२०८२ बैशाख १७ गते
×

Now Playing

मंगलगढी–लाटीकोइली सडक लथालिङ्ग

सिर्जना बुढाथोकी

सुर्खेत,२० फागुन ।

सुर्खेतको मुख्य पर्यटकीय क्षेत्र काँक्रेविहार जाने सडक वर्षौदेखि अस्तव्यस्त छ । कच्ची सडक, वर्षाको समयमा हिलो, खडेरीमा धुलोले स्थानीयवासीलाई मात्रै हैन टाढाबाट आउने पर्यटकलाई समेत समस्या बनाएको छ । सडक समयमै नबन्दा बटुवा तथा सवारी चालकहरुलाई बाह्रै महिना सास्ती हुने गरेको छ ।

वीरेन्द्रनगर–९ को मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडक अलपत्र पारेको भन्दै स्थानीयवासीले केहि दिनदेखि बाटो बन्द गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् । निर्धारित समयमा सडक नबनाउने तर धुलो मार्नका लागि बिहान बेलुका पानी हालेर मात्रै जनता भुलाउने काम भएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय विनिता के.सीले करिब आठ दश वर्ष अघिदेखिनै लाटिकोइली रोड बन्ने भनेर शुरु भएपनि कामनै नभएको बताइन् । उनले बाटोको बारेमा बुझ्नका लागि ठेकेदारलाई फोन गर्दा ‘धुलो मार्न पानी हालिन्छ’ भन्ने जवाफ मात्र पाउने गरेको गुनासो गरिन् ।

‘वडा अध्यक्ष सधैं बाहिर छु भन्ने, बाटोको धुलो खाएरै रोग लागि सक्यो’, उनले भनिन्, ‘ठेकेदार आउने पैसा लग्ने भाग्ने, बाटो नबन्ने, हामीलाई धुलो र हिलोमै बस्नुपर्ने ?।’ बजारबाट सबैभन्दा नजिकको वडा भएर पनि बाटोको दुर्दशा देख्दा लाज लाग्ने गरेको बताइन् ।

स्थानीय सरकारले आफ्ना नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको उनीहरुको भनाई छ । आर्थिक वर्ष २०७५÷०७६ मा कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा सडक निर्माणको काम अघि बढाइएको थियो । आगामी असार मसान्तसम्म काम सक्ने लक्ष्यका साथ सम्झौता गरिएको भएपनि हाल सम्म ३५ प्रतिशतमात्रै काम सकिएको छ । दुई किलोमिटर तीन सय मिटर लम्बाई भएको सडक २५ मिटर चौडा छ ।

१२ करोड ७३ लाखको लागतमा निर्माण सक्ने भन्दै अमर सिस्ने नेपाल मेघा नामक कम्पनीले ठेक्का सम्झौता गरेको भएपनि हालसम्म झण्डै पौने दुई करोड रुपैयाँ भुक्तानी लिइसकेको जनाएको छ । तर हाल जारी नाला निर्माणको काम पनि निर्माण सामाग्री नभएको भन्दै बन्द गरिएका कारण स्थानीयले विरोधस्वरुप विहिबार बाटो बन्द गरेका हुन् ।

ठेकेदार दीपेन्द्र शाहीले भने बजेटको अभावका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको प्रतिक्रिया दिए ।
‘मुख्य समस्या त बजेट अभावनै हो, यहि कारण भने अनुसारको काम गर्न सकिएको छैन’, उनले भने, ‘आर्थिक मन्दीका कारण उदारो सामान मिल्दैन, नगदका लागि बैकिङ्ग फाइनान्स बनाउन खोज्यो हँुदैन, अनि काम रोकिन्छ ।’ यहि साता भित्र बैकिङ्ग फाइनान्स हुने सम्भावना भएकाले छिटै काम सुचारु हुने ठेकेदार शाहीको भनाई छ ।

‘दुई दिनमा सरकार परिवर्तन हुन्छ, आज एउटा सरकारसँग कुरा गर्यो भोलि अर्को हुन्छ, एउटा सरकारले गरेको काम अर्कोले मान्दैन’, ठेकेदार शाहीले भने, ‘पहिलाको ठेकेदारले पेश्की सहित ९० लाख तिर्ने बनाएर दुई करोड दिएर भाग्यो, त्यो समस्या पनि हामी माथि थपिएको छ ।’

काम गर्ने भन्दै उधारो सामान र भुक्तानी भएको दुई करोड लिएर फरार यसअघिको ठेकेदारलाई खोज्ने काम भैरहेको ठेकेदार शाहीले बताए ।भौतिक पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामचरण आचार्यले कार्यालयबाट भुक्तानीमा कुनै समस्या नभएको जानकारी दिए । काम गरे अनुसारको विल पेश गरेपछि सबै भुक्तानी भएको उनले बताए ।

‘एक करोड १२ लाख पेश्की दिइसकेका छौ, यो पेश्कीले ३० प्रतिशत भन्दा बढि काम गर्नुपर्छ सम्झौता अनुसार, त्यसपछि थप कामका लागि भुक्तानी हुन्छ’, निर्देशक आचार्यले भने, ‘एक ठाउँको पैसा अर्कोमा लगानी गर्दा आन्तरिक रुपमा पैसाको समस्या होला, तर हामीबाट केहि छैन्, भुक्तानी भएको छ र काम अघि बढे थप भुक्तानी हुन्छ ।’ काम अघि नबढ्ने समस्याका बारेमा जानकारी लिन पटक पटक फोन गर्दा पनि सम्पर्क नभएपछि केहि दिन अघि ठेकेदार कम्पनीलाई पत्रसमेत काटिएको कार्यालयको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *