८ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५औँ साधारणसभा सम्पन्न

बाँके ,१० जेठ ।
नेपाल पत्रकार महासंघ बाँकेको १५औँ साधारणसभा ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । शनिबार नेपालगञ्जमा आयोजित साधारणसभाले पत्रकारिता क्षेत्रका समसामयिक समस्या, सञ्चारमाध्यमको दिगोपन तथा पत्रकार सुरक्षाका विषयलाई प्राथमिकतामा राख्दै घोषणापत्र सार्वजनिक गरेको हो ।
साधारणसभाले जिल्लामा विद्युत् आपूर्तिको अनियमितताका कारण सञ्चालित सञ्चारमाध्यमहरू प्रभावित भइरहेको उल्लेख गर्दै नियमित विद्युत् आपूर्तिको सुनिश्चितता गर्न नेपाल विद्युत् प्राधिकरणसँग जोडदार माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कुनै पनि बहानामा पत्रकार तथा सञ्चारमाध्यममाथि हुने आक्रमण, धाकधम्की र त्रासपूर्ण गतिविधिको भर्त्सना गर्दै पत्रकारले निर्बाध रूपमा समाचार संकलन गर्न पाउने वातावरण निर्माण गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरिएको छ ।


घोषणापत्रमा सरकारी विज्ञापन वितरणमा विभेद भएको उल्लेख गर्दै निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई समेत समानुपातिक र लोककल्याणकारी विज्ञापन नीति अवलम्बन गरी विज्ञापन उपलब्ध गराउन तीनै तहका सरकारलाई आग्रह गरिएको छ ।
साधारणसभाले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत भ्यूज बढाउने उद्देश्यले अतिरञ्जित सामग्री प्रस्तुत गर्ने, व्यक्तिलाई दोषी करार गर्ने तथा आफैं न्यायाधीश बन्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । साथै, कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर, टिकटकर, यूट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताको गतिविधिलाई मूलधारका सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारसँग एकै रूपमा नहेर्न सम्बन्धित निकाय, राजनीतिक दल तथा सामाजिक अगुवाहरूलाई ध्यानाकर्षण गराइएको छ ।
महासंघले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न तथा पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्न सम्पूर्ण श्रमजीवी पत्रकारलाई आग्रह गरेको छ । साथै, स्थानीय तहहरूले मिडिया प्रवर्द्धनका नाममा विनियोजन गर्ने बजेट पारदर्शी नहुँदा सीमित व्यक्तिले मात्र लाभ लिइरहेको उल्लेख गर्दै स्थानीय सञ्चारगृहहरू आर्थिक संकटमा परिरहेको जनाएको छ ।
घोषणापत्रमा स्थानीय मिडियाको दिगोपन र श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार नीति निर्माण तथा कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहसँग माग गरिएको छ । यसका लागि ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।


साधारणसभाको अवसरमा बाँके र बर्दियाका विभिन्न पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन ले नगदसहित पत्रकारहरूलाई सम्मान गरेका थिए ।
रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली शाही पुरस्कृत भए । उनलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गणेश रावत र देवेन्द्रराज पौडेल सम्मानित भए । उनीहरूलाई जनही ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट बाँकेकी प्रियास्मृति ढकाल र बर्दियाका रामप्रसाद चौहान पुरस्कृत भए । दुवैलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी राम आधार–रामप्यारी पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र सजल गैरे पुरस्कृत भएका थिए ।
आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार (संस्थागत) स्वास्थ्य पेज डटकम अनलाइन लाई प्रदान गरिएको थियो । उक्त संस्थालाई ५ हजार ५ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै सूर्यनाथ गौतम स्वास्थ्य (मुटुरोग) पत्रकारिता पुरस्कारबाट मधु पौडेल सम्मानित भएका छन् । उनलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।


महासंघ बाँकेका अध्यक्ष गिरी को अध्यक्षतामा सम्पन्न साधारणसभाको बन्दसत्रमा सचिव कृष्ण ओली ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष सुनिल रेग्मी ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
साधारणसभाको उद्घाटनसत्रमा बोल्ने विभिन्न वक्ताहरूले पत्रकार महासंघ बाँकेको साधारणसभा सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्दै निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताएका थिए ।

८ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५औँ साधारणसभा सम्पन्न

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था

८ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५औँ साधारणसभा सम्पन्न

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी

Leave a comment

Your email address will not be published. Required fields are marked *