छुम जिउलोमा रोपाइँ सुरु, हराउँदै मार्सी पहिचान

गाेल्डेन बुढा
जुम्ला,१० जेठ ।
जुम्लाकाे समुद्री सतहदेखि करिब दुई हजार ८ सय ५० मिटर उचाइमा फैलिएको छुमचौर जिउलो यतिबेला फेरि हरियो बन्न खोज्दैछ। हिलोमा खुट्टा गाडेर किसानहरू मार्सी धान रोपिरहेका छन्। तर यो रोपाइँ मात्र होइन, हराउँदै गएको पहिचान जोगाउने संघर्ष बनेको छ।विश्वकै उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान कुनै सामान्य बाली होइन।छुमचौर जिउलोमा आइतबार फेरि रोपाइँ सुरु भयो। महिलाका हात हिलोमा चलिरहेका थिए, पुरुषहरू बीउ उखेलेर रोपाहारलाई दिइरहेका थिए, खेतभरि पुराना असारे भाका गुञ्जिरहेका थिए।यो जुम्लाको इतिहास, पहिचान, स्वाद, संस्कृति र हिमाली जीवनको जीवित किंवदन्ती हो। पञ्चायतकालमा यही मार्सी चामल हुलाकमार्फत राजामहाराजासम्म पुग्थ्यो। अहिले पनि स्वदेशदेखि विदेशसम्म यसको माग उच्च छ। तर उत्पादन घट्दो छ, खेत बाँझिँदै छन्, किसानको भरोसा टुट्दै गएको छ।

पातारासी गाउँपालिका–३ छुम गाउँकी ललिता बुढा हिलोमा धान रोप्दै गर्दा भन्छिन्, “मार्सी हाम्रो चिनारी हो, तर अब किसानको मन मरेको छ।”उनका अनुसार मरुवा रोग, असिना, बेमौसमी वर्षा र दाना झर्ने समस्याले किसानलाई निराश बनाएको छ। खेतमा मेहनत धेरै, उत्पादन कम भएपछि धेरै किसानले मार्सी छोडेर आलु, सिमी, मकै, कोदो र कागुनोतर्फ लागेका छन्।कहिल्यै लहलहाउने छुमचौरका फाँट अहिले सीमित खेतमा मात्र हरियाली देखिन्छ। पछिल्लो समय अधिकतम १५-२० वटा खेतमा मात्रै मार्सी रोपाइँ हुने गरेको स्थानीय बताउँछन्। बाँकी जमिन क्रमशः खाली हुँदै गएको छ।उत्पादनले घर धान्न नसकेपछि यही मौसममा धेरै किसान यार्सा टिप्न पाटनतिर उक्लिन्छन्। यसले खेतीप्रतिको आकर्षण झन् कमजोर बनाएको छ। किसानहरू भन्छन्“मार्सीले अब पेटभन्दा बढी सम्झना धानिरहेको छ।”किसानहरूले निरोगी बिउ, आधुनिक प्रविधि र विशेष बजेटको माग गरिरहेका छन्। उनीहरू छुमचौरलाई कृषि पर्यटन क्षेत्र घोषणा गरेर व्यवस्थित संरक्षण गर्नुपर्ने बताउँछन्।

स्थानीयको बुझाइमा मार्सी धान जोगाउनु खेती जोगाउनु होइन, जुम्लाको मौलिक सभ्यता जोगाउनु हो।पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले मार्सी धानको जगेर्ना सबैको साझा दायित्व भएको बताए। “माग उच्च छ, मूल्य राम्रो छ। अब गुणस्तरीय उत्पादन र आधुनिकीकरणमा जानुपर्छ,” उनले भने।यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले पनि छुमचौरलाई ‘मार्सी पकेट क्षेत्र’ बनाएर विशेष योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।चन्दननाथ–१ र ३ जात सिफारिस भइसकेका छन् भने मार्सी–१८, २० र २२ परीक्षणको चरणमा छन्। कृषि कार्यालयका अनुसार यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो। तर खेती क्षेत्र भने घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको छ।

संख्या बढे पनि वास्तविक चुनौती खेत जोगाउने हो। किनकि खेत बाँझिएपछि अन्न हराउँदैन, पुस्तौँदेखि बाँचिरहेको सभ्यता पनि हराउन थाल्छ।छुमचौर यतिबेला फेरि रोपाइँको गीतमा गुञ्जिएको छ। तर ती गीतभित्र किसानको चिन्ता पनि छ।बुढापाकाहरु भन्छन्, अहिले जोगाउन सकिएन भने, विश्वकै उच्च स्थानमा फल्ने मार्सी धान इतिहासका पानामा मात्रै सीमित हुन सक्छ।






