कालिकोटमा एचआइभी सङ्क्रमित बढ्दै

कालिकोट ।
पछिल्लो समय कालिकोटमा एचआइभी-एड्स सङ्क्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका एआरटी (एन्टी रेट्रोभाइरल थेरापी) काउन्सिलर ईश्वर शाहीका अनुसार चालु वर्षको हालसम्मको तथ्याङ्कमा कालिकोटमा ६५ जनाले एआरटी सेवा लिइरहेका छन् ।

जसमा २८ जना महिला, तिन बालिका, एक बालक र ३३ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये रोजगारीका लागि बिदेसिने र सुईद्वारा लागुपदार्थ सेवन गर्नेहरू बढी देखिएको एआरटी काउन्सिलर शाहीले बताए ।

कालिकोटमा एचआइभीबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला, एक बच्चा र तीन जना पुरुष रहेका छन् । एचआइभी सङ्क्रमणसम्बन्धी जनचेतनामूलक कार्यक्रम कर्णाली प्लसले गर्ने गरेको छ ।

कर्णाली प्लस कालिकोटका अध्यक्ष कालीबहादुर शाहीले नगरपालिकाभित्रका प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा महिनाको एक दिन स्वास्थ्यकर्मीमार्फत एचआइभी एड्ससम्बन्धी स्वास्थ्य शिक्षा सञ्चालन गर्ने निर्णयसमेत गरिएको बताए । एचआइभी सङ्क्रमित (परिवर्तित नाम २१) ले आफूहरूलाई समाजमा खुलेर हिँड्नसक्ने वातावरण बनाइदिन सबैमा अनुरोध गरे । उनले भने, ‘सङ्क्रमित भइसकेपछि साथीभाइ, घरपरिवार, समाजबाट टाढा हुँदा कत्ति दिन त भोकै बस्नु परेको छ।’

कर्णाली प्लस कालिकोटका टिम लिडर दिपबहादुर शाहीले एचआइभी सङ्क्रमितलाई गलत दृष्टिकोणबाट हेर्न नहुने बताए । सङ्क्रमितलाई हतोत्साहित नहुन अनुरोध गर्दै उनले आफू हरपलसाथ सहयोगका लागि तत्पर रहेको बताए । उनले सकारात्मक सोच र दृढ आत्मबलका साथ अघि बढ्न सङ्क्रमितलाई आग्रह गरे ।

कालिकोटका सबैभन्दा बढी सङ्क्रमित हुने पालिकामा नरहरिनाथ गाउँपालिका र दोस्रोमा खाँडाचक्र नगरपालिका रहेका छन् । कर्णाली प्रदेशअन्तर्गत दैलेखमा ६ सय, सुर्खेतमा १८ सय गरी जम्मा ४ हजार ५ सय जनाले औषधि खाने गरेका छन् । वैदेशिक रोजारमा जानेहरूबाट धेरै सरेको हुन सक्ने स्थानीयको भनाइ छ ।

नेपालमा पहिलो एचआइभी सङ्क्रमित सन् १९८८ मा पहिचान गरिएको थियो। सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभाव अन्त्य गर्ने लक्ष्य राखेको छ ।
एचआइभीको उच्च जोखिममा सुईद्वारा लागुपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीसमेत रहेका छन् । एचआइभी सङ्क्रमितलाई नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराइरहेको छ ।

कालिकोटमा एचआइभी सङ्क्रमित बढ्दै

वीरेन्द्रनगरका सडक छेउमा ट्राफिक ‘डमी’

कालिकोटमा एचआइभी सङ्क्रमित बढ्दै

वीरेन्द्रनगरमा बजार अनुगमनमा वृद्धि गरिने