएकाले त्यसअघि नै गोडमेल गरिसक्नु पर्ने रोकायाले बताए । ‘स्याउको रुख अग्लो भए धेरै फल्दैन, त्यसैले काटछाँट गरी होचो बनाउँछौ,’ उनले भने, ‘रोग किराको प्रकोप फैलन नदिन पनि गोडमेल अनिवार्य हुन्छ ।’ उनले करिब ३ सय स्याउका बोट काटछाँट गरिसकेको बताए । उनको बारीमा झण्डै १ हजार स्याउका बोट छन् ।
स्याउका विरुवा काँटछाँट नगरे रोगकिराको प्रकोप नहुने किसानको भनाइ छ । स्याउका बगैचामा रहेको बोट काटछाट गर्ने समय सुरु भएको जिल्ला कृषि विकास कार्यालयले प्राविधिकहरूलाई गाउँगाउँमा खटाएको छ ।
कान्तिपुर