बलात्कृतमा एकतिहाइ नाबालिग
सुर्खेत,१९ फागुन ।
दैलेखको डुंगेश्वर गाउँपालिकाकी एक १७ वर्षीया किशोरीलाई आफ्नै बाबुले एक वर्षसम्म पटकपटक बलात्कारसँगै मानसिक यातना दिन थालेपछि उनी २ महिनाअघि उनी प्रहरीको शरणमा आइन् ।
प्रहरीले उनका बाबुलाई पक्राउ गर्यो । अहिले उनी पुर्पक्षका लागि दैलेख कारागारमा छन् । तर बलात्कारपछि कक्षा ९ मा पढ्दै गरेकी किशोरीको पढाइ छुटेको छ । बेलाबेलामा विभिन्न मानसिक समस्या देखिन थालेको छ ।
अहिले उनी घर छोडेर माउलीको सहारामा छिन् । ‘आफ्नै बुबाको यातना सहन नसकेपछि उसले सानै उमेरमा जिल्ला नै छोड्नुप¥यो,’ उनकी आमाले भनिन्, ‘लाऊँखाऊँ भन्ने उमेरमा उसको जिन्दगी लथालिंग भयो, दिनभरि झोक््रयाउने, खाना खान मन नगर्ने समस्या देखिएको छ ।’
सुर्खेतको बराहताल गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई २० वर्षीय कविराज पुलामी र भक्तबहादुर पुलामीले जबरजस्ती करणी गरेको भन्दै २ साताअघि उनका आफन्तले प्रहरीमा जाहेरी दिए । प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी पुर्पपक्षका लागि कारागार चलान गरेको छ ।
पीडितका आफन्तहरू न्याय पाउने आशामा छन् । तर बालिकाको स्वास्थ्यमा भने समस्या देखिन थालेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ७ महिनाको अवधिमा घटेका घटनामा झन्डै एकतिहाइ नाबालिग बलात्कारमा परेका छन् ।
चालु आर्थिक वर्षमा १ सय ५५ जना बलात्कृत भएकोमा १ देखि १८ वर्ष उमेर समूहका ५२ जना पीडित भएका हुन् । त्यस्तै १९ देखि ३५ वर्षसम्मका ६९ महिला पीडित भएको प्रहरीको तथ्यांक छ । जसमध्ये ६५ जना दलित समुदायका, ६१ जना क्षेत्री समुदायका र ५ जना ब्राह्मण समुदायका महिला र बालिका छन् ।
प्रहरीले विभिन्न कोणबाट घटनाको विश्लेषण गरेको छ । जसअनुसार सामान्य लेखपढ गर्न जान्ने ९५, एसईईसम्म पढेका ४४ र निरक्षर १६ बलात्कारमा परेका छन् ।
पेसागत आधारमा सबैभन्दा बढी कृषि पेसामा संलग्न ६२ जना बलात्कारमा परेका छन् । ५८ जना विद्यार्थी, बेरोजगार १०, गृहिणी १५ र मजदुरी गर्नेहरू १० जना बलात्कारमा परेका हुन् । विवाहितभन्दा अविवाहित धेरै बलात्कारमा परेको प्रदेश प्रहरी कार्यालयका डीआईजी भीमप्रसाद ढकालले बताए । उनका अनुसार यो अवधिमा ८१ जना अविवाहित र ७४ जना विवाहित बलात्कारमा परेका छन् ।
सबै घटनाका ९० प्रतिशतभन्दा बढी अभियुक्तहरूलाई कानुनी दायरामा ल्याइएको डीआईजी ढकालले बताए । उनका अनुसार पुर्पक्षका लागि १ सय १४ जना कारागार चलान भएका छन् भने ८ जना फरार छन् । १८ जनाले कैद भुक्तान गरिरहेका छन् भने २३ जनालाई धरौटीमा र ८ जनालाई साधारण तारेकमा रिहा गरिएको उनले जानकारी दिए । प्रहरीले अभियुक्तहरूको समेत विश्लेषण गरेको छ । जसमध्ये ९९ जना अविवाहित छन् ।
७२ जना विवाह गरेका छन् । अभियुक्तको उमेरका आधारमा १ देखि १८ वर्षका २७, १९ देखि ३५ वर्ष उमेर समूहका ९० र ३५ देखि ५९ वर्षभित्रका ५२ जना बलात्कारका घटनामा संलग्न भएका छन् । उनीहरूमध्ये ७७ कृषि व्यवसायमा, ३६ विद्यार्थी, १० व्यापारी, २२ मजदुरी गर्नेहरू छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना सबैभन्दा बढी सुर्खेत, सल्यान, रुकुम पश्चिम र दैलेखमा भएका छन् । सबैभन्दा कम डोल्पामा घटेका छन् । अधिकांश बलात्कार बेलुका ६ बजे आसपासको समयमा भएको पाइएको छ । सामाजिक सञ्जालको प्रयोगका कारण पनि पछिल्लो समय बलात्कारका घटना बढिरहेको प्रहरीको निष्कर्ष छ ।
पीडकको दवाव र प्रलोभनले गर्दा कतिपय बलात्कारका मुद्दा अदालतमा पुगेर ‘होस्टायल’ मा परिणत हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्र थापाले बताए । कति पीडितलाई न्याय दिलाउन उनीहरूलाई उत्प्रेरित गरे पनि डर र दवावले पीडितले बयान फेर्ने गरेको उनको भनाइ छ ।
कान्तिपुर






