माग सुन्न राज्य मौन, कर्णाली बन्दतर्फ युवा आक्रोश

गाेल्डेन बुढा

जुम्ला ,१० जेठ।
बाजुराको हिमाली गाउँपालिका–२ मा भएको घटनापछि पीडितको माग सम्बोधनमा राज्य उदासीन बनेको आरोप लगाउँदै हिमाली युवा सञ्जाल, बाजुराले अनिश्चितकालीन कर्णाली बन्दको घोषणा गरेको छ ।सञ्जालले शनिबार जारी गरेको विज्ञप्तिमा विभिन्न सरकारी निकायसँग २४ घण्टासम्म निरन्तर समन्वय र संवाद गर्दा पनि कुनै ठोस निर्णय तथा सम्बोधन नभएको उल्लेख गर्दै जेठ १२ गते बिहान ५ बजेदेखि कर्णाली प्रदेशभर बन्द आह्वान गरिएको जनाएको हो ।विज्ञप्तिमा घटनास्थलको स्थलगत अनुगमन गरी दीर्घकालीन समाधान खोज्न, हुम्लाको सर्केगाड गाउँपालिका–३, ४ र ५ तथा सिमकोट गाउँपालिका–१ र २ का पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ ।त्यस्तै, सम्बन्धित गाउँपालिकाको सिफारिसका आधारमा पीडितलाई उपचार, राहत र आवश्यक सहयोग सुनिश्चित गर्न, हिमाली गाउँपालिका–३ मा व्यायामशाला निर्माणका क्रममा विस्थापित परिवारलाई उचित व्यवस्थापनसहित क्षतिपूर्ति दिन तथा चेकजाँच भवननिर्माण नभएका स्थानमा तत्काल पूर्वाधार निर्माण अघि बढाउन सरकारसँग आग्रह गरिएको छ ।

सञ्जालले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र राज्यको ध्यानाकर्षण गराउन बाध्य भएर कर्णाली राजमार्ग बन्द गर्नुपरेको जनाएको छ ।विज्ञप्तिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय बाजुरा र हुम्लालाई समेत औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ ।दुर्गम भेगका नागरिकको पीडा पटक–पटक बेवास्ता हुँदा अन्ततः सडक नै विरोधको भाषा बन्न पुगेको स्थानीयको गुनासो छ ।

माग सुन्न राज्य मौन, कर्णाली बन्दतर्फ युवा आक्रोश

जुम्लाकाे ‘गरिकुडा जोडी’ डिजिटल चेतना फैलाउँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *