लगनशिल ‘छोरीबुहारी’लाई सहयोग

पुनम वि.सी.
सुर्खेत, २४ फागुन ।

वीरेन्द्रनगर–११ निवासी कुश्मा बस्नेत अहिले बाली विज्ञान अध्ययन गरिरहेकी छिन् । वीरेन्द्रनगर स्थित चन्द्रगंगा माध्यमिक विद्यालयमा बालीविज्ञान तर्फ डिप्लोमा दोस्रो वर्षमा अध्ययनरत कुश्माले कर्णाली प्रदेश सरकारको ‘छोरीबुहारी प्राविधिक छात्रवृत्ति कार्यक्रम’मा छनौट भएकी विद्यार्थी हुन् ।

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयले गत आर्थिक वर्ष २०७८÷०७९ मा कुश्मालाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रममा छनौट गरेको थियो । विद्यालय आवश्यक शुल्क तर्फ सहयोग गर्ने हेतुले उनलाई ५० हजार रुपैयाँ रकमको छात्रवृत्ति दिइएको थियो ।

कुश्माको घरमा अरु दुई दाजुभाई छन् । उनी घरकी माइली छोरी हुन् । उनका दाजुले होटल व्यवस्थापन र भाईले भने व्यवस्थापन संकायमा अध्ययन गरिरहेका छन् । कुश्माको परिवार पनि कृषिमा जोडिएको परिवार हो । उनका बुवा ईमानसिं बस्नेतले वीरेन्द्रनगरमा च्याउँ खेति सञ्चालन गरिरहेका छन् । परिवार समेत कृषि क्षेत्रमा जोडिएको र कुश्माले समेत बालीविज्ञान अध्ययन गर्दा उनलाई थप सहज हुन्छ ।

ईमानसिंले भने, ‘छोरीको अध्ययनका लागि छात्रवृत्ति पाएपछि सहज भने भएको छ । यसले उनलाई अध्ययनमा थप प्रेरणा मिलेको छ ।’ कुश्माका लागि विद्यालयमा बालीविज्ञान तर्फको डिप्लोमा तह अध्ययन पुरा गर्न कुल तीन लाख रुपैयाँ जति शुल्क आवश्यक पर्ने इमानसिंहले बताए ।

‘अहिले कुश्मा दोस्रो वर्षको अन्तिम परिक्षाका लागि तयारीमा छिन्’, उनले भने । आर्थिक वर्ष २०७५÷०७६ देखि कर्णाली प्रदेश सरकारले ‘छोरीबुहारी प्राविधिक छात्रवृत्ति कार्यक्रम’ मार्फत कर्णालीका छात्राहरुलाई अधययनमा आर्थिक सहयोग गर्न थालेपनि अहिले छात्रा कुश्मा बस्नेत झै सैयौंको संख्यामा कर्णालीका छात्राहरु प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् ।

चार वटा आर्थिक वर्षमा कर्णालीमा कुल चार सय ४३ जना छोरीबुहारीले प्राविधिक शिक्षाका लागि छात्रवृत्ति पाएको कर्णालीको शिक्षा विकास निर्देशनालयको तथ्यांक छ । यो तथ्यांकमा २०७८÷०७९ मा सुर्खेत वाहेकका जिल्लाका छोरीबुहारीलाई प्रदान गरिएको छात्रवृत्ति संख्या भने समावेश भएको छैन ।

छोरीबुहारी छावृत्ति तर्फ धेरै संख्यामा बाली विज्ञान अध्ययन गर्ने छात्राहरुको संख्या धेरै छ । छोरीबुहारी प्राविधिक छात्रवृत्ति तर्फ २०७८÷०७९ सम्ममा कुल एक सय ५३ जना छात्राले छात्रवृत्ति पाएका छन् ।

यसैगरी नर्सिङ तर्फ ७४ जना, हेल्थ असिस्टेन्टमा ३६ जना, इन्जिनियरिङमा ६३ जना, पशु विज्ञानमा ४७ जना, फार्मेसीमा १० जना, रेडियोलोजीमा सात जना, ल्याब टेक्निसियनमा ६ जना, वन विज्ञानमा १६ जना, सर्भे इन्जिनियरिङमा ११ जना, कम्प्युटरमा दुई जना र कृषि विज्ञानमा १८ जना छोरीबुहारीले छात्रवृत्ति पाएको शिक्षा विकास निर्देशनालयको प्रारम्भिक तथ्यांक छ ।

छोरीबुहारी प्राविधिक छात्रवृत्ति कार्यक्रमका लागि तोकिएको कोटा संख्या भन्दा धेरै संख्यामा छोरीबुहारीले छात्रवृत्ति पाउछन् । २०७५÷०७६ मा एक सय जना छोरीबुहारीका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो आर्थिक वर्षमा एक सय ५० जना छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गरियो भने कुल एक करोड ३२ लाख ८९ हजार चार सय ७२ रुपैयाँ बजेट खर्च भयो ।

२०७६÷०७७ मा अघिल्लो वर्ष झै समान संख्यामा कोटा निर्धारण भएको थियो तर बजेट भने एक करोड रुपैयाँ मात्र विनियोजन भयो । यस आर्थिक वर्षमा एक सय १० जना छोरीबुहारीले छात्रवृत्ति पाए भने कुल ७६ लाख १६ हजार आठ सय रुपैयाँ बजेट खर्च भयो ।

२०७७÷०७८ मा कुल एक सय ४० जना छोरीबुहारीका लागि एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस आर्थिक वर्षमा भने उक्त बजेटबाट एक सय ४१ जनालाई छात्रवृत्ति दिई कुल एक करोड ३० लाख ७१ हजार दुई सय ६० रुपैयाँ बजेट खर्च भएको शिक्षा विकास निर्देशनालयको तथ्यांक छ ।

‘महिला सशक्तीकरणको औजार’

शिक्षा विकास निर्देशनालयले यसअघि मा ‘कर्णाली प्रदेशमा छोरीबुहारी प्राविधिक छात्रवृत्ति कार्यक्रमको प्रभावकारिता’ विषयमा अनुसन्धान समेत गरेको थियो । २०७८÷०७९ मा शिक्षा विकास निर्देशक दिपा हमालको संयोजकत्वमा सात सदस्यीय अनुसन्धान कार्यदलले सार्वजनिक गरेको अनुसन्धान निष्कर्षले कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा महिला सशक्तीकरणको औजारका रुपमा अगाढी बढाएको छोरीबुहारी छात्रवृत्ति कार्यक्रमको भूमिका महत्वपुर्ण रहेको जनाएको छ ।

यस कार्यक्रमको शिक्षामा महिला सहभागिता बढाएको, प्राविधिक शिक्षा तथा शैक्षिक उन्नतिमा प्रेरणादायी भुमिका निर्वाह गरेको तथा छात्रवृत्ति पाउने महिलाहरुको व्यक्तित्व विकास र सामाजिक स्तरमा समेत उकास्न केहि हदसम्म सफल रहेको अनुसन्धान कार्यदलको निष्कर्ष छ ।

छावृत्ति मार्फत प्रापत रकमलाई धेरै छात्राले शिक्षण शुल्क र शैक्षिक सामाग्री खरिद गर्न प्रयोग गरेका छन् । रकमको उपयोगिताको सन्दर्भमा सबैभन्दा धेरै ७२ प्रतिशत छात्राले शिक्षण शुल्क तिर्न छात्रवृत्तिको प्रयोग गरेको तथा कार्यक्रमले छोरीबुहारीको शिक्षामा कक्षा नियमितता तथा लगनशिलतामा वृद्धि गरेको अनुसन्धान कार्यदल जनाएको छ ।

लगनशिल ‘छोरीबुहारी’लाई सहयोग

होलीको उमंग :  वीरेन्द्रनगरको मुहारमा हरियो रंङ्ग

लगनशिल ‘छोरीबुहारी’लाई सहयोग

१६औं एशियन क्रस कन्ट्रि च्याम्पेन्सिपमा कर्णालीको बर्चस्व

Leave a comment

Your email address will not be published. Required fields are marked *