वीरेन्द्रनगरका योजनाकारको ‘त्यो रहर, यो शहर’

सिर्जना बुढाथोकी

सुर्खेत,६ फागुन ।

वीरेन्द्रनगर शहरको योजनाकार माधवभक्त माथेमा लामो समयपछि आफैले परिकल्पना गरेको वीरेन्द्रनगरमै उपस्थित भएर आफ्नाे त्योबेलाको योजना र परिकल्पनाबारे सुनाउँदै गर्दा निकै भावुक देखिए÷सुनिए । बुलबुले उद्यानमा शुक्रबारबाट शुरु भएको चौथौं संस्करणको कर्णाली उत्सवको शत्रमा २०२९ सालमा परिकल्पना गरेको वीरेन्द्रनगरका बारेमा वहस गर्दै गर्दा उनी त्योबेलाको सुर्खेतसंगको भावनामा भावुका देखिए ।

किनकी आपु उमेरेले २८ वर्षको हुँदा वीरेन्द्रनगरलाई कस्तो बनाउने भनेर परिकल्पना गरेका उनी ७९ वर्षको उमेरमा यहि माटोमा उभिएर त्यहि विषयमा फेरि छलफल गर्दै थिए । सहजकर्ता गोविन्द कोइरालाले माथेमाको स्वास्थ्य अवस्थासँगै अहिलेको वीरेन्द्रनगरको स्वास्थ्य कस्तो देख्नुभयो ? भन्ने प्रश्न गरेपछि उनले भने, ‘म प्लेनबाट ल्याण्ड हुँदै गर्दा तलतिर सुर्खेतलाई हेरेँ, धेरै फरक भएछ वीरेन्द्रनगर, दक्षिणतर्फ पनि धेरै घरहरु बनेको रहेछ, मैले चिन्दा पनि चिनेन ।

रुख विरुवा देख्दा आनन्द पनि लाग्यो । ती रुख विरुवासँग हाम्रो गहिरो सम्बन्ध छ ।’ यति भन्दै गर्दा उनले वीरेन्द्रनगरमा शिशिर ऋतुको समयमा ढकमक्क फूल्ने गुलमोहर लखनउबाट प्रति विरुवा एक सय रुपैयाँ तिरेर ल्याएको पनि स्मरण गरे । ऋति फाउण्डेशनले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको चौथो संस्करणमा ‘यो शहर, त्यो रहर’ शत्रमा बोल्दै योजनाकार माथेमाले आफू ३५ वर्षपछि वीरेन्द्रनगर आएको सम्झिए ।

२०२९ सालमा वीरेन्द्रनगर आएर चार वर्ष यहि बिताएर १३ वर्षसम्म यो नगरसँग जोडिएका माथेमाले शुक्रबार यो शहरमा बसेर त्यो शहरको बारेमा बोले जुन शहरको उनले परिकल्पना गरेका थिए । ‘अमेरिकाबाट शहरी विकासमा मास्टर्स गरेर आएपछि मलाई वीरेन्द्रनगरको प्लान बनाउने प्रस्ताव आयो ।’ आफू त्यतिबेला २८ वर्षको मात्रै भएको सम्झिँदै उनले भने,‘मैले धेरैलाई सोधे वीरेन्द्रनगर कहाँ छ ? भनेर ।’

माथेमाले पुराना दिन सम्झिँदै वीरेन्द्रनगर कहाँ छ ? भन्ने पनि थाहा नहुँदा धेरैलाई सोध्दै जाँदा तत्कालीन राष्ट्रिय योजना आयोगमा काम गर्ने आफ्ना साथी स्व. डा. हर्क गुरुङले ‘पश्चिममा छ’ भनेर थोरै थोरै बताए दिएको प्रसंग उप्काए । त्यतिबेला संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले प्रयोगमा ल्याएको सानो हवाईजहाजमा १५ हजार रुपैयाँ तिरेर चारजना साथीसँगै सुर्खेत आएको सम्झिए ।

२०२२ सालमा सुर्खेत उपत्यकाबाट औलो उन्मूलन भएको घोषणा सरकारले गरेपछि राजा भएको एक वर्षपनि नपुग्दै राजा वीरेन्द्रले २०२९ सालमा अध्यादेशमार्फत नगर विकास ऐन ल्याएर नगर विकासको योजना अघि सारेको उनले सुनाए ।जसको मुख्य योजनाकारका रुपमा माधवभक्त माथेमालाई सुर्खेत पठाइएको थियो ।

छलफलमा सहभागी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको अवस्थालाई हेर्दै तयार पारिएको पहिलेको गुरुयोजना अहिलेका लागि पनि योग्य रहेको बताइन् । उनले आफू सुर्खेत उपत्यका नगर विकास समितिको ३४औँ अध्यक्षको रुपमा पनि भएको भन्दै उक्त योजनालाई बिग्रन नदिएको दाबी गरिन् ।

छलफलका क्रममा सहजकर्ता कोइरालाले वीरेन्द्रनगर निकै अव्यवस्थित भएको भन्दै प्रश्न गरे, ‘यहाँका सडकहरु बांगाटिंगा छन्, बुलबुले ताल सुकेनाश लाएको जस्तो भएको छ, जनताहरु काकाकुल छन् । अटोरिक्साहरु अव्यवस्थित रुपले सञ्चालन भइरहेका छन्, यही हो त विकास ?’

जवाफमा नगरप्रमुख ढकालले आफू निर्वाचित भएपछि नगरको अवस्थाबारे धेरै अध्ययन गरेको बताइन् । उनले अहिले नगरपालिकाको सरकारी जग्गा संरक्षण पहिलो अभियान रहेको उल्लेख गरिन् । ‘अतिक्रमण हटाएर पार्किङ्गलाई व्यवस्थापन गर्ने योजना पनि हाम्रो छ,’ उनले भनिन्, ‘पार्किङ्ग जोन जहाँ तोकिएको छ त्यस क्षेत्रलाई व्यवस्थित बनाउने योजनाअनुसार हामी अगाडि बढ्छौँ ।’

बुलबुलेलाई व्यवस्थित पार्कको रुपमा अगाडि सारिएको भन्दै नगरप्रमुख ढकालले ताल संरक्षण गर्नका लागि विस्तार गर्ने प्रयास भइरहेको बताइन् । अहिले ताल दलदल भएकाले पानी सुकाएर विस्तार गर्न खोजिएको उनको भनाइ छ । नगरपालिका भित्रको २ सय ३२ विगाह जग्गा नगरविकास समितिले अधिग्रहण गरेको थियो ।

नगर विकास समितिले अब आफ्नो नियन्त्रणमा रहेको जग्गा कि बेच्छ कि रक्सी भट्टी सञ्चालनका लागि भाडामा दिन्छ भन्ने कोइरालाको प्रश्नमा उनले जसलाई जुन योजनाका लागि दिइएको छ, त्यहिका लागि प्रयोग गर्न दिने र भट्टी पसल सञ्चालनमा पनि रोक लगाउने प्रतिवद्धता जनाइन् ।

प्लानिङ्गका बाटोहरु खोल्दै गरेको जानकारी दिँदै नगरप्रमुख ढकालले सडक किनारमा भएको अतिक्रमणलाई रोक्न प्रयास भएको पनि बताइन् । व्यवसायिक प्रयोजनका लागि सटर भाडा दिनुपरेमा राज्यले राजस्व आउने गरी दिने उनको भनाइ छ । कार्यक्रममा योजनाकार माथेमाले नगर विकासबाट विस्थापित भएका परिवारलाई सहुलियत घडेरीको व्यवस्था गर्ने भन्दै जग्गा अधिग्रहण गरिएको उल्लेख गरे ।

उनका अनुसार त्यस समयमा जग्गा अधिग्रहण गरेको बेला एक विगाहको मूल्य ६ हजार रुपैयाँ थियो तर पछि राजा वीरेन्द्रले विक्री गर्ने बेलामा प्रति विगाह १० हजार रुपैयाँ दिने निर्देशन दिएका थिए । २०२९ सालमा नगर योजना सुरु गरेर तीन चरणमा बाँडिएको थियो । ढोडेखालीसम्म नगर विस्तार गर्ने र तल्लो क्षेत्रलाई कृषि क्षेत्र तोक्दै २५ वर्षको फोरकास्ट लिएर योजना बनाएको बताए । योजनाकार माथेमाले जग्गा बेचेर नगरको विकास गर्ने काम उचित नभएको पनि स्पष्ट पारे ।

आफूले योजना बनाउँदा कुनै विदेशी शहरको रुपमा नभइ सुर्खेतको धरातललाई नै हेरेर योजना बनाइएको उनले जानकारी दिए । २५ वर्षलाई हेरेर आफूहरुले योजना बनाएको भन्दै योजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि रहेको बताए । उनले जबसम्म जग्गाको व्यवस्थापन नभएसम्म कुनै योजना काम नलाग्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा नगरप्रमुख ढकालले वीरेन्द्रनगरको यथार्थ धरातललाई टेकेर बनेको गुरुयोजनालाई सार्थक बनाएर विकासका कामहरु गर्ने प्रतिवद्धता जनाइन् । नयाँ शहर बन्दै गर्दा आवश्यकतालाई बुझेर विकासका कामहरु अगाडि बढाउने उनको भनाइ छ । पाँच वर्ष नगरपालिकाको उपमेयर भएर पनि नजिकबाट नियालेको भन्दै उनले परिणाम निकाल्ने गरी काम गर्ने बताइन् ।

वीरेन्द्रनगरका योजनाकारको ‘त्यो रहर, यो शहर’

गुर्भाकोटमा निशुल्क महिला स्वास्थ्य शिविर संचालन हुदै

वीरेन्द्रनगरका योजनाकारको ‘त्यो रहर, यो शहर’

कथा :  नगरिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *