धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

झापा,३० पाैष ।
धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ। शुक्रबार साँझदेखि भएको आगलागी केही बेरअघि मात्र नियन्त्रणमा आएको हो। धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजारमा आगलागी भएको हो। बाक्लो बस्ती भएकाले आगो अन्यत्र फैलिन नदिन स्थानीयवासी र प्रहरी टोलीका साथै दमकलहरू परिचालन गरिएका थिए।
छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिसीका अनुसार केहीबेरअघि मात्र आगो पूर्ण नियन्त्रणमा आएको हो। आगो निभाउन धनकुटा नगरपालिका र लालीगुराँस नगरपालिकाका दमकल खटिएका थिए।
वडाअध्यक्ष दीपक गुरूङका अनुसार सन्तोष राई, झमक थापा, होम बहादुर थापा, अर्जुन घिमिरे र जिग बहादुर खड्काको घरमा आगलागी भएको हो। आगालागीबाट सन्तोष राई र झमक थापाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अन्य तीनवटा घरमा आंशिक क्षति भएको छ।
सन्तोष राईको घरबाट आगो सल्किएको वडा अध्यक्ष गुरुङले सेतोपाटीलाई बताए। उक्त घरमा फ्रेस हाउस रहेको उनले जानकारी दिएका छन्। उक्त घरमा खाना पकाउने ग्यास सिलिन्डर पनि भण्डारण गरिएको थियो। क्षतिका बारेमा यकिन भइनसकेको वडाध्यक्ष गुरुङले बताए। आगलागीबाट हालसम्म मानवीय क्षति भएको छैन। बजारका अन्य घरहरू जोखिममा परेकाले आगो फैलिन नदिन नजिकका केही घर स्थानीयले भत्काएका समेत छन्।
सेताेपाटी






